मकवानपुर । मकवानपुरकाे हेटौडामा शैक्षिक गुणस्तर सुधार गर्न असल अभ्यासकाे आदान प्रदान गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा असल अभ्यास तथा शैक्षिक कार्ययोजना आदान प्रदान गरिएकाे हाे ।
४ नम्बर वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयसँग सरोकारवाला समेतकाे सहभागितामा आदान प्रदान कार्यक्रममा भएकाे हाे । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयले विकास निर्माणका कामसँगै शैक्षिक क्षेत्रमा गर्दै आएको छ । शिक्षामा थप गुणस्तर कायम गर्न वडा कार्यालयले वार्षीक बजेट विनियाेजन गरेर काम गर्दै आएकाे छ ।
‘विकासमा शैक्षिक विकास महत्वपूर्ण हुने भएकाेले विगतका वर्षमा शिक्षा क्षेत्रमा वडाले काम गर्दै आएकाे छ‘ वडा अध्यक्ष नविन सिग्देलले भने ‘चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा गुणस्तरीयता कायम गर्न थप काम गर्ने योजना रहेकाे छ ।’ शैक्षिक गतिविधि बढाउँदै यस क्षेत्रमा बजेट पनि पर्याप्त छुट्याएर काम गरिएकाे उनले जानकारी दिए ।
शैक्षिक क्षेत्रको विकासमा सधैं अग्रसर रहने बताउँदै सिग्देलले वडाको लागि विनियोजन भएको बजेट मध्ये ३३ प्रतिशत बजेट शिक्षामा लगानी गरिने गरी छुट्याइएको जानकारी दिए । ‘हेटौडाकाे ४ नम्बर वडा मकवानपुरको शैक्षिक केन्द्र रहेकाेले स्थानीयसँगै जिल्ला बाहिरका विद्यार्थी यही अध्ययनरत छन् त्यसैले भावनात्मक मात्र नभएर राष्ट्रिय एकता पनि यहाँ जोडिएको छ’ सिग्देलले भने ।
छलफल कार्यक्रममा वडा भित्रका ८ वटा विद्यालयहरुले शैक्षिक प्रगति, विद्यालयले गरेका अतिरिक्त क्रियाकलाप तथा विद्यालयको समस्या र चुनौतीहरु प्रस्तुत गरेका थिए । शिक्षा क्षेत्रमा सधैं अग्रसर रहेकाेले वडाले थुप्रै शैक्षिक गतिविधिहरु गर्दै आइरहेको उनले बताए । गतबर्ष सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्न वडा कार्यालयले शैक्षिक मेला आयोजनामा गरेको थियो ।
वडाभित्र रहेका विद्यालयहरुको शैक्षिक प्रगति,शिक्षा क्षेत्रमा आईपर्ने समस्या समाधान र शैक्षिक पृष्ठपोषणका लागि अध्यक्ष सिग्देल लगायत शिक्षक र सरोकारवालाको छलफलबाट २०७९ साल मंसिर २६ गते शैक्षिक गुणस्तर सुधार समिति गठन गरि शिक्षा क्षेत्रकाे सुधारका लागि काम गर्दै आएकाे श्रमिक माविका प्रअ श्रीराम दाहालले बताए। सामुदायिक विद्यालय र संस्थागत विद्यालयको सम्बन्ध प्रगाढ बनाउने, शिक्षक तालिम र अन्तर्क्रिया कार्यक्रमहरु सञ्चालनमा ल्याउने, वडा स्तरीय खेलकुद तथा शैक्षिक मेला प्रर्दशनी गर्ने, तथा वडा भित्रको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्ने जस्ता क्रियाकलापहरु यस समिति निर्माण पश्चात भईरहेकाे उनले जानकारी दिए ।
शैक्षिक क्षेत्रको विकासमा लम्किरहेको मकवानपुर जिल्लाको हेटौंडा ४ मा रहेकाे विद्यालयमा मात्रै झण्डै १६ हजार विद्यार्थीहरु छन् । ३ वटा सामुदायिक र ५ वटा संस्थागत गरी ८ वटा विद्यालय वडा भित्र रहेका छन् । केहि समय अगाडी मात्र गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको हेटौंडा क्याम्पस पनि यस वडामा अवस्थित छ । पटकपटक उत्कृष्ट नतिजा ल्याउने र छुट्टै पहिचान बोकेको आधुनिक राष्ट्रिय मावि, आमसाइ स्कुल, श्रमिक मावि, भुटनदेवी मावि, नवोदय शिशु सदन मावि ब्रह्मदिक एकेडेमी, सत्यम जेभियर्स मावि, र रोज एकेडेमी यस वडाभित्र रहेका छन्।
कार्यक्रममा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षक, शिक्षाविद्, हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिश्चन्द्र सापकाेटा, वडा सदस्यलगायतकाे उपस्थिति रहेकाे थियाे ।

