मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आइतबार बिहान अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकले पोख्रेललाई पदमुक्त गर्दै कार्यवाहक अध्यक्षमा वर्तमान उपाध्यक्ष हिदम लामालाई जिम्मेवारी दिने निर्णय गरेको सचिव सीता विष्टले जानकारी दिइन् ।
निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै ११औं अधिवेशनबाट निर्वाचित मकवानपुर अध्यक्ष पोख्रेलले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा दिएका थिए ।
अध्यक्ष पोख्रेलको विगत ५ महिनादेखि पार्टीको नियमित काम र सम्पर्क रहेको अवस्थामा जिम्मेवारीबाट राजीनामा दिएको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘पार्टीको नियमित काम र गतिविधिमा सम्पर्क र सहभागिता नजनाई, पार्टीलाई कुनै जानकारी नगरी मौन बसेका अध्यक्ष पोख्रेलले निर्वाचन परिणामको विषयलाई लक्षित गरि राजिनामा दिइएको अभिव्यक्ति सार्वजनिक गरेको विषयलाई पार्टीले गम्भीरताका साथ लिएको र यसबाट पार्टी पंक्ति र सार्वजनिक रूपमा परेको भ्रमको पूर्णरूपमा खण्डन गर्दै श्रीधर पोखरेललाई पदबाट मुक्त गरिएको छ,’ पार्टीद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

