नेपालको संविधानको धारा २८ मा गोपनीयताको हकको व्यवस्था गरिएको छ । यहाँ भनिएको छः कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत,तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।
तर पछिल्लो समय व्यक्तिको गोपनीयताको सवाललाई पटक्कै वास्ता गर्ने गरिएको पाइन्न । पीडितलाई कानुनी उपाचार दिलाउँदासम्म उसको गोपनीयताको ख्याल गर्नुपर्नेमा पाइलैपिच्छे गोपनीयताको सवाल उदाङ्गो पारिदै आइएको धेरै सवालहरु भेटिन्छन् हाम्रो वरपर । पीडितलाई न्याय दिलाउनको लागि उसको व्यक्तिगत गोपनीयताको सवालाई छरपष्ट पार्नै पर्छ भन्ने छ र ? पछिल्लो समय विभिन्न युटुब तथा अनलाइन मिडियाहरुले पीडितलाई न्यायमा समर्थन गर्ने होडबाजिमा उसको सारा विगतहरु सार्वजनिक गर्ने गरेका छन् । के यसरी पाएको न्यायले पीडितलाई साँच्चै न्याय प्राप्त हुन्छ ? वा अझै पीडा हुन्छ ?
“जब मेरो बारेमा मिडियामा कुरा आएछ, त्यतिबोला म अदालत परिसरमा थिए । मेरो आफन्तले फोन गरेर सुनाउनु भयो । मैले त्यतिबेला अरु केही सोच्नै सकिन । अब म मरे भयो, किन अदालत धाउनु भन्ने सोच आयो । यस्तो भयो भनेर कसैलाई शेयर गर्न पनि सकिन । दिमाग सुन्य भए झै लाग्यो । के गर्ने के नगर्ने, कुन बिचार सही कुन गलत केही सोच्न सकिन । आमालाई सम्झेर खुब रोए, आमा भैदिएको भए, अंगालो हालेर भन्थे हुँलाः “आमा म के गरु ?” तर म आमा विहीन थिए । एकाएक ‘मुडो’ जस्तै फिल गरे आफूलाई । साथ दिने केही छैनन् म नितान्त एक्लो छु भन्ने लाग्यो, भोलीको दिनमा केही गर्न सक्छु म बाँच्न पर्छ भन्ने नै सोचिन । केही बेरपछि लगातार फोन आइरह्यो जति कल उठाउँथे मेरो बारेको समाचार नै सुनाउँथे सबैले । कसैले पनि नआत्तिउ, हामी साथ छौ भनेन् । मेरो तर्फको एक वकिल थिए उनी मात्रै भन्थे ‘केही हुन्न नआत्तिउ’ बिस्तारै म नर्मल भए, मिडियाले दिएको त्यो पीडा जीवनभर भुल्ने छैन ।” एक जना पीडितको भनाइ ।
हाम्रो वरपर यस्ता घटनाहरु धेरै भेटिन्छन् महिला तथा बालबालिकाहरुमाथि हुने हिंसाको सवालमा अझै बढी यस्ता केसहरु भेटिन्छन् । पीडित कानुनी उपचारको क्रममा झन् झन् पीडा खेपिरहेका हुन्छ । जाहेरी दिनेबेलादेखि बयान दिने क्रममा समेत । यि त प्रहरी वा अदालत पुग्दाको केसहरुमा भए । अदालत र प्रहरी नपुग्दै मिडियाहरुले उठाउने सवालमा खै गोपनीयताको ख्याल गरिएको ? पछिल्लो पटकको उदाहरणको रुपमा लिन सकिन्छ राउटे महिलाको सवाल । उनलाई न्याय दिनुपर्छ भन्ने नै सबैको आवाज छ । तर ति महिलालाई न्यायको माग गर्दै सार्वजनिक भएका भीडियोहरुको हालत हेर्नै नसकिने छन् । पीडकको अनुहारमा ब्लर गरिएको छ, पीडितको नाम थर ठेगाना मात्रै हैन अनुहार नै प्रष्ट देखाइएको छ ।
यही हो त न्यायको लागि ‘सारथी’ बन्नेहरुको साथ ? जुन चोटको कारण न्यायको लडाँइ लड्नु पर्ने थ्यो त्यो भन्दा गहिरो चोट न्यायमा ‘साथ’ दिन्छौ भन्नेहरुबाटै पाएकी छिन् उनले । संविधानमा प्रदत्त मौलिक हकको यस्तो हनन् हुँदा पीडितको न्याय पाउने हक म¥यो कि मरेन ? वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ ले ‘प्रत्येक व्यक्तिलाई पारिवारिक जीवन कायम राख्न वा पारिवारिक अखण्डता कायम राख्नको लागि पारिवारिक गोपनीयता कायम राख्न पाउने अधिकार हुनेछ’ भनेको छ तर समाजमा परिवारभित्रैको सदस्यबाट हिंसा वा दुव्र्यवहार भएमा पीडितको परिचय नखुलाउनको लागि पीडिकको समेत परिचय गोप्य गरिनुपर्छ । तर व्यवहारतः यस्तो देखिदैन ।
यसबारे समाजका केही अगुवाहरुको भनाइ के छ ?
मुनु सिग्देलः प्रदेश सभा सदस्य, बागमती प्रदेश

पछिल्लो समय महिला तथा बालबालिकामाथि जुन हिंसा भइरहेको छ,अतेन्तै पीडादायी छ । पीडितलाई न्याय र पीडकलाई सजाय गर्नुको सट्टा सामाजिक सञ्जालमा पीडितकै परिचय खुल्नेगरी तस्बिरहरु आइरहेका छन् ।
यसले पीडितलाई न्याय हैन झन् न्यायबाट टाढा बनाउँछ । हतोत्साही बनाउँछ । झन् एक्पोज हुने डरले पीडितहरुले घटना बाहिर ल्याउनै चाहने गरेको पनि हामीले देखेका छौ ।
समाजिक सञ्जालले न्याय दिने नाममा आफ्नो भ्यु बढाउने नाउँमा धेरै अन्याय नै गरेको हुन् भन्ने मलाइ लाग्छ । धेरै घटनामा यस्तै कारण बालबालिका र महिलाहरु पीडित छन् ।
अब न्याय दिने दिन कायहरुले पनि पीडितलाई न्याय दिनु त छंदैछ, न्याय त दिंनै पर्छ पीडितलाई । र, संगसंगै त्यो घटनालाई गोपनीयताको ख्यालै नगरी एक्पोज गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्छ।

इन्दीरा न्यौपाने, नेतृ नेपाली काँग्रेस
हाम्रो समाज एक दमै गलत बाटोमा लाग्यो भन्ने देखाउँछ यस्ता घटनाहरुले ।
हामीले बालबालिका र महिला हिंसा विरुद्धको आवाज उठाउदै गर्दा पीडितको फोटो सहित राखेर झनै पीडितलाई झन् झन् पीडा थपिरहेका छौ ।
यस कारण पीडितको गोपनियताको ख्याल गर्ने परिपाटी हराउँदै गएको छ ।
यो विल्कुलै राम्रो हैन । यसरी पीडिलाई झन् पीडा पुग्ने सामग्री प्रकाशन, प्रसारण गर्नेलाई पनि कानुनको दायरामा ल्याइनु पर्छ ।

अधिवक्ता अप्सरा बस्नेत, जिल्ला कानुन सहायता समिति
विशेष गरी बालबालिका तथा महिला बिरुद्ध हुने यौन हिंसामा पीडितको गोपनियताको ख्याल नगरीनु भनेको पनि संबिधान तथा कानुनले प्रत्याभूत गरेको गोपनीयताको अधिकारको हनन गर्नु हो । यस्तो कार्य कानुन विपरीतको कार्य हो ।
यसकारण यो कार्य पनि दण्डनिय अपराध नै हो । पीडितको गोपनियता भंग गर्नेलाई पनि कानुन बमोजिम सजायको भागिदार बनाउनु आवश्यक हुन्छ । अझ सामाजिक संजाल मार्फत प्रचारप्रसार गर्नेलाई त साईबर क्राईम अन्तरगत पनि कारवाही गर्नुपर्छ । यस्ता संबेदनशिल बिषयहरुलाई मनोरन्जनको बिषयको रुपमा लिएर प्रचारप्रसार गर्नु भनेको राम्रो होईन । पीडितमाथि झन् झन् पीडा दिने यस्ता व्यवहारले अर्को घटना ननिम्तेला भन्न सकिदैन ।

झविन्द्र ज्ञावली, बाग्मती प्रदेश बाल अधिकार समिति सदस्य,सामाजिक विकास मन्त्रालय
बालबालिका तथा महिला विरुद्ध हुने हिंसाका घटनामा अहिले हामीले सामाजिक सञ्जालमा जुन देखिरहेका छौ त्यसले गर्दा पीडित पक्षलाई धेरै गाह्रो भएको अवस्था छ ।
यसमा व्यक्तिको आत्मासम्मानमा ठेस लागेको हामीले आभाष गरेका छौ । पीडितको जीवनको नैतिक एवम् चरित्रको हत्या भएको हामी देख्छौ । नेपालको संविधान २०७२ ले गोपनीयताको अधिकारको हकलाई सुरक्षित गरेको छ । त्यो हकको पनि ठाडो उल्लङ्घ भएको प्रष्ट देखिन्छ । त्यसकारणले गर्दा समग्र जीवनमा असर पुग्ने देखिन्छ । जीवनमा कुनै पनि काम गर्दा पुराना घटना सम्झने र कामका समेत ठेस पुग्ने र असर पुग्ने हुनसक्छ ।
यस्ता गतिविधिहरुमा सामाजिक सञ्जालमा यस्ता म्यासेज राख्नु पीीडतको लागि धेरै नराम्रो कुरा हो। यस्तो विषयमा सामाजिक सञ्जालको सन्दर्भमा सरकारले पनि साइबर क्राइमलगायतको व्यवस्था गर्दै त्यसको प्रभावकारी कार्यन्वयनको पाटोलाई दरीलो बनाउनु पर्ने र त्यस्ता व्यक्ति, समूहलाई पनि कानुन अनुसार कारबाहीको दायरामा ल्याउनु पर्ने हुन्छ ता कि त्यस्ता घटनाहरु नदोहोरिउनु भन्ने हिसाबले सरकारले काम गर्नु पर्छ ।
सरकारले सामाजिक सञ्जालहरुलाई पनि व्यवस्थित गर्नुपर्ने देखिन्छ । ता की हाम्रो समाजमा एक घटना भयो भने कुनै पनि व्यक्तिले यस्ता नराम्रा घटनाबाछ फाइदा लिन नसकोस् । चाहे मिडियाकर्मी होस् वा कुुनै व्यक्ति जो सुकै भएपनि गोपनीततालाई ख्याल नगरी यस्ता विषय बाहिर ल्याउनु राम्रो हैन ।

अधिवक्ता जगन्नाथ सुवेदी, कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)
नेपालको संविधानले व्यक्तिको गोपनीयतालाई मौलिक हक कै रुपमा धारा २८ मा स्थापित गरेको छ । कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ती, लिखत, तथ्याङ्क, पत्राचार र चरित्र सम्बन्धि बिषयको गोपनीयता अनतिक्रम्य हुनेछ भनी स्पस्ट उल्लेख गरेको
छ ।
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ को दफा १५ ले कसैको चरित्रको बिषयको गोपनियता खोल्न नपाईने र दफा १६ ले व्यक्तिको चरित्र र सामाजिक प्रतिष्ठामा आँच आउने
गरी फोटो खिच्न समेत नहुने कुरा गरेको छ र कसैले त्यसो गरेमा क्षतीपुर्ति र कार्यबाहिको व्यबस्था गरेको छ । यस बिषयमा अन्य प्रचलित ऐनहरुले पनि विभिन्न कानुनी व्यबस्था गरेको
छ । र पनि व्यक्तिको जीवन स्वतन्त्रता सुख र आत्मसम्मानको बिषय हो गोपनीयता । मान्छेका जीवनमा अकल्पनीय दुःखद घटना हुन सक्छ तर त्यसलाई बाहिर नल्याउन चाहने उस्को निजी स्वभाव र चाहनाको कदर गरेर नै यसलाई अधिकारको रुपमा स्थापित गरिएको हो ।
जव कसैको अधिकार हनन हुन्छ तव मान्छे मान्छे भएर बाँच्न मुस्किल पर्दछ । गोपनीयताको संबेदनशील पक्षलाई केन्द्रविन्दुमा राखेर सोच्ने हो भने कसैको गोपनीयताको उल्लङ्घन हुनु भनेको समाजमा मानवता बिरुद्धको अपराध हो । जब मानवता बिरुद्धको घटनाको कुरा आउँछ यो कुनै अमुक महिला बालबालिकाको मात्र समस्यामा सिमित हुँदैन यो जोसुकै माथि हुन सक्ने सामाजिक सवालको रुपमा देखा पर्छ र सचेत नागरिकले पनि त्यसै गरी सोचेर प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट आवाज उठाउनु पर्छ ।
कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने सर्वमान्य सिद्धान्त अनुसार कानुनले कारबाही गर्छ वा दन्ड दिन्छ भन्ने कुरा थाहा पाएको भए त्यस्तो गर्दिन थिएँ भनेर कसैले पनि आफूलाई बचाउन सक्दैन । लक्षित समुदाय र वर्गलाई यस् बारेमा सचेत गराउन र बढी जान्ने बनेर फोटो र भीडियो लिनेहरुलाई खबरदारी गर्नु आवश्यक छ । गोपनीयताको हकको सम्मान नगरीकन फोटो भीडियोहरु सार्वजनिक गर्नेलाई पनि कानुनी दायराले समेटेको छ, कारबाही हुन्छ । यस्ता सवालमा राज्यले पनि कडाइ गर्नुपर्छ ।

आरती पाठक, संयोजक, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सञ्जाल मकवानपुर
सर्व प्रथमत यो जनचेतनाको कमिको कारण सिर्जित समस्या हो । आज अर्कोलाई परेको समस्या भोली आफैंलाई पर्ला मात्रै सोच मनमा राख्यो भने त्यो अवस्था आउँदैन । अर्को कुरा हाम्रो समाजका अझैपनि जनचेतनाको अभाव छ । कस्तो घटना कसरी बाहिर ल्याउने, कसरी कानूनी उपचारमा जाने भन्ने जनचेतना नहुँदा यस्ता कार्य भएका छन् । र अर्को कुरा देशमा कानुन त छ, तर राज्यले कडा कारबाही गर्न नसक्नुले घटनाहरु बढीरहेका छन् । घटना भएलगत्तै कानुनी रुपमा एक्सन लिने र कडा कारबाही गर्ने हो भने, यस्ता पीडादायि घटनाको बारेर बोलिरहनु पर्ने अवस्थाको अन्त्य हुने थियो । सामाजिक संजालको दुरुपयोग पनि व्यवपक छ । पछिल्लो पटक भाइरल भैरहेको राउटे महिलाको घटना सामाजिक सञ्जालबाटै बाहिरीएको थियो । अहिले त न्याय दिलाउन दिइने दबाबका तरिकामा पनि प्रतिस्पर्धा हुनुथाल्यो यो झन् घातक बन्दै छ ।

माया लामा (प्रमुख) माइती नेपाल मकवानपुर
कुनै पनि व्यक्तिलाई गोपनीयताको हक नेपालको संविधानले प्रत्याभुत गरेको छ । कुनै पनि घटनाको सवाल पीडितको गोपनीयताको रक्षा हुनुपर्छ ।
सस्तो प्रचारको लागि मिडियाहरुले पीडितको गोपनियताको ख्याल नगर्नु संविधान विपरीत कार्य हो । यसलाई पनि कानूनको दायरमा ल्याउनु पर्छ । केही युटुबहरुले आफ्नो भ्यु बढाउने र पैसा कमाउने लहडमा शिर्षक एउटा समाचार अर्को राख्ने गोपनीयता भंग गर्ने काम गरेको पाइन्छ, सम्बन्धित निकायले यसको निगरानी र कानूनी कारबाहीको कार्य गर्नुपर्छ ।
- डा. बालकृष्ण साह
गैरसरकारी संस्थामा काम गर्दै गरेकी रजनी तिम्सिना (नाम परिवर्तन) ५४ वर्षकी भएर पनि ३५–३६ वर्षकी देखिन्छिन्। योग र व्यायामले आफूलाई तदुरुस्त राखेको बताउने उनलाई एक वर्षदेखि शरीर पूरै तातिने, खलखल पसिना आउने अनि मुटु धेरै ढुकढुक गर्ने समस्याले सताउन थालेको थियो। सानो केही समस्या भए पनि दिल्लीको मेदान्त अस्पताल पुग्ने रजनी गतवर्षको कोभिड महामारी र लकडाउनले दिल्ली पुग्न सकिनन्।
नेपालका चिकित्सकहरूमा खासै विश्वास त थिएन उनलाई। समस्याले अलिक बढी नै चापेपछि मुटुरोगसम्बन्धी अनुभवी कहलिएका विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न बाध्य भइन्। कार्डियोलोजिस्ट चिकित्सकले मुटुको परीक्षण र इकोकार्डियोग्राफी समेत गरेर मुटुमा खासै समस्या नरहेको ठहर गरे। चिकित्सकले उमेर बढ्दै गएकाले एकपटक स्त्रीरोग विशेषज्ञ चिकित्सकसँग पनि परामर्श गर्न सल्लाह दिए। रजनीले पाँच वर्षअगाडि नै पाठेघर अप्रेसन गरेर फालिसकेकी थिइन्। त्यसैले यौनांगमा कुनै समस्या नरहेकाले स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्न उचित सम्झिनन् र दिल्लीमा गएर परीक्षण नगरेसम्म सञ्चो नहुने रहेछ भन्नेमा ढुक्क भइन्।
४५ वर्ष पार गरिसकेपछि महिनावारी सुक्ने अवस्थालाई मेनोपाउज भनिन्छ। महिनावारी सुक्ने अवस्थामा वा सुकेपछि वा जुनसुकै कारणले शरीरमा भएको इस्ट्रोजेनका कमीले यौनांग सुख्खा हुने, शरीर तात्तिएर आउने र पोल्ने (हट फ्लस), धेरै पसिना आउने, राम्ररी निन्द्रा नलाग्ने तथा दिमाग एकाग्र गर्न नसकिने हुनसक्छ।
कोभिडको पहिलो लहरमा केही सुधार हुनेबित्तिकै उनी दिल्ली नै पुगिन्। त्यहाँको प्रसिद्ध अस्पताल मेदान्तमा पनि कार्डियोलोजिष्ट डाक्टरसँग भेटिन्। नेपालमा गरेको सम्पूर्ण रिपोर्ट देखाइन्। त्यहाँ पुनः सबै परीक्षण (होलबडी चेकअप) नै गरिन्। सो परीक्षण गर्दा उनको रगत (सेरम) मा इस्ट्रोजेन भन्ने हर्मोनको कमी भएको थाहा भयो। अनि उनको स्वास्थ्य समस्याको मुख्य कारण पनि यही हर्मोनको कमी भएको ठहर गर्दै सोको उपचार गर्न उनलाई स्त्रीरोग विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सल्लाह दिँदा उनी झसंग भइन्। उनलाई नेपालकै कार्डियोलोजिष्टले सोही सल्लाह दिँदा पत्यार लागेकै थिएन। दिल्लीमै चिकित्सकको परामर्शमा इस्ट्रोजेन भएको औषधि सुरु गरेकी रजनीले चिकित्सकको सल्लाहबमोजिम पुनः रगतमा इस्ट्रोजेनको मात्रा परीक्षण गर्नुपर्ने र चिकित्सकसँग परामर्श लिनुपर्ने थियो। तर फेरि कोरोनाको दोस्रो लहर र भारतीय उडान बन्दले मेरो सम्पर्कमा आएकी रजनीले आफूलाई स्त्रीरोग विशेषज्ञले दिएका औषधिहरूले धेरै सुधार भएको बताइन्।
सामान्यतः ४५ वर्ष पार गरिसकेपछि महिनावारी सुक्ने हुन्छ। यस अवस्थालाई मेनोपाउज भनिन्छ। मेनोपाउज हुने उमेर सबैमा एउटै हुन्छ भन्न सकिँदैन। मेनोपाउज हुने उमेरमा पनि उनको शारीरिक अवस्था, स्वास्थ्य, पोषण, वंशाणुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका हुन्छ। कसैकसैलाई पाठेघरमा आएका समस्याहरूका कारण कम उमेरमै पाठेघरको शल्यक्रिया गरेर पाठेघर तथा अण्डाशय फालेको पनि हुनसक्छ। त्यस्ता महिला तथा मेनापाउज भएपछि वा हुने क्रममा इस्ट्रोजेन हर्मोनको कमी हुने हुन्छ। इस्ट्रोजेन हर्मोन अण्डाशयले उत्पादन गर्ने र प्रजनन् स्वास्थ्यमा यसले निकै ठूलो भूमिका खेल्ने हुन्छ। तर यस हर्मोनको काम महिनावारी वा प्रजनन् स्वास्थ्यमा मात्र सीमित हँुदैन। इस्ट्रोजेन हर्मोनले खराब बोसो अर्थात् कोलेस्ट्रोलको मात्रा नियन्त्रण, हड्डी तथा जोर्नीहरूको सुरक्षामा मद्दत गर्ने पनि हुन्छ। यसले मुटु, छाला स्वस्थ्य राख्न सहयोगी हुनुका साथै मानसिक स्वास्थ्य पनि सन्तुलित राख्नमा मद्दत गरेको हुन्छ। उमेर वा अन्य कुनै कारणले यो हर्मोनको कमी हुन गए महिलामा स्वास्थ्यका समस्याहरू देखा पर्न थाल्छन्। यस्ता समस्यालाई मेनोपाउजल सिन्ड्रम भनिन्छ।
महिनावारी सुक्ने अवस्थामा वा सुकेपछि वा जुनसुकै कारणले शरीरमा भएको इस्ट्रोजेनका कमीले यौनांग सुख्खा हुने, शरीर तात्तिएर आउने र पोल्ने (हट फ्लस), धेरै पसिना आउने, राम्ररी निन्द्रा नलाग्ने तथा दिमाग एकाग्र गर्न नसकिने हुनसक्छ। कसैकसैलाई मुटु धेरै ढुकढुक भएको तथा जोर्नी दुख्नेजस्ता समस्याले सताउने गरेको हुन्छ। यी हर्मोन असन्तुलनकै कारण कति महिलालाई मुटुको समस्या आउने, तौल बढ्ने, मधुमेहको राम्रो नियन्त्रण नहुनेसमेत हुनसक्छ। तर यस्ता समस्यालाई वास्ता गरिँदैन। कसैकसैले यस्ता समस्याहरू पाको उमेर वा बुढ्यौलीले आएका हुन् भन्छन् तर प्रजनन् स्वास्थ्य वा अण्डाशय तथा यसका हर्मोनहरूको असन्तुलन होला भनेर बुझ्दैनन्। शरीरमा इस्ट्रोजन हर्मोनको मात्र घटेकै कारणले महिनावारीमा अनियमिता आउने तथा सुक्ने हुन्छ।
हर्मोनको कमीले योनीमार्ग सुख्खा हुने र चिलाउने, यौन चाहना नहुने, मुखमा पनि र्याल कम हुने, छाला सुख्खा हुने र चिलाउने, चाँडै थकाई लाग्ने पनि हुनसक्छ। कसैकसैलाई टाउको दुःख्ने, जिउ दुख्ने, चिडचिडाहटपन बढ्ने, बढी रिस उठ्ने तथा केही डिप्रेसनमा जानेसमेत हुनसक्छ भनी अध्ययनले देखाएको छ। यस अवस्थामा हड्डी तीव्र गतिमा खिइने, जोर्नीका दुखाई बढ्ने गरेको पाइन्छ। यसैको कारणले स्मरण शक्ति अझ कमजोर हँुदै जाने, एकाग्रता नहुने, पिसाब रोक्न नसक्ने तथा पिसाब चुहिने, पाचनशक्ति पनि कमजोर हुने समस्या बढ्ने हुन्छ। विकसित मुलुकहरूमा महिनावारी सुकेपछि वा ५० वर्षपछि नियमित रूपमा रगतमा इस्ट्रोजेन परीक्षण गरिने भए पनि हाम्रो देशमा यस्ता समस्यापछि पनि परीक्षण गर्ने गरिँदैन। पछिल्लो समयमा भारतका विभिन्न सहरमा ‘होल बडी चेक अप’ गरेपछि मात्र यो समस्या पहिचान हुने गरेको पाइन्छ। अनि मात्र महिनावारी सुक्ने भएकाले पो यस्ता समस्या आउने रहेछ भन्ने थाहा पाउने र स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनेहरूको संख्या बढ्दै गएको छ।
उमेर पुगेपछि अण्डाशयमा रहेको ग्राफियन फोलिकल्स सकिँदै जान्छ। त्यसैले एकातिर महिलाहरूको अण्डाशय उत्पादन बन्द हुन्छ र अर्कातिर इस्ट्रोजेन हर्मोनको उत्पादन पनि कम हुन्छ। यो नियमित प्रकृया हो तर सबैलाई एउटै उमेरमा हुन्छ भन्न सकिँदैन। नियमित व्यायाम तथा शरीरको तौलमा सन्तुलन गर्नु, भिटामिन डी र क्याल्सियमयुक्त खाना खानु, पोसिलो, झोलिलो खानेकुरा बढी