मकवानपुर । मकवानपुरकाे हेटौडामा शैक्षिक गुणस्तर सुधार गर्न असल अभ्यासकाे आदान प्रदान गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा असल अभ्यास तथा शैक्षिक कार्ययोजना आदान प्रदान गरिएकाे हाे ।
४ नम्बर वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयसँग सरोकारवाला समेतकाे सहभागितामा आदान प्रदान कार्यक्रममा भएकाे हाे । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयले विकास निर्माणका कामसँगै शैक्षिक क्षेत्रमा गर्दै आएको छ । शिक्षामा थप गुणस्तर कायम गर्न वडा कार्यालयले वार्षीक बजेट विनियाेजन गरेर काम गर्दै आएकाे छ ।
‘विकासमा शैक्षिक विकास महत्वपूर्ण हुने भएकाेले विगतका वर्षमा शिक्षा क्षेत्रमा वडाले काम गर्दै आएकाे छ‘ वडा अध्यक्ष नविन सिग्देलले भने ‘चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न थप काम गर्ने योजना रहेकाे छ ।’ शैक्षिक गतिविधि बढाउँदै यस क्षेत्रमा बजेट पनि पर्याप्त छुट्याएर काम गरिएकाे उनले जानकारी दिए ।
शैक्षिक क्षेत्रको विकासमा सधैं अग्रसर रहने बताउँदै सिग्देलले वडाको लागि विनियोजन भएको बजेट मध्ये ३३ प्रतिशत बजेट शिक्षामा लगानी गरिने गरी छुट्याइएको जानकारी दिए । ‘हेटौडाकाे ४ नम्बर वडा मकवानपुरको शैक्षिक केन्द्र रहेकाेले स्थानीयसँगै जिल्ला बाहिरका विद्यार्थी यही अध्ययनरत छन् त्यसैले भावनात्मक मात्र नभएर राष्ट्रिय एकता पनि यहाँ जोडिएको छ’ सिग्देलले भने ।
छलफल कार्यक्रममा वडा भित्रका ८ वटा विद्यालयहरुले शैक्षिक प्रगति, विद्यालयले गरेका अतिरिक्त क्रियाकलाप तथा विद्यालयको समस्या र चुनौतीहरु प्रस्तुत गरेका थिए । शिक्षा क्षेत्रमा सधैं अग्रसर रहेकाेले वडाले थुप्रै शैक्षिक गतिविधिहरु गर्दै आइरहेको उनले बताए । गतबर्ष सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्न वडा कार्यालयले शैक्षिक मेला आयोजनामा गरेको थियो ।
वडाभित्र रहेका विद्यालयहरुको शैक्षिक प्रगति,शिक्षा क्षेत्रमा आईपर्ने समस्या समाधान र शैक्षिक पृष्ठपोषणका लागि अध्यक्ष सिग्देल लगायत शिक्षक र सरोकारवालाको छलफलबाट २०७९ साल मंसिर २६ गते शैक्षिक गुणस्तर सुधार समिति गठन गरि शिक्षा क्षेत्रकाे सुधारका लागि काम गर्दै आएकाे श्रमिक माविका प्रअ श्रीराम दाहालले बताए। सामुदायिक विद्यालय र संस्थागत विद्यालयको सम्बन्ध प्रगाढ बनाउने, शिक्षक तालिम र अन्तर्क्रिया कार्यक्रमहरु सञ्चालनमा ल्याउने, वडा स्तरीय खेलकुद तथा शैक्षिक मेला प्रर्दशनी गर्ने, तथा वडा भित्रको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्ने जस्ता क्रियाकलापहरु यस समिति निर्माण पश्चात भईरहेकाे उनले जानकारी दिए ।
शैक्षिक क्षेत्रको विकासमा लम्किरहेको मकवानपुर जिल्लाको हेटौंडा ४ मा रहेकाे विद्यालयमा मात्रै झण्डै १६ हजार विद्यार्थीहरु छन् । ३ वटा सामुदायिक र ५ वटा संस्थागत गरी ८ वटा विद्यालय वडा भित्र रहेका छन् । केहि समय अगाडी मात्र गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको हेटौंडा क्याम्पस पनि यस वडामा अवस्थित छ । पटकपटक उत्कृष्ट नतिजा ल्याउने र छुट्टै पहिचान बोकेको आधुनिक राष्ट्रिय मावि, आमसाइ स्कुल, श्रमिक मावि, भुटनदेवी मावि, नवोदय शिशु सदन मावि ब्रह्मदिक एकेडेमी, सत्यम जेभियर्स मावि, र रोज एकेडेमी यस वडाभित्र रहेका छन्।
