मकवानपुर । मकवानपुरमा बुुुधबारबाट सुुुुरु भएको कोरोना विरूद्धकाे भेरोसेल खोप १ हजार ४ सय ४७ जनालाई लगाईएको छ । जिल्लाको लागि आएको ६ हजार ५ सय डोज खोप मध्ये बुधबार उक्त सख्यामा खाेप लगाइएकाे जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएकाे हाे ।
जिल्लाको बकैया गाउँपालