मकवानपुर । विभिन्न प्रलोभनमा भारत पुर्याइएका ८ जना बालक उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ । विभिन्न प्रलोभनमा परी बालश्रम गर्न भारत पुर्याइएकाे उनीहरुलाई ग्रामीण विकास केन्द्र रौतहट र सामुदायिक विकास तथा सचेतना नेपालकाे समन्वयमा उद्धार गरि शनिबार नेापलमा अभिभावककाे जिम्मा लगाइएकाे हाे ।
ग्रामीण विकास केन्द्र, रौतहट र सामुदायिक विकास तथा सचेतना नेपाल, मकवानपुरले, राष्ट्रिय बाल अधिकार परिषद र मिसन रेसक्यू अपरेशन इन्डीयाको समन्वयमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर अभिभावककाे जिम्मा लगाएकाे हो । उद्धार गरि ल्याइएका बालकहरु शनिबारनै जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरी प्रमुख, र राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि लगायतका सरोकार वालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले बताए ।
उद्धार गरेका बालकहरु सवै रौतहटका छन् । जसमध्य राजपुर नगरपालिकाका २ जना, स्नाथ नगरपालिका २ जना, दुर्गा भगवती गाँउपालिकाका २ जना र गढीमाई नगरपालीकाका २ जना छन् । बालकहरु ६ देखि ८ महीना पहिले विभिन्न प्रलोभनमा परि चिनजानका आफन्तहरुबाट नै भारत पुगेका बानियाँले जानकारी दिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा मिसन रेसक्यू अपरेशन इन्डीयाले भारतीय प्रहरीको सहायतामा गत अगस्टमा उद्धार गरेको थियो ।
ग्रामीण विकास केन्द्र रौतहटका प्रतिनिधि कुमारी ममता झा र सामुदायिक विकास तथा सचेतना नेपालको कार्यकारी निर्देशक दिलिप कोइराला, सचिव अनन्त बानिया भारतको मुम्बई पुगी बाल कल्याण समीति मुम्बई शहर–२ र महिला तथा बालबालिका विभागसँग छलफल तथा समन्वय गरि बालकहरुलाई नेपाल ल्याई अभिभावकको जिम्मा लगाएका हुन् । १७ वर्ष मुनिका बालललाई १२ देखि १८ घण्टासम्म काममा लगाउने र काम गरे बापतको पैसा माग्दा रेल स्टेशनमा ल्याएर छोड्ने जस्ता शोषण गरिएकाे बताइएकाे छ ।
६ महीना अघि घरमा खबर नगरी सम्पर्क विहीन भएको छोरालाई खोजी गर्दै जादाँ १ महिना अघिमात्र भारतको बालगृहमा छ भन्ने खबर पाएका एक अभिभावक नुसरत बेगम छोरालाई भेट्दा खुसी हुदै अव घरमै राखेर पढाउने २५ वर्ष नपुगेसम्म बाहिर काममा नपठाउने बताउछिन् । सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी दिलीप कोइरालाका अनुसार अझै भारतका विभिन्न बालगृहमा बालश्रममा परेका ६ बालकहरु रहेको र उनीहरुलाई नेपाल फर्काउन कागजी प्रक्रिया पुरा गर्ने काम भइरहेकाेले चाडै नेपाल फर्काइने छ ।

