मकवानपुर । मकवानपुरको हेटौंडाबाट लागूऔषध प्रयोग गरि सवारी चलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चालकले सवारी चलाउँदा लागूऔषध सेवन गरे नगरेकाे परीक्षण गरिएको हाे ।
उक्त परीक्षणमा पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–७ निवासी २० वर्षीय मोस्तकी अन्सारी, गोरखा सहिद लखन गाउँपालिका–३ निवासी २६ वर्षीय निर्मल श्रेष्ठ, सुनसरी इटहरी उपमहानगरपालिका–७ निवासी २७ वर्षीय अन्जित चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–२७ निवासी ४० वर्षीय रामनारायण मण्डल, सर्लाही लालबन्दी नगरपालिका–१५ निवासी ३४ वर्षीय अमिर योन्जन रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
यसैगरी पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–५ निवासी ३५ वर्षीय पुकार यादव, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ निवासी २३ वर्षीय रोहन लामा, महोत्तरी बर्दिबास नगरपालिका–१४ निवासी २७ वर्षीय रुद्रप्रसाद दाहाल, रौतहट फतुवा विजयपुर नगरपालिका–६ निवासी ३३ वर्षीय उमेश राय यादव तथा पर्सा वीरगञ्ज महानगरपालिका–१२ निवासी ३४ वर्षीय मैनिदिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्वको ३९ औ अन्तराष्ट्रिय दिवसको अवसरमा जिल्ला कार्यालय कार्यालय, ट्राफिक प्रहरी कार्यालय, सियान पुनस्थापनाको केन्द्र, जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधि समेतको सहभागितामा सवारी साधनका चालकहरुले लागूऔषध प्रयोग गरे नगरेकाे जाँच गरिएकाे थियो ।
मकवानुर । पतञ्जलि योग समिति मकवानपुरले स्थापना भएको १९ वर्ष पूरा गरेको अवसरमा आज मानव सेवा आश्रम, हेटौंडामा आश्रित लक्ष्मीनारायणहरूलाई भोजन गराउने विशेष सेवा कार्यक्रम आयोजना गरेको छ।
समितिले १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमको समापनसँगै स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा पतञ्जलि योग समिति मकवानपुर, पतञ्जलि महिला समिति, पतञ्जलि युवा समिति, नगर समिति तथा विभिन्न योग साधना केन्द्रका पदाधिकारी, साधक–साधिकाहरूको सक्रिय सहभागिता रहेको थियो।
आश्रममा आश्रित ज्येष्ठ नागरिक, असहाय तथा अभिभावकविहीन व्यक्तिहरूलाई सम्मानपूर्वक भोजन गराइएको थियो। सहभागीहरूले सेवा नै धर्म भएको भावना अनुरूप मानव सेवामार्फत योगको वास्तविक मर्मलाई व्यवहारमा उतार्ने प्रयास गरिएको बताएका थिए। पतञ्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले योग केवल शरीरलाई स्वस्थ राख्ने अभ्यास मात्र नभई मानवीय संवेदना, सेवा, करुणा र सकारात्मक जीवनदृष्टि विकास गर्ने माध्यम भएको बताउनुभयो।
उहाँले समाजका विपन्न, असहाय तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूप्रति उत्तरदायी बन्नु नै योगको वास्तविक सन्देश भएको उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरूले पतञ्जलि योग समिति मकवानपुरले विगत १९ वर्षदेखि योग, स्वास्थ्य, संस्कार, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको चर्चा गरेका थिए।
उनीहरूले आगामी दिनमा पनि योगलाई जनजीवनसँग अझ नजिक पुर्याउने तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। मानव सेवा आश्रममा आयोजित भोजन सेवा कार्यक्रमसँगै पतञ्जलि योग समिति मकवानपुरले आफ्नो १९ औँ स्थापना दिवसलाई सेवामूलक र मानवीय कार्य गरेको बताइन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहापालिकाका उपभोक्तालाई दैनिक ३ करोड ७५ लाख लिटर पिउने पानी वितरण हुँदै आएकाे छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका उपभाेक्तालाई उक्त परिमाणकाे प्रशाेधित पानी वितरण गर्दै आएकाे हाे ।
हेटौंडा उपमहापालिकाकाे १७ वटा वडामा पिउने पानी वितरण हुने गरेकाे खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताए । १९ वटा वडा रहेकाे उपमहानगरमा वडा नम्बर १२ र १३ बाहेकका वडामा पिउने पानी वितरण हुँदै आएकाे छ । करिब १ लाख ७२ हजार बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर १० घण्टा वितरण गर्दै आएको न्यौपानेले जनाकारी दिए । उनका अनुसार उपमहानगरका विभिन्न वडामा बाेर्ड मार्फत हालसम्म २९ हजार ८ सय ३ वटा धारा जडान गरिएको छ ।
बुङदल खोलाको पानी, ४० डिपट्युवेल र १९ समवेलबाट दैनिक ३ करोड ७५ लाख लिटर पिउने पानी सङ्कलन गरिँदै आएको बतांइएकाे छ । बोर्डले कार्यालय परिसरभित्र अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । बोर्डले पानी सङ्कलन गर्ने कार्यमा प्रयोग गर्ने उद्देश्यले विभिन्न साइजका मोटर पम्पसेट खरिद गरेको जनाएको छ ।
बोर्डले हेटौंडा–१४ मा डिपट्युवेल, २ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेनलाइन शाखा पाइप विस्तार कार्य सम्पन्न गरेको बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौंडा–१६ शक्तिमा ६ वटा ९ सय घनमिटर क्षमताको समवेल निर्माण र करिब साढे ३ किलोमिटर पाइपलाइन विस्तार गर्ने कार्य सम्पन्न गरिएको सापकोटाले बताए ।
यसैगरी हेटौंडा–१५ को सानो सुकौलीमा बोर्डले १ लाख लिटर क्षमताको पानी ट्याङ्की र वडा नम्बर १६ मा शौचालय निर्माण गरेको छ । खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाइ डिभिजन १ को संयुक्त लगानीमा हेटौंडा–११ थाना भर्याङको सिमलटार क्षेत्रमा हाल २ वटा समवेल, ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की तथा घर निर्माण गरिएको प्रमुख सापकोटाले बताए । हेटौँडा–१२ र १३ का स्थानीय उपभोक्ताले आफ्नो लगानीमा छुट्टाछुट्टै खानेपानी ट्याङ्की निर्माण गरेर पाइप विस्तार गरी प्रत्येक घरमा खानेपानीको व्यवस्थापन गरेकाे बताइएकाे छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सेवा विस्तार गरेका क्षेत्रमा नियमित रूपमा खानेपानी वितरण भइरहेको छ। हावाहुरीका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा पम्पिङ प्रणालीमा आधारित केही स्थानमा अल्पकालीन समस्या देखिए पनि समग्र नगर क्षेत्रमा खानेपानी आपूर्ति सहज रहेको बोर्डले जनाएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार तीव्र शहरीकरण र जनसंख्या वृद्धि भइरहेका बेला पनि दीर्घकालीन योजना, स्रोत व्यवस्थापन तथा पूर्वाधार विस्तारका कारण नगरवासीले खानेपानी अभावको समस्या भोग्नुपरेको छैन।
“नेपालका धेरै शहरमा सुख्खा मौसममा पानीको हाहाकार हुने अवस्था छ, तर हेटौंडामा स्रोत संरक्षण, पूर्वाधार विस्तार र व्यवस्थापनका कारण नियमित सेवा दिन सफल भएका छौं,” अध्यक्ष विष्टले बताए। बोर्डका अध्यक्ष विष्टका अनुसार हाल खानेपानीको मुख्य स्रोतमा एक सतहगत मुहान, ४० वटा डिप ट्युबवेल र १९ वटा समवेल रहेका छन्। पानी भण्डारण क्षमता ८ हजार ९५२ घनमिटर रहेको छ भने करिब ८०० किलोमिटर लम्बाइको मुख्य तथा शाखा पाइपलाइनमार्फत वितरण प्रणाली सञ्चालन भइरहेको छ।
क्रमागत योजनाअन्तर्गत हेटौंडा–९ बेतखोल्ची डाँडामा ६ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, हेटौंडा–१४ मा डिप ट्युबवेल तथा २ लाख लिटर क्षमताको ट्यांकी निर्माण, हेटौंडा–१५ मा ३ लाख लिटर क्षमताको ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युतीकरणका काम अघि बढिरहेका छन्।
यसैगरी बेतखोल्ची डाँडादेखि स्मृति चोकसम्म मुख्य पाइपलाइन विस्तार, रोटरी पम्प हाउसदेखि पिस पार्कसम्म करिब ४ किलोमिटर डिआई पाइपलाइन विस्तार तथा बुङ्दल मुहानदेखि सामरी पुलसम्म इन्टेक निर्माणसहित पाइपलाइन सुधार कार्य पनि सञ्चालनमा रहेको बोर्डले जनाएको छ।
फास्ट ट्रयाकमा स्लो काम गरेपछी…
मकवानपुर । संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं–तराई–मधेश द्रुतमार्ग काममा ढीलाइ गरेपछि बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माण कम्पनीलाई नेपाली सेनाले कारवाही प्रक्रिया सुरु गरेको छ । सम्झौता गरेको ठेकदार कम्पनीले समय गुजार्दै काममा ढीलाइ गरेपछि सेनाले कारवाहीको प्रक्रियाअघि बढाएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ समेतको संलग्नता रहेको ठेकदार कम्पनीले ७५ प्रतिशत समय बितिसक्दा पनि १ प्रतिशत मात्रै काम गरेको छ । द्रुत मार्ग तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरि काम भइरहेको नेपाली सेनाले बताइरहदा ठेकदार कम्पनीको कारण सेनाको लक्ष्य अनुसार काम हुनेमा आशंका पैदा भएको छ ।
मकवानपुरको सिस्नेरी खण्डमा पर्ने द्रुतमार्गको कामको लागि चिनियाँ कम्पनी एक्सीजीसी चाइनिज र बानियाँ हनुमानले सम्झौता अनुसार काम नगरेपछि कारवाही सुरु गरिएको नेपाली सेनाले जनाएको छ । फास्ट ट्रयाकको ‘नाइन ए’ र ‘नाइन बी’ प्याकेजमा क्रमशः जेएनसी चाइनिज र बानियाँ हजुमान तथा एक्सीजीसी चाइनिज र बानियाँ हनुमानले एकै दिन सम्झौता गरेका थिए । दुबैले १ हजार दिनमा काम गर्ने सर्तमा १३ मे सन् २०२४ मा सम्झौता गरेका थिए । जस अनुसार ७ फेब्रुअरी २०२७ समय सिमा सकिदैछ । १ हजार दिनमा काम सक्ने सम्झौता भएकोमा ७५० दिन सकिदा जम्मा प्याकेज ‘नाइन ए’ मा ४ दशमलब ५ प्रतिशतमात्रै काम सकिएको छ । प्याकेज ‘नाइन बी’ मा झन् १ प्रतिशत मात्रै काम भएको छ ।
मंगलबारको मितिले एक महिनाभित्र ३ प्रतिशत काम सक्ने गरी टार्गेट दिंदै सेनाले पहिलो चरणको कारवाही सुरु गरेको पत्र पठाएको हो ।
तोकिएको काम तोकिएको समयमा नसकिएपछि निर्माण कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडी बढाउनु पर्ने अनिवार्य सर्त भएको सेनाले जनाएको छ । ७५ प्रतिशत काम सक्नु पर्ने समयमा १ प्रतिशत मात्रै काम भयो । जसले फास्ट ट्रयाकको समग्र प्रगतिमा नै सेना पफमेन्स कमजोर देखिने भएपछि समस्या सुरु भएको हो । बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री भएकोले उनको स्वामित्वमा रहेको निर्माण कम्पनीलाई सेनाले कारवाही गर्न आँट नगर्ला भनेर काममा लापवाही गरिएको आरोप लाग्दै आएको थियो ।
यद्यपी नेपाली सेनाले आफ्नो नियम अनुसार ताकेता गरेको र सोही अनुसार कारवाहीको प्रक्रियामा अघि बढेको बताएको छ ‘काम नगर्ने सबैलाई उही नियम लागु हुन्छ’ द्रुत मार्ग आयोजना स्रोतले भन्यो “हामीले पहिलो चरणमा टार्गेट मिट गर्न वार्नि· दिएका हौ, धोका भयो भने र नियम अनुसार कारवाहीको प्रक्रियामा जानुको विकल्प छैन ।” प्याकेज ‘नाइन ए’ मा सुरुङ निर्माणको काम छैन, यहाँ ठुला ४ वटा पुल (दुबैतर्फ गरी ८ वटा) छन् भने केही साना पुलहरु छन् । यो क्षेत्रमा ग्यालरी टनेल छ भने कुल २ किलो मिटर ५३२ मिटर लम्बाइमा काम गर्नुपर्ने छ । साँढे ७ अरबको ठेक्का सम्झौता भएकोमा नियम अनुसार २ प्रतिशत काम समेपछि पाउने पहिलो किस्ता रकमको भुक्तानी समेत भइरहेको छ । त्यसपछि काम अघि बढेको छैन ।
प्याकेज नाइन ए भन्दा नाइन बीको अवस्था झनै नाजुक छ । कुल १ हजार दिनको लागि ठेक्का लिएको निर्माण कम्पनीले ७५० दिन सकिदा १ प्रतिशत मात्रै काम गरेको छ । यो बीचमा कम्तिमा ७५ प्रतिशत काम सक्नुपर्ने थियो । कुल ७ अरब ६४ करोडको ठेक्का सम्झौता भएकोमा १ प्रतिशत मात्रै काम भएकोले पहिलो चरणको भुक्तानी पनि भएको छैन । यो क्षेत्रमा पनि ४ वटा ठुला पुल (दुइतर्फगरी ८ वटा) निर्माण गर्नुछ । यो क्षेत्रमा २ किलो मिटर ७२० मिटर लम्बाइमा काम गर्नुपर्नेछ ।
तोकिएको समयमा काम नसकिएमा पहिलो चरणमा एक महिनाभित्र ३ प्रतिशत कामको टर्गेट दिएको सेनाले उक्त टार्गेट अनुसार प्रगति नभएमा चरणबद्ध रुपमा कारवाहीको प्रक्रिया अघि बढ्ने जनाएको छ । जसमा सम्झौता रद्ददेखि कम्पनीलाई कालोसूचिमा राख्नेसम्म हुनसक्छ ।
पहिलो चरणमा २ वटा ठेकदार कम्पनीलाई कारवाही सुरु गरेको सेनाले कम प्रगति गर्ने अरु ठेकदार कम्पनीलाई पनि कारवाहिको दायरामा ल्याउने तयारी गरेको छ ।
दु्रुत मार्ग निर्माणको लागि तोकिएको समयसीमा २०८३ चैतमा सकिदै छ । नेपाल सरकारबाट २०८३ चैत मसान्तसम्मको समयसीमा प्राप्त त्यो बीचमा निर्माण सक्ने रफ्तारमा सेना छ। तर ललितपुरको खोकनामा जारी विवाद र मकवानपुरको सिस्नेरी खण्डमा निर्माण सम्झौता गरेको ठेकदार कम्पनीको कारण आयोजना सम्पन्नतामा समस्या हुने प्रष्टै छ । नेपाली सेनाका अनुसार हालसम्म द्रुत मार्गमा भौतिक प्रगति ४९ र विक्तिय प्रगति ५० छ ।
एसियन हाई–वे स्ट्याण्डर्डको आयोजनालाई अर्जुनदृष्टि र दु्रतआधारमा अघि बढाइरहेको बेला व्यक्तिको पहुँचको आधारमा काममा बाधा सिर्जना हुनु राज्यकै लागि दुर्भाग्य हो ।
मलाई थाहा छैन : मुख्यमन्त्री बानियाँ
यता बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सेनाको कारवाही बारे आफूलाई जानकारी नभएको बताउनु भयो । मुख्यमन्त्री भएपछि फास्ट ट्रयाकको आयोजना निर्माणमा मात्रै हैन अन्य अन्य निर्माण कार्यमा पनि आफू संलग्न नभएको बानियाँले बताउनु भयो ।
“नियम अनुसार म अहिले कुनै पनि ठेकदार कम्पनीमा आवद्ध छैन, मैले जिम्मेवारी अरुलाई नै हस्तान्तरण गरिसकेको छु, यसमा मेरो नाम जोड्नुको औचित्य नै छैन” उहाँले भन्नुभयो । प्रदेशको मुख्यमन्त्री भएपछि आफू निर्माण कम्पनीमा नरहेको स्पष्ट पार्दै बानियाँले भन्नुभयो “अहिले सबै जिम्मेवारी मेरो भतिजो उज्वलराज बानियाँको हो।” यसबारे उज्वलराज बानिँयालाई फोन सम्पर्क गर्दा फोन उठेन ।
निर्माण सम्पन्नपछि नेपालको सडक यातायातको क्षेत्रमा अत्याधुनिक र रुपान्तरणकारी आयोजनाका रुपमा यो द्रुतमार्ग स्थापित हुदैछ । जुन काठमाडौंलाई तराई मधेस हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न मार्ग हो ।निर्माणपछि काठमाडौंबाट निजगढसम्मको यात्राअवधि पाँच घण्टाबाट घटेर एक घण्टामा सीमित रहनेछ । जसले इन्धन र समयसमेत बचत गर्नेछ । जनजीवनमा सहजतासँगै काठमाडौं को जनघनत्व, प्रदुषण समेत नियन्त्रणमा रहेने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको गौरवको योजना अन्तरगत रहेको बहुप्रतीक्षित काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना विवाद बाहेकको क्षेत्रमा रफ्तारमा निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाले जमिनमूनि गर्नुपर्ने फाउण्डेशनको कामहरु अधिकांश सकिएकोले अब तोकिएको समयमा काम सक्नको लागि सरकारको केही समन्वय आवश्यक रहेको बताएको छ । “बढी समय लाग्ने, अफ्ठ्यारा र चुनौतिपूर्ण कामहरु, जमिनमुनि गर्नुपर्ने कामहरु सकिएकोले अब कामको स्पीड नै धरै हुन्छ” झाले भन्नुभयो “सरकारले सहज सहजिकरण गर्यो भने हामी तोकिएको समयमा काम सक्ने छौं ।”
कुल लम्बाइ ७० दशमलब ९७७ किलो मिटर भएको काठमाडौं –तराइ–मधेश फास्ट ट्रयाकमा ७ वटा सुरुङहरु रहने छन् । जसमा २ वटा सुरुङमार्गहरु लेनडाँडा र धेद्रे निर्माण सम्पन्न भइ ब्रेक थ्रु भइसकेको छ। आगामी असार मसन्तसम्म सबैभन्दा लामो माहदेवटार सुरुङ मार्ग ब्रेक थ्रु हुदैछ ।
फास्ट ट्रयाकमा १ किमीको देवीचौर सुरुङमार्ग, शुन्य दशमलब ३९ किमीको सिसौटार सुरुङ मार्ग, २ दशमलब २३७ किमीको चन्द्राम भीर सुरुङ मार्ग, ३ दशमलब ४५५ किमीको महदेवटार सुरुङ मार्ग, १ दशमलब ६९१ किमीको धेद्रे सुरुङ मार्ग, १ दशमलब ६३२ किमीको लेनडाँडा सुरुङ मार्ग र शुन्य दशमलब ५८३ किमीको मौरी भीर सुरुङ मार्ग छन् ।
हासम्म काम सुरु नै नगरिएको देवीचौर र मौरी भीर सुरुङ मार्गको काम नयाँ सम्झौता पछि हुनेछ । देवीचौर सुरुङ मार्ग खोकना विवादको कारण समस्यामा छ । भने मौरी भीर सुरुङ मार्ग निर्माण स्थालको भौगोलिक संरचना धेरै संवेदनशील भएको कारण सेनाले अन्य काम सकेर गर्ने योजना बनाएको छ । “मौरी भीरको सुरुङ मार्ग सबैभन्दा बढी संवेदनशील भएर गर्नुपर्ने छ” आयोजना प्रमुख झाले भन्नुभयो “त्यहाँको डाडाँमा हामीले अध्ययन गर्दा चट्टान नै भेटेका छैनौ, पुरै माटो माटो छ, त्यसैले एकदम जतनले काम गर्नुपर्ने छ ।”
सेनाले पहिरोको संभावना भएको भुगोलमा रिट्रेनिङ वाल बनाउँदै काम गरेको छ । यसियन हाइवे मापदण्ड अनुसार बन्ने फास्ट ट्रयाकमा ८९ वटा पुलहरु बन्ने छन् । जसको दुइतर्फको कुल लम्बाइ २५ दशमलब ७७ किमी हुन्छ । पुलको चौडाइ एकातर्फमात्रै ११ दशमलब ८ किमी छ । ८९ स्थानका पुलमध्ये ५६ स्थानका पुलहरूको फाउन्डेसन, ३८ स्थानका पुलको सब स्ट्रक्चर र १६ स्थानका पुलको सुपर स्ट्रक्चरको कार्य सम्पन्न भइसकेको छ ।
आयोजना अन्तर्गत रहेका जम्मा ८९ स्थानका पुलमध्ये ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको तथा बाँकी चार स्थानका पुलमा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको छ । ती खोकना खण्डमा अवस्थित छन् । फास्ट ट्रयाकमा खोकना, बुदुने र निजगढमा गरी ३ वटा इन्टर चेन्जहरु छन् । सुरुङ मार्गको समग्र सडक निर्माण प्रगति हालसम्म ४७ दशमलब ११३ किमी सकिएको छ भने ७ किमी कालोपत्रे सकिएको आयोजना प्रमुख उपरथी झाले बताउनु भयो ।
