मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएकाे छ । आजबाट पुष २८ गतेसम्म सडक बन्द रहने छ । बिहान १२ देखि दिउँसो ४ बजेसम्म सडकमा सवारी साधन चलाउन नपाइने भएको हाे ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएकाे छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । जसकाे कारण चितवन र तनहुँ जिल्लातर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान ११ : ३० बजेसम्म मात्र चलाउन पाइने छ । काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान ११:५५ सम्म तथा मालवाहक सवारी सधान ११ : ४५ सम्म मात्र चलाउन पाइने छ । यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान ११ : ५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान ११ : ४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।
उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । यसैगरी उक्त अवधीमा सवारी साधन चलाउँदा लेन अनुशासन कायम राख्न तथा जथाभावी ओभरटेक नगर्न समेत ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ । उक्त अवधीमा ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

