मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष कपको चौथो संस्करणको उपाधी ७ नम्बरकाे पोल्टामा परेकाे छ । शुक्रबार भएको फाइनलमा २ नम्बर वडालाई १-० गोल अन्तरले हराउँदै ७ ले उपाधी हात पारेकाे हो ।
७ नम्बरलाई उपाधी जिताउन मनिष पौडेलले गाेल गरे । खेलकाे दाेस्राे हाफको ५४ औं मिनेटमा पौडेलले गरेकाे गोल नै निर्णायक बनेकाे थियाे । बिजेता ७ नम्बरले एक लाख रुपैयाँ प्राप्त गर्दा उपबिजेता २ नम्बरले ५० हजारमै चित्त बुझायाे ।गत मंगलबार भएको पहिलो सेमिफाइनलमा २ नम्बर वडाले ६ नम्बर वडालाई ट्राइबेकरमा ५-३ ले पछि पार्दै फाइनल यात्रा तय गरेको हो ।
यसैगरी मंगलबार नै भएको ७ नम्बर वडा र ८ नम्बर वडा बिच भएकाे सेमिफाइनल खेलबाट ७ नम्बर वडा फाइनल प्रवेश गरेका छ । ८ नम्बर वडालाई १-० गोल अन्तरले पछि पार्दै ७ नम्बरले फाइनलमा २ नम्बरसंगको भेट पक्का गरेको छ ।
फाइनल खेलको म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडी २ नम्बरका अशोक मोक्तान भए । उनले म्यान अफ द म्याचकाे २ हजार र सर्वोत्कृष्ट खेलाडीकाे १० हजार प्राप्त गरे । अन्य विधागत उत्कृष्टको पुरस्कार बिजेता टिमकै नाममा रह्यो । उत्कृष्ट गोलकिपर आशिष् राउत, डिफेन्डर सुदिप सापकोटा, मिडफिल्डर कपिल मोक्तान, सर्वाधिक गोलकर्ता मनिष पौडेल र प्रशिक्षक सागर स्याङ्तान घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको फाइनलमा यू १६ बाट खेलिसकेका मनहरीका फुटबल खेलाडी सन्तोष गोङ्बा र कृषल मोक्तानलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । प्रतियोगिताको समापना मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य टिकाराम लामा, ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष नवराज सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको समापनमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
मंसिर ३० गतेदेखि रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको मनहरी गाउँपालिकाको सहयोग र मनहरी खेलकुद विकास समितिले आयोजना भएको हो । मनहरी गाउँपालिका उपाध्यक्ष कप भलिबलको तयारीमा लागेकाे बताइएकाे छ ।