२०७४ वैशाख २१ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाइ प्रदान गरिएको थियो । २०७४ जेठ २ गते परामर्शदातासँग सझौता भएको थियो भने २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा फास्ट ट्रयाकको शिलान्यास गर्नुभएको थियो ।
२०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो । सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्रयाक निर्माणको काम थालिएको थियो । २०८० बैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्याइएको थियो ।
यो आयोजनाको प्रस्थान बिन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु गरिएको थियो ।
- आरपी गुरागाईं
कथा सङ्ग्रह ‘अ-विधवा‘
* ’अ-विधवा’ ( विधवा नहुने अवस्था) शिर्षकले नै समाजमा महिलाको स्थान, उनीहरूको अस्तित्व र वैवाहिक जीवनसँग जोडिएका सामाजिक दृष्टिकोणलाई उजागर गरेको जस्तै लाग्छ
* शैली: यस पुस्तकका कथाहरूले नेपाली समाजको यथार्थ, मानवीय संवेदना, डायस्पोरा (प्रवास) का अनुभव र विशेष गरी महिलाका विविध रङ्गीन तथा कारुणिक पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्। पुस्तकको कभरमा देखाइएको अमूर्त (Abstract) चित्रले पनि यसभित्रका कथाहरू गम्भीर र मर्मस्पर्शी छन् भन्ने सङ्केत गर्छ।
कथाकार लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकाले उनका कथाहरूमा डायस्पोरा (प्रवासी जीवन) को अनुभव, पहिचानको सङ्कट र जन्मभूमिप्रतिको मोह प्रष्ट देखिन्छ। यस सङ्ग्रहमा नेपाली माटोको सुगन्ध र विदेशी भूमिको यथार्थ दुवैलाई सुन्दर ढङ्गले बुनिएको छ।
कथाकार प्रेरणाका पात्रहरू हाम्रै वरपरका साधारण मानिसहरू जस्ता लाग्छन्। उनले पात्रहरूको आन्तरिक मनोविज्ञान, द्वन्द्व, प्रेम, विछोड, र जीवनको उत्तराद्र्धमा देखिने एक्लोपनलाई बडो मार्मिक रूपमा चित्रण गरेका छन्।
अ-विधवा’ केवल एउटा कथाको सङ्ग्रह मात्र नभएर नेपाली समाजको विसंगति र मानवीय सम्बन्धका अनेकौँ रङहरूलाई उतारिएको एउटा जीवन्त ऐना हो। प्रेरणाका लामा कथाहरूको मुख्य विशेषता नै पत्र उप्काए झैँ कथाको गहिराइ खुल्दै जानु रहेको पाइन्छ ।
१. अ- विधवा ( शिर्षक कथा)
यो सङ्ग्रहको शीर्षकीय जसले समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोच र महिलाको सामाजिक हैसियतमाथि गम्भीर प्रश्न उठाएको छ।
नेपाली वा परम्परागत हिन्दू समाजमा श्रीमान्को मृत्यु भएपछि महिलालाई ‘विधवा’ को ट्याग भिराइन्छ। विधवा हुनुलाई केवल एउटा अवस्था मात्र नमानेर समाजले उसलाई अमङ्गल, अधिकारविहीन, र रङ्गीन जीवनबाट बञ्चित गराउने माध्यम बनाउँछ।
तर कथाकारले यस शब्दको अगाडि ‘अ’ उपसर्ग जोडेर “जो विधवा होइन” वा “विधवा हुनु बाध्यता होइन” भन्ने नयाँ भाष्य निर्माण गरेका छन्। यो पुरुषप्रधान समाजले महिलामाथि थपेको पहिचान विरुद्धको एउटा भाषिक र वैचारिक विद्रोह हो। एउटा यस्ती महिला मृदुलाको कथा छ । जसले श्रीमान् गुमाएपछि पनि समाजले तोकिदिएका साँघुरा र कुरुप नियमहरूमा बाँधिन अस्वीकार गर्छे र संघर्षलाई देखाउँछ ।
समाजले सेतो लुगामा सिमित राख्न खोज्दा पनि आफ्नो इच्छाअनुसार बाँच्ने हिम्मत। श्रीमान्को मृत्युपछि महिलाको आफ्नो स्वतन्त्र अस्तित्व समाप्त हुन्छ भन्ने भ्रमलाई कथाकी पात्रले चिरेकी छिन्। यौन मनोविज्ञानलाई समेत जोडेर लेखिएको कथाको पात्रको पहिलो श्रीमान विदेश मै मृत्यु भएको देखाएर अरुको श्रीमानसँग गरेको प्रेमलाई उजागर गरेको छ । उसको सम्बन्ध विच्छेद र पात्रसँग दोस्रो विवाह । त्यो पनि भगवानलाई स्वीकार नभएपछि भेटिएको स्कुलको साथीलाई उमेर ढल्किएपछि भेटिए पनि उसको समेत मृत्यु भएको कथा बुनिएको छ ।
तेस्रो पुरुषसँगको सम्बन्धलाई नजानिदो पाराले स्वीकार गर्न मनपर्ने परिकार बनाउँदै गर्दा अस्पतालको फोनले उतै पुर्याइएको छ । महिलाले एक्लो हुँदा पुरुषलाई कतै न कतै स्वीकार गरिरहेको देखाउँदा ती पात्र समेतको रहस्यमय मृत्युले अन्तिममा अरु कोही नभए पनि पहिलो प्रेम (श्रीमान) को फोटो हेर्दै आफू संगै भएकोले कहिल्यै विधवा नभएको स्वीकार गरेको छ ।
२. जुनु भाउजू
प्रेरणाको ‘जुनु भाउजू’ कथा विशेषगरी नेपाली समाजको पारिवारिक यथार्थ, सम्बन्धहरूको उतारचढाव र मानवीय मनोविज्ञानमा आधारित एउटा मर्मस्पर्शी कथा हो। कथाको मुख्य केन्द्रविन्दु ‘जुनु भाउजू’ को पात्र हो। उनी एक मध्यमवर्गीय नेपाली नारी हुन्। कथामा एउटी नेपाली महिलाले महिला हुनुको कसरी आफ्नो अस्तित्व र पहिचान खोज्ने प्रयास गर्छिन् भन्ने कुरा देखाइएको छ।
श्रीमान्को व्यस्तता र जीवनपद्धतिका कारण उनीभित्र उब्जने एक्लोपन (Homesickness) लाई कथाकारले बडो सूक्ष्म रूपमा चित्रण गरेका छन्। यो केवल जुनु भाउजूको मात्र कथा नभएर श्रीमान संग टाढा हुने हजारौँ नेपाली महिलाहरूको साझा प्रतिनिधि कथा हो। कथामा जुनु भाउजूले नेपाली संस्कार, मूल्यमान्यता र आधुनिकताबीच सन्तुलन मिलाउन गरेको संघर्ष देखिन्छ। ‘जुनु भाउजू’ कथाले परिवारभित्रको आन्तरिक प्रेम, सद्भाव तथा मानविय उमेरको मनोदशा समेतलाई केलाएको छ।
यस कथाले भौतिक सुखसुविधाले मात्र मानिस पूर्ण हुन सक्दैन भन्ने सन्देश दिन्छ। भौतिक सुख भए पनि मानिसलाई आत्मिक शान्ति, आफ्ना मान्छेको साथ चाहिन्छ। जुनु भाउजूको चरित्रमार्फत कथाकारले धैर्यता, आत्मसम्मान र परिवर्तनलाई स्विकार्ने क्षमता नै जीवन जिउने बलियो आधार हो भनी प्रष्ट पारेका छन्।
जुनु भाउजुको मा डेरामा बस्न आइपुग्ने किशोरले एक रात देखेको उनको देह र त्यसपछिको किशोरको लतको अवस्थालाई मिहिन ढंगले केलाईएको छ । जुनु भाउजुले तृष्णा मेटाउन देखाएको आशक्ती र किशोर त्यो घर छोडेर गएपछी आउँदा जुनु भाउजु नभेटिएको छट्पटी छ कथामा । त्यही किशोर जो उमेर ढल्कदै गएपछीको एक साझँ त्यही जुनु भाउजुसँग भेट हुँदा भाउजुले नै चिनेर नम्बर आदान प्रदान गरेपछिको अवस्थामा किशोर पुनः अतीतमा फर्किएको छ ।
‘जुनु भाउजू’ कथा सरल शैलीमा बुनिएको तर गहिरो अर्थ बोकेको कथा हो। यसले पाठकलाई भावुक मात्र बनाउँदैन, एक्लो जीवनको भित्री पाटो कस्तो हुन्छ भनेर गम्भीर भई सोच्न पनि बाध्य पार्छ। अझ रोचक कुरा कथामा स्थान मकवानपुरको हेटौंडा चौघडा लगायत छन् । कथाकार स्थानीय भएकेले समेत यसले प्राथमिकता पाएको छ ।
३. भिनाजुकाे काख
कथाले नेपाली समाजमा विद्यमान ‘साली-भिनाजु’ पारिवारिक नाताहरू बीचको आत्मियता र त्यसभित्र लुकेका भावनात्मक पाटाहरूलाई प्रस्तुत गर्दछ। भिनाजु शब्दले एकातिर पारिवारिक संरक्षण, भरोसा र अभिभावकत्व हो भने अर्कोतिर समाजले हेर्ने दृष्टिकोण र नाताहरू भित्र उब्जने सूक्ष्म मानसिक वा भावनात्मक द्वन्द्वलाई पनि संकेत गर्दछ।
यस कथामा पनि समाजमा एउटी महिलाले आफन्त वा परिवारभित्र खोज्ने भरोसा, स्नेह र सुरक्षाको भावनालाई प्रस्तुत गरिएको छ। कहिलेकाहीँ परिस्थिति र समयका कारण सम्बन्धहरूमा आउने परिवर्तन र त्यसले मनमा पार्ने प्रभावलाई कथाले मिहिन ढंगले केलाएको छ।
कथाले प्रत्यक्ष वा परोक्ष रूपमा समाजको त्यो सोच्ने शैलीमाथि पनि प्रश्न उठाउँछ, जहाँ एउटा पवित्र पारिवारिक स्नेह वा सम्बन्धलाई पनि सामाजिक सङ्कीर्णताको चश्माले हेर्ने गरिन्छ। पात्रहरूको आन्तरिक द्वन्द्व र सामाजिक बाध्यताका बीच कथा अगाडि बढ्छ।
‘भिनाजुको काख’ पारिवारिक नाता, स्नेह, र मानवीय संवेदनाको एउटा यस्तो सामाजिक-मनोवैज्ञानिक चित्र हो, जसले पाठकलाई सम्बन्धहरूको मर्यादा र तिनले जीवनमा पार्ने प्रभाव समेत भन्न खोजेको छ ।
महिलाको मनोविज्ञान, आफ्नै कारण आफ्नै बहिनी संग आफ्नो पुरुषलाई विवाह गराउनु । अर्को देशको pr पाइने लोभ लाग्नु तर बहिनी र श्रीमानलाई संकाले मात्रै हेर्नू । अन्त्यमा सालीले अर्को केटा लिएर घर आउनु र श्रीमान्लाई हुत्ती भएको भए पो काखमा राख्नु हुन्थ्यो त भन्ने व्यंग्य हान्नु पनि रहस्य नै देखिन्छ । श्रीमान परदेशिय पछिको छ्टपटी आशका एका तिर कथामा पाइन्छ भने महिलाको साथ नहुदा परदेशमा महिलासंग कसरी फसिन्छ भन्ने पनि कथाले सन्देश दिन्छ ।
अमेरिकाको परिवेश र व्यस्त दैनिकीलाई नेपाल बसेर अनुमान लगाउने स्वर्ग जस्तै ठान्ने र त्यहाँ गएकालाई उल्कै ठूलो मान्ने नेपाली समुदायको धारणालाई समेत कथामा उजागर गरेको छ ।
४. पूर्व प्रेमिकासँग एक साँझ
यो कथाले विगतको प्रेम, वर्तमान यथार्थ र मानवीय भावनाको द्वन्द्वलाई प्रस्तुत गरेको छ। कथामा मुख्य पात्र र उनकी पूर्व प्रेमिकाको लामो समयपछि भएको भेटलाई केन्द्रमा राखिएको छ।
कलेज पढ्दै गर्दा भेट भएको डेरामा बस्ने केटासँग तरकारी किन्न जादाँ बोलिएको शब्दले सँगै घर भएकी महिलासँगको अन्तरङ कथामा मिहिन ढंगले प्रस्तुत गरिएको छ । उमेर मिल्दो भएपनि अविवाहित र विवाहित गाउँ र शहरको प्रेम । विवाहित महिलाको पुरुषको वेवास्तालाई देखाएर टाढाकोसँग प्रेम । घरमा बोलाएर मन खुलेर कुरा र बेडरुमसम्म जान पाउने वातावरण बनाउदै गरिएको प्रेमिल प्रसँङ्ग छ कथामा ।
केटा कलेज छोडी परदेशीय पछि सकिएको ठानिएकाे प्रेम । तर प्रेमीलाई सामाजिक संजाल मार्फत खोजी गरेको र च्याटमा कुरा हुने गरेको कथामा प्रस्तुत गरिएको छ। पूर्व प्रेमिकाले पटक पटक आग्रह गर्दा भेट्टन नमान्दा एक साँझ भेटौ भन्दा पुरुष पात्रले भेटघाटमा पुराना सम्झना, छुटेका अवसर र जीवनका अनुभवहरूलाई सम्झने अवसरको रुपमा लिन्छन् । जब भेट हुन्छ प्रेमिकाले घर लैजान्छन ।
आत्मियता आतिथ्यता पुरानै देखाउँछ्न घरको बेडरूम देखाउन लैजान्छिन । प्रेमी प्रेमीका हुँदा जस्तो सबै हुदैन । केबल प्रेमीलाई पुरानो सम्झना दिलाएर प्रेमिकाले सजाय दिलाएको भाव पाइन्छ । कथाको अन्तमा केटो निस्कन्छ विदा भएर । उसले सोच्दै नसोचेको व्यवहारले मनमा खेलेको कुरा र फालिएको बस्तुको सम्बन्ध कथाको विच तिर कनेक्सन गराएको छ ।
समयसँगै मानिसको जीवन बदलिन्छ, तर केही सम्झनाहरू मनमा गहिरो रूपमा रहिरहन्छन्। पात्रहरूबीच पहिलेको प्रेम भावना पूर्ण रूपमा समाप्त नभए पनि उनीहरू वर्तमान यथार्थलाई स्वीकार गर्न बाध्य हुन्छन्। यसले प्रेमको परिपक्व रूप, जीवनका बाध्यता र सम्बन्धको परिवर्तनशीलतालाई उजागर गर्छ। यो कथा केवल प्रेमकथा मात्र होइन, समय, स्मृति र जीवनका यथार्थबीचको सम्बन्धको चित्रण हो ।
५ “सङ्क्रान्ति बजार होटल एण्ड लज”
यस कथाको सुरुआतमा म पात्र र किशोरबीच “सङ्क्रान्ति बजार” जाने कुरा हुन्छ। कुराकानीबाट थाहा हुन्छ कि सङ्क्रान्ति बजार होटल एण्ड लज । यो केवल एउटा भौगोलिक स्थानको मात्रै नभई पात्रको स्मृति, स्वाद, अनुभव र विगतसँग जोडिएको ठाउँ हो। किशोरले त्यहाँको तानेको तोङ्बाको स्वाद र फिलिङ्स सम्झिरहेको देखिन्छ।
अतीतप्रतिको आकर्षण कथाको प्रमुख विषय हो। मानिसले कुनै ठाउँलाई त्यसको भौतिक स्वरूपका कारण मात्र होइन, त्यहाँ जोडिएका अनुभव र सम्बन्धका कारण पनि सम्झिरहन्छ भन्ने कुरा कथाले देखाउँछ।
“सङ्क्रान्ति बजार होटल एण्ड लज” एउटा प्रतीकका रूपमा आएको छ, जहाँ पात्रहरूको जीवनका केही महत्त्वपूर्ण क्षणहरू गाँसिएका छन्।जस्तो गाउँको रहेको होटलमा केही दिन बासबस्नु मदन मेलामा सहभागी हुनु र उमेरको असरले आकर्षित हुनु र सम्बन्ध रहनु ।
आधुनिक जीवनको व्यस्तता र पुराना सम्झनाबीचको सम्बन्ध कथामा झल्किन्छ।
मानिसको मनमा बस्ने स्थान, स्वाद, साथीभाइ र विगतका अनुभवहरूको प्रभाव बारे केन्द्रित देखिन्छ। कुनै ठाउँ परिवर्तन भए पनि त्यससँग जोडिएका स्मृतिहरू भने मानिसको मनमा जीवित रहन्छन् । त्यो स्मृति कहिँ न कहिँ पोखिएको हुन्छ पोखिन्छ भन्ने भाव कथामा छ। जसरी पोखिएको छ शहरको “सङ्क्रान्ति बजार होटल एण्ड लज” मा तोङ्वा खादाँ लागेको मात जोवनको मात बनेर ।
६. सुनसान वस्तिमा अन्तिम संवाद
कथाको पात्र आफ्नो जन्मिएको हुर्किएको गाउँ गएको छ । एक्लै तर रातको समयमा पुग्छ । गाउँ सुनसान छ । खण्डहर जस्तै बस्ती देख्छ । गाउँ प्रवेश निशेध देख्छ । अर्को पात्र भेटिन्छ । उहीँ सँग गाउँको विगत सुन्दै अगाडि बढ्छ । चौतारो, पानी, धारा, स्कुल, बैद्यको औंषधी पसल, गाउँको किराना पसल, माइजुको सिलाई बुनाई भएको घर आँखामा खेल्छन् ।
जो गाउँ ढुलाउदैछ अँध्यारो मै ढुलाउदैछ । एक स्थानमा उस्को आकार वर्णन गरिएको छ कहिले धरहरा जत्रो कहिले बामपुड्के । उस्लाई पात्रले रातको दृस्ठि भ्रमको रुपमा लिन्छ ।
गाउँ माओवादी जन्युद्धको कारण सरकार पक्ष र विद्रोही पक्ष समेतबाट तहसनस भएको बताइ रहन्छ एक पछि अर्को स्थान पुग्दा ।
आफ्नो घर पुग्दा झिलिमिली देख्छ । आमाको माया बाको प्यार र बहिनीको स्नेहमा लुट्पुटिन्छ । जब बत्ती निभ्छ । उज्यालो हुने संकेतले ढुलाइ हिड्ने पात्र जोड्ले दौडन्छ । उ पछि पछि दौदिन्छ । अन्त्य कसरी हुन्छ भने दुबै पात्र मरि सकेको भन्दै रहस्य मै छोडेर बिलाउँछ्न । कथामा कौतुहलता कथाको अन्त्य सम्म रहिरहन्छ । जनयुद्ध कालिन समयपछिका समय विविध कारण गाउँ रित्तिएको कथा व्यङ्ग्यत्मक रुपमा आएको छ । अतितकाेस्मृती र स्वरैकल्पनालाई कथाकारले कथामा प्रस्तुत गर्नु भएकाे छ ।
७. स्वप्नवत
यस कथाको मुख्य विषयवस्तु मानवीय संवेदना, सामाजिक यथार्थ, जीवनका आकांक्षा र तिनको विफलतासँग सम्बन्धित छ। कथाकारले सरल भाषा, प्रतीकात्मक शैली र मनोवैज्ञानिक चित्रणमार्फत जीवनको गहिरो सत्य प्रस्तुत गरेका छन्।
२०३६ सालको सुरुवाती समय देखाएर सुरु गरिएको कथाले कथाकारको उमेरलाई नै प्रतिनिधिन्व गरेको जस्तै लाग्छ । जनमत संग्रहको लागि भएको मतदान र प्रजातन्त्र प्राप्ति । त्यस विचमा शाह परिवारसँग कामिनीको सम्बन्ध यसरी अगाडी बढेको कथा आशा बोकेर टुंगिएको छ ।
भलै राजनीति गरेर केही गर्ने कामिनीको सपना शाह परिवारबाट लुटिएको देखाइएको छ ।
- राजनीतिमा जनमत संग्रह, पन्चायती शासन, प्रजातन्त्र पछिका परिवर्तन निराशा र अन्तिम आशा
- प्रेम (राजनीतिमा सुरुवाती समयमा सँगसँगै डोर्याइएकीसँग समलिङ्गी सम्बन्ध र पुरुषसँग नचाहेरै भएको सम्पर्क तथा सामाजिक परिवेश
- राजनीतिले पुर्याएको हानी
- राजनीति भन्दा पनि राजनेता गलत नभए परिवर्तनको संभावना राजनीति मै देखाइएको छ ।
- राजनीतिक भविश्यलाई सपना जसरी मिहिन ढंगले उजागर गरेको छ ।
- आशा जगाउने कथा ।
कथा संग्रहमा
१. किशोर, युवा,अधबैंसे प्रौढ उमेर समेत अवस्थालाई यौनसंग तुलना गरेर लेखिएको कथा ।
( यी अबस्था आउँछ जान्छ त्यस भित्र अनायासै आउने परिस्थितिले कसरी क्षणिक सन्तुष्टि, विचलन र परिपक्व बनाउछ बन्ने पाइन्छ )
२. यौन मनोविज्ञान भित्र ग्रामीण र शहरी परिवेश देश तथा विदेश, हुँदा पनि र नहुँदा पनिको मानसिक असन्तुष्टी, जानेर वा नजानेर गरिएको प्रयोगको प्रभाव लगायत छन् ।
३. ती कुरा समय संगै कसरी वदलिन्छ । जिवनको ढल्कदो उमेरमा ती कुराले कसरी अतीत र रमाइलो नरमाइलो पललाई सम्झना गराउछ ।
४. जो संग जसरी प्रेममा परेको भएपनि पहिलो प्रेम, पहिलो सम्पर्क जीवन भर भुल्न नसकिने देखाइएकाे छ ।
५. कथामा बग्दै जादाँ कल्पना गर्नै सकिदैन तर अन्त्यमा सपनाबाट बिउँझिए झै लाग्छ ।
नेपाली साहित्यको कथा बिधा, लामो कथा र लेखकको बारेमा धेरै कुरा लामो कथा लेखन परम्पराका मानक कथा भूमिकामा प्रा. डा लक्ष्मणप्रसाद गौतमले लेख्नु भएको छ ।
कथाकार गोविन्द गिरी ‘प्रेरणा’ को परिचय
गोविन्द गिरी ‘प्रेरणा’ नेपाली साहित्यका एक स्थापित, बहुमुखी र निरन्तर साधनारत साहित्यकार हुनुहुन्छ।
* जन्म: वि.सं. २०१५ वैशाख ५ गते मकवानपुरमा जन्मनुभएका प्रेरणाको पहिलो कथा वि.सं. २०३४ सालमा किनारा शिर्षकको कथा प्रकाशित भएको थियो। आफ्नो लेखनको सुरुवाती समयमा पाठकहरूबाट पाएको हौसलाका कारण उहाँले आफ्नो नामको पछाडि ‘प्रेरणा’ उपनाम जोड्नुभएको हो।
* बहुविधाका धनी: उहाँ केवल कथाकार मात्र नभई उपन्यासकार, कवि, नियात्राकार र अनुवादक पनि हुनुहुन्छ। उहाँका २५ भन्दा बढी मौलिक कृतिहरू प्रकाशित छन्।
- प्रमुख कृतिहरू:
◦ कथा सङ्ग्रह:सुतेको समुद्र (पहिलो सङ्ग्रह – २०४०), अन्तराल, यात्रा अनन्त, घोराही शून्य किलोमिटर, छड्के तिलहरी, र गन्तव्य गणबहाल।
◦ उपन्यास:उत्खनन, पाखण्ड पर्व, अन्तिम खाडल, मात्र एक रात, र लिभिङ टुगेदर।
◦ नियात्रा र जीवनी:फेरो (पुरस्कृत नियात्रा), गुडबाई अमेरिका र पारिजातको जीवनीमा आधारित सुश्री पारिजात।
* पुरस्कार तथा सम्मान: उहाँ नेपाली साहित्यमा पुर्याएको योगदानबापत ‘युवा वर्ष मोती पुरस्कार’, ‘मैनाली कथा पुरस्कार’, ‘वासुशशी स्मृति पुरस्कार’ लगायतका प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित भइसक्नुभएको छ।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएका प्रेरणाले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा ठूलो योगदानदिइरहनुभएको छ। उहाँले ‘विश्वपरिक्रमा’ पत्रिका र अनलाइनमार्फत डायस्पोराका लेखकहरूलाई जोड्ने काम पनि गर्दै आउनुभएको छ।
२०८३ साल जेठ २७ गते बुधबार हेटौंडामा साहित्य संगम मकवानपुरले आयोजना गरेकाे अ-विधवा माथि गरिएकाे परिसंवादमा पुस्तकका बारेमा राखिएकाे प्रतिक्रिया