हटिया,मकवानपुर । मकवानपुरकाे हटियामा भएकाे एट ए (8A) साइड अन्डर १६ (Under 16) नकआउट फुटबल प्रतियोगिता २०८२ काे उपाधी ज्ञानज्योति युवा क्लबले हात पारेकाे छ ।
क्रियटिभ स्पोर्ट्स एण्ड डिजिटल एकेडमीद्वारा आयोजनामा आइतबार भएकाे फाइनलमा यात्रा फुटबल टिमलाई हराउँदै ज्ञानज्योती विजेता बनेकाे हाे । विजेता र उपविजेता टीम तथा खेलाडीले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौडा उपमहानगरपालिकाका १७ र १६ नम्बर वडाका ५ वटा टिमकाे सहभागिता रहेकाे थियो । प्रतियोगितामा साविक हटियाका दाविले क्लब, ज्ञानज्योति युवा क्लब, रोड स्टार फुटबल टीम, फुटबल क्लब दबिले र यात्रा फुटबल टीम सहभागी भएका थिए ।
क्रियटिभ स्पोर्ट्स एण्ड डिजिटल एकेडेमी प्रमुख भोजराज पराजुलीले आयोजना एवम् व्यवस्थापन गरेकाे प्रतियोगिताको नगद पुरस्कार सौजन्य हेटौडा १७ हटिया दाविले घर भई रोमानियामा रहनु भएका सुन्दर रेग्मीले गरेका थिए ।
प्रतियोगितामा खेलाडीहरु अब्बल रहेका र निरन्तर अभ्यास गर्न र गराउन सकिएमा फुटबलमा धेरै अघि बढ्न सक्ने महसुस गरिएको पराजुलीले बताए । ‘सम्बन्धित निकायको ध्यान पुग्न सकेमा राम्रो नतिजा ल्याउन सक्नेछन्’ उनले भने । प्रतियोगितालाई निरन्तरता दिँदै वर्षको १ पटक अझ धेरै टीम सहभागी गराई प्रतियोगिता आयोजना गरी खेलाडी पहिचान गर्ने लक्ष राखिएको उनले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष उद्धब सत्यालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मकवानपुर महासचिव छवि सुवेदी, अस्थायी प्रहरी चौकी हटियाका प्रमुख, ज्ञान ज्योती युवा क्लबका सुवास फुयाँल, समाजसेवी नारायण ढकाल, शम्भु पराजुली, होम नेपाली, दाविले टोल विकास समिति सचिव कृष्ण प्रसाद पराजुलीलगायत उपस्थित थिए ।
प्रतियोगिताकाे सहजिकरण मकवानपुरका एन्फा रेफ्री सन्तोष राईले गरेका थिए ।

