मकवानपुर । मुक्तक मञ्च मकवानपुरले स्थापनाको चौथो वर्ष विशेष उत्सवका रूपमा मनाउने भएको छ। मञ्चले फागुन १६ गते शनिबार हेटौंडामा आयोजना गर्ने चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन र स्रष्टा सम्मान कार्यक्रममा ४ जनालाई नगदसहित सम्मान गर्ने भएको छ ।
मुक्तक मञ्च मकवानपुरले भैरहवाका डा. मुरारि पराजुलीलाई ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’ बाट सम्मानित गरिने भएको छ । यस्तै काठमाडौ का सुनिल अधिकारी ‘तारा स्मृति मुक्तक सम्मान’ बाट तथा काठमाडौकै मदन नेपाल ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’बाट सम्मानित हुने भएका छन् । मकवानपुरका युवा स्रष्टा अनिस न्यौपाने ‘मनको आँखा’ लाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ बाट सम्मानित गरिने सचिव सुबास सजलले जानकारी दिए ।
उक्त सम्मानहरू क्रमशः अग्रज साहित्यकार आर.सी. रिजाल, मञ्चका संस्थापक उपाध्यक्ष किसन पौडेल, संस्थापक अध्यक्ष डी.बी. बर्तौला र प्रलेस मकवानपुरका निवर्तमान अध्यक्ष श्रीराम अधिकारीले गरेका हुन् । मञ्चले विगतका वर्षहरूदेखि नै मुक्तक विधामा निरन्तर साधनारत व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
यसअघि बुटवलका रमेश समर्थन, मकवानपुरका देवराज खरेल, रौतहटका हरिकृष्ण काफ्ले, चितवनकी विमला अधिकारी देवकोटा, सिन्धुलीका लोकेन्द्र डहरे, पोखराका दीपक समिप, काठमाडौकी निलाञ्जला भारद्वाज तथा मकवानपुरका समर्पण न्यौपाने र विर्खे अन्जान एवं सिन्धुलीकी अस्मिता दाहाल मञ्चबाट सम्मानित भइसकेका सजलले जानकारी दिए ।
वार्षिकोत्सवसँगै मञ्चको दोस्रो अधिवेशनको विशेष सत्रमा संस्थाको आगामी कार्ययोजना, संगठनको वृहत्तर विस्तार र नयाँ नेतृत्व चयनका विषयमा छलफल हुने बताइएको छ । यसैगरी दोस्रो सत्रमै नेपाली मुक्तक संरचना परम्परा र प्रवृत्ति विषयमा विमर्श कार्यक्रम हुनेछ । उक्त विषयमा डा. मुरारि पराजुली, डा. विश्वनाथ सन्जेल र सुनिल अधिकारीले विमर्श गर्नेछन् भने साहित्यकार सानु खनालले सहजीकरण गर्नेछन् ।
सचिव सजलका अनुसार मुक्तकीय अभियानलाई अझ सशक्त, मर्यादित र संगठित बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