कार्यक्रममा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षक, शिक्षाविद्, हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिश्चन्द्र सापकाेटा, वडा सदस्यलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष कपको चौथो संस्करणको उपाधी ७ नम्बरकाे पोल्टामा परेकाे छ । शुक्रबार भएको फाइनलमा २ नम्बर वडालाई १-० गोल अन्तरले हराउँदै ७ ले उपाधी हात पारेकाे हो ।
७ नम्बरलाई उपाधी जिताउन मनिष पौडेलले गाेल गरे । खेलकाे दाेस्राे हाफको ५४ औं मिनेटमा पौडेलले गरेकाे गोल नै निर्णायक बनेकाे थियाे । बिजेता ७ नम्बरले एक लाख रुपैयाँ प्राप्त गर्दा उपबिजेता २ नम्बरले ५० हजारमै चित्त बुझायाे ।गत मंगलबार भएको पहिलो सेमिफाइनलमा २ नम्बर वडाले ६ नम्बर वडालाई ट्राइबेकरमा ५-३ ले पछि पार्दै फाइनल यात्रा तय गरेको हो ।
यसैगरी मंगलबार नै भएको ७ नम्बर वडा र ८ नम्बर वडा बिच भएकाे सेमिफाइनल खेलबाट ७ नम्बर वडा फाइनल प्रवेश गरेका छ । ८ नम्बर वडालाई १-० गोल अन्तरले पछि पार्दै ७ नम्बरले फाइनलमा २ नम्बरसंगको भेट पक्का गरेको छ ।
फाइनल खेलको म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडी २ नम्बरका अशोक मोक्तान भए । उनले म्यान अफ द म्याचकाे २ हजार र सर्वोत्कृष्ट खेलाडीकाे १० हजार प्राप्त गरे । अन्य विधागत उत्कृष्टको पुरस्कार बिजेता टिमकै नाममा रह्यो । उत्कृष्ट गोलकिपर आशिष् राउत, डिफेन्डर सुदिप सापकोटा, मिडफिल्डर कपिल मोक्तान, सर्वाधिक गोलकर्ता मनिष पौडेल र प्रशिक्षक सागर स्याङ्तान घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको फाइनलमा यू १६ बाट खेलिसकेका मनहरीका फुटबल खेलाडी सन्तोष गोङ्बा र कृषल मोक्तानलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । प्रतियोगिताको समापना मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य टिकाराम लामा, ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष नवराज सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको समापनमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
मंसिर ३० गतेदेखि रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको मनहरी गाउँपालिकाको सहयोग र मनहरी खेलकुद विकास समितिले आयोजना भएको हो । मनहरी गाउँपालिका उपाध्यक्ष कप भलिबलको तयारीमा लागेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरुले जन्मदिनमा छात्रवृत्ति प्रदान गरेका छन् । हेटौंडा १६ स्थित जनप्रिय माध्यमिकका १५ जना विद्यार्थीलाई उनले जन्मदिनकाे उपलक्ष्यमा छात्रवृत्ति प्रदान गरेका हुन् ।
जनप्रिय माध्यमिक विद्यालयमै अध्ययन गरेका पनेरुले कक्षा ६ देखि १० सम्मका १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् । शुक्रबार पनेरुले विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँलाई छात्रवृत्तिकाे रकमकाे चेक हस्तान्तरण गरेका थिए । छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा १६ नम्बर वडा सदस्य राजन दाहाल र गुरु प्रसाद ढकालकाे उपस्थिति रहेकाे थियाे ।
