मकवानपुर । मकवानपुरकाे जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरुले जन्मदिनमा छात्रवृत्ति प्रदान गरेका छन् । हेटौंडा १६ स्थित जनप्रिय माध्यमिकका १५ जना विद्यार्थीलाई उनले जन्मदिनकाे उपलक्ष्यमा छात्रवृत्ति प्रदान गरेका हुन् ।
जनप्रिय माध्यमिक विद्यालयमै अध्ययन गरेका पनेरुले कक्षा ६ देखि १० सम्मका १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् । शुक्रबार पनेरुले विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँलाई छात्रवृत्तिकाे रकमकाे चेक हस्तान्तरण गरेका थिए । छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा १६ नम्बर वडा सदस्य राजन दाहाल र गुरु प्रसाद ढकालकाे उपस्थिति रहेकाे थियाे ।
‘आफू पढेको विद्यालय तथा व्यवस्थापन समितिको सदस्य भएकाेले आफूले व्यक्तिगत ५५ हजार ३ सय ७० रुपैयाँको छात्रवृत्ति प्रदान गरेको उनले बताए । शिक्षाबाट कोही पनि वञ्चित नहुन् र विद्यार्थीको मनोबल उच्च बनाउन छात्रवृत्ती प्रदान गरेकाे उनले जानकारी दिए ।
यस वर्ष ७ जना आफ्ना आमा बुबा नभएको, जेहेन्दार ४ जना र गरिब ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए । ‘अन्यत्र क्षेत्रमा हुने खर्चलाई कटौती गर्दै विद्यार्थीको भविष्यको लागि आफूले विगत वर्षदेखिबाट छात्रवृत्ति प्रदान गर्दै आइरहेको छु’ उनले भने । उनले गत वर्ष पनि १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

