मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई ११ हजार १६४ मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार उप्रेतीले ३० हजार ५० मत प्राप्त गरि विजयी हुँदा बर्तौलाले १८ हजार ८४६ मत पाए। नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ५६ मतसहित तेस्रो भए। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लबशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गरे । यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।
उप्रेतीको जितसँगै मकवानपुर–२ मा करिब ३६ वर्षदेखि कायम रहेको कम्युनिस्ट वर्चस्व पनि अन्त्य भएको छ। २०४६ पछि भएका अधिकांश निर्वाचनमा यस क्षेत्रबाट एमाले वा कम्युनिस्ट दलका उम्मेदवार विजयी हुँदै आएका थिए। पछिल्लो निर्वाचन २०७९ मा पनि एमालेका बर्तौला विजयी भएका थिए। २५ वर्षीय उप्रेती संसदमा प्रवेश गर्ने सबैभन्दा कान्छो सांसद बन्ने भएका छन्।
हेटौंडा उपमहानगरपालिकाकाे १ ११ ३ १९ वडा मनहरी, राक्सिराङ कैलाश इन्द्रसरोवर भीमफेदी गाँउपालिका, मकवानपुरगढी गाउँपालिका ५,६,७ र ८ वडा तथा थाहानगरपालिका २ नम्बर क्षेत्रमा रहेकाे छ । मकवानपुरका लागि नयाँ अनुहार भए पनि हेटौंडा उपमहानगरपालिकाका केही वडा, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका वडाबाट प्राप्त मतले उनलाई निर्णायक अग्रता दिलाएको देखिएको छ। जिल्लाका दुर्गम क्षेत्रहरूमा भने प्रमुख दलहरूबीच मत लगभग प्रतिस्पर्धात्मक रूपमा बाँडिएको थियो।
२१ फागुनमा भएको निर्वाचनमा मकवानपुरकाे क्षेत्र २ मा ९१ हजार २४१ जनाले मतदान गरेका थिए । मकवानपुर जिल्लाबाट १ लाख ८६ हजार ५५१ (५९%) ले मतदान गरेका थिए ।
काे हुन् उप्रेती ?
उप्रेती मध्यम वर्गीय परिवारमा २०५७ सालमा जन्मिएका हुन् । मकवानपुरकाे मनहरी गाउँपालिकामा हुर्किएका प्रशान्त पर्यटन उद्यमी समेत हुन्। उनी हाल मनहरीमै विद्यालय शिक्षा अध्यापनरत छन्। उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्।
उनी काठमाडौँमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र शाहको सचिवालयमा आईटीसम्बन्धी कामसमेत सम्हालेका उप्रेती रास्वपाबाट टिकट पाएपछि चुनाव लड्न मकवानपुर आएका थिए।
आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य संसदमा गएर केवल हात उठाउनु वा संख्या पुर्याउनु मात्रै नभएकाे भन्दै जनभावनाको प्रतिनिधित्व गर्दै राष्ट्रहितका लागि कानून निर्माण गर्न र सरकारलाई निरन्तर निगरानी गरि जवाफदेही बनाउन अडिग रहेकाे बताउँछन् ।
आफ्नो क्षेत्रका स्थानीय समस्याहरूलाई नबिर्सिएकाे तथा स्थानीयका दैनिक समस्याहरुसँग जानकार भएकाे बताउँछन्। मकवानपुर मात्र हैन समग्र देशका किसानहरूले भोग्नुपरिरहेको समस्या, आफ्नो क्षेत्रमा रहेको गरिबी, बढ्दो महंगी सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउनु पहिलो कर्तव्य हाे भन्छन् ।
‘जनताका दैनिक समस्यालाई सदनमा पुर्याउनु र सो को सम्बन्धित निकाय मार्फत सम्बोधन गराउनु जिम्मेवारी हुनेछ’ उनी भन्छन् । ‘Education Leadership’ को विद्यार्थी भएकाेले हाम्रो खस्किँदै गएको शिक्षा तथा सो को प्रणालीको बारेमा जानकार भएकाेले नेतृत्व तहबाट सुधारका लागि पहल गर्ने उनी बताउँछन् ।
Gen Z (नवयुवा) आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरुलाई सदनमा पुर्याउन उनीसँग उमेर र आवाज भएकाे बताइन्छ ।