खानु, फलफूल तथा रेशादार खानेकुरा सेवन गर्नु, धुम्रपान तथा मद्यपान सेवन नगर्नुजस्ता स्वास्थ्यकर बानीले यस्ता समस्याबाट केही टाढा अवस्य गराउने हुन्छ। सोयाबिनमा उच्च मात्रामा फ्याटोस्ट्रोजेन तत्व पाउने भएकाले यसको सेवनले हर्मोनको सन्तुलनमा मद्दत गर्ने र ‘हटफ्लस’ हुनबाट जोगाउने जापानका विज्ञहरूको दाबी छ। त्यसैले सोयाबिन तथा प्रोटिनयुक्त खाना राम्रो मानिन्छ।
महिनावारी सुरु भएपछि उमेर पुगेपछि बन्द हुने निश्चित छ। महिनावारी सुक्यो भन्दैमा वा सुक्ने बेला आयो भन्दैमा आत्तिनुपर्ने केही छैन। आफूलाई स्वास्थ्य राख्न स्वास्थ्यकर बानी अपनाउनु पर्छ। यसका साथै आफूलाई समस्याहरू देखा परेपछि वा महिनावारी सुकेपछि स्त्रीरोग विशेषज्ञसँग परामर्श लिने तथा इस्ट्रोजेनको मात्रा परीक्षण गर्नु उपयुक्त हुन्छ। इस्ट्रोजेनको मात्रा निकै कम भएकाले समस्यामा रहेका महिलाले पनि चिन्ता गर्नुपर्ने अवस्था छैन। हाम्रो देशमा पनि विभिन्न इस्ट्रोजनका डेरिभेटिभ्स तथा इस्ट्रोजन भएका औषधिहरू उपलब्ध रहेकाले सजिलै उपचार सम्भव छ। तर इस्ट्रोजन स्टोराइडल हर्मोन हो, यसका फाइदा र बेफाइदाहरू छन्। विज्ञको परामर्श र अन्य आवश्यक परीक्षणहरू नगरी यसको सेवन गर्नु हँुदैन। इस्ट्रोजेन प्रयोग गरिरहेका महिलाहरूमा हर्मोनका अन्य असरहरू देखिन सक्ने भएकाले यस्ता महिलाले अनिवार्य नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ।
– लेखक प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन्। अन्नपूर्णपाेष्ट बाट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।
सभापति देउवाले बुधबार वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ । उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको बताएका छन् ।
महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको र पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति उचित नभएको उनले उल्लेख गरेका छन् ।
“महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ । हामीसँग अब बढी समय छैन । असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ”, विज्ञप्तिमा उल्लेख छ । त्यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको अवगत गराउँदै उहाँले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताएका छन् ।
सभापति देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, स्थानीय तहका पदाधिकारी तथा सदस्य, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य, विदेशस्थित जनसम्पर्क समितिका सदस्यलाई कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्न दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । उनले कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गरेका छन् ।