‘आफू पढेको विद्यालय तथा व्यवस्थापन समितिको सदस्य भएकाेले आफूले व्यक्तिगत ५५ हजार ३ सय ७० रुपैयाँको छात्रवृत्ति प्रदान गरेको उनले बताए । शिक्षाबाट कोही पनि वञ्चित नहुन् र विद्यार्थीको मनोबल उच्च बनाउन छात्रवृत्ती प्रदान गरेकाे उनले जानकारी दिए ।
यस वर्ष ७ जना आफ्ना आमा बुबा नभएको, जेहेन्दार ४ जना र गरिब ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए । ‘अन्यत्र क्षेत्रमा हुने खर्चलाई कटौती गर्दै विद्यार्थीको भविष्यको लागि आफूले विगत वर्षदेखिबाट छात्रवृत्ति प्रदान गर्दै आइरहेको छु’ उनले भने । उनले गत वर्ष पनि १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।
मकवानपुर । २ हजार ६ सय पुँजीबाट सुरु गरिएकाे सहकारी २५ वर्षकाे अवधिमा ४ कराेड ३६ लाख ९४ हजार २ सय पुँजीमा पुगेकाे छ । मकवानपुरकाे हेटाैडा ७ नागश्वतिमा रहेकाे हेटौडा बचत तथा ऋण सहकारी संस्था लिले आफ्नाे २५ औ वार्षिकी पुरा गर्दै गर्दा । २ हजार १२४ जनालाइ ऋण सुविधा दिन सफल भएकाे छ ।
संस्थामा हाल ३ कराेड ८ लाख ७० हजार जगेडा कोष रहेकाे संस्थाकाे प्रवन्धक राम शरण गौतमले बताए । संस्थामा हाल १७ प्रतिशत तरलता रहेकाे गाैतमले बताए । संस्थाले बार्षिक उत्सवकाे अवसरमा साताव्यापि कार्यक्रमकाे तयारी गरेकाे शुक्रबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।
जस अन्तरगत बाल कार्यक्रम तथा वनभोज, रक्तदान कार्यक्रम म्युजिकल चियर, घ्याम्पो फुटाई, सेवाकेन्द्र स्तरीय फुटबल प्रतियोगिता स्लो बाईक / स्कुटर रेस पुरुष तथा महिला दाैड, प्रतियाेगिता फुटबल कार्यक्रम गर्ने तयारी गरेकाे अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए । सहकारीमा हाल ६ हजार ९ सय शेयर सदस्य रहेका छन् ।
सहकारीले बार्षिक उत्सवकाे अवसरमा ७९ जनाभन्दा बढि ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्दैछ । वार्षिक उत्सवकाे अवसरमा संस्थाका स्थापक अध्यक्ष तथा सदस्यहरू भगवती दाहाल हरिप्रसाद गौतम, मीन प्रसाद गौतम, रामप्रसाद दाहाल, कृष्ण प्रसाद दाहाल, राजिबप्रसाद ढकाल, राम बहादुर गौतम, हरिहर ढकाललगायत २६ लाई सम्मान गरेकाे छ । साथै पुर्व कर्मचारीहरूलाई पनि सम्मान गरिएकाे छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मोटर साइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती ८ का ४२ वर्षीय अमर पाख्रिन रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
विहीबार साझ बागमती ८ साततलेमा बागमती प्रदेश ०३-००२ प ३२६५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा पाख्रिन गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा चिकित्सक मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
मृतकको शव हेटौंडा अस्पतालमै रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।