साथै उनले कोभिड–१९ को संक्रमणबाट निधन हुनुभएका सबैको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको रायअनुसार रहन/बस्न अनुरोध गर्दै सभापति देउवाले सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण अहिलेको अवस्था सृजना भएको आरोप समेत लगाएका छन् । राजधानीबाट
मकवानपुर । मकवानपुरमा बुुुधबारबाट सुुुुरु भएको कोरोना विरूद्धकाे भेरोसेल खोप १ हजार ४ सय ४७ जनालाई लगाईएको छ । जिल्लाको लागि आएको ६ हजार ५ सय डोज खोप मध्ये बुधबार उक्त सख्यामा खाेप लगाइएकाे जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे हाे ।
जिल्लाको बकैया गाउँपालिका बाहेक सबै स्थानीय तहले बुधबारबाट खोप लगाउने कार्यक्रम सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनका अनुसार ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका हेटौंडा उपमहानगरपालिका भित्रका ९ सय २३ जनाले खोप लगाएका छन् । बकैया गाँउपालिका बाहेक अरू ८ स्थानीय तहका ५ सय २४ जनाले समेत गरी १ हजार ४ सय ४७ जनाले चिनबाट प्राप्त भेराेसेल खाेपकाे पहिलो डोज लगाएका हुन् । बकैया गाउँपालिकाले भने आजबाट खोप लगाउने तयारी गरेको निरीक्षक घिमिरेले बताए ।
कुन स्थानीय तहलाई कति भेरोसेल खोप ?
जिल्लामा आएको ६ हजार ५ सय डोज मध्ये हेटौंडा उपमहानगरपालिको लागि २७ सय डोज पठाईएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
त्यसैगरी थाहा नगरपालिकालाई ६ सय ८५,मनहरी गाउँपालिकालाई ५ सय ३९, बकैया गाउँपालिकालाई ४ सय ८६, बामगती गाउँपालिकालाई ४ सय ३४,मकवानपुगढी गाउँपालिकालाई ३ सय ९३, भीमफेदी गाउँपालिकालाई ३ सय ९३, कैलाश गाउँपालिकालाई ३ सय ७८, राक्सिराङ गाउँपालिकालाई २ सय, इन्द्रसरोबर गाउँपालिकालाई १ सय ९२ डाेज खोप पठाईएको कार्यलयले जनाएको छ ।
यसअघि जिल्लामा भारतबाट आएको कोभि शिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधबार प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यलयलाई परिपत्र गर्दै पहिलो डोजकाे खोप लगाउन छुटेका पत्रकारहरुलाई खोपका लागि आग्रह गरेको हो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले जेठ २४ गते पत्रकारकाे लागि खाेपकाे व्यवस्था गरिदिन पत्र मार्फत अनुराेध गरेकाे थियाे । महासंघकाे पत्र प्राप्त भए पछी बागमती प्रदेशभित्र कार्यरत सञ्चारकर्मीलाई खोप लगाइदिने व्यवस्था मिलाइदिन सबै स्वास्थ्य कार्यालयलाइ सहजिकरणकाे लागि पत्र पठाइएकाे मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुषोतम सेढाइले बताए।
‘अग्रपंतिमा रहेर काम गरिरहेका धेरै सञ्चारकर्मीहरूले कोभिड विरुद्धको खोप लगाउन छुटेको गुनासो आएकाले खोप लगाउने व्यवस्था मिलाइदिनु आग्रह गर्दछु’, उनले भनेका छन्।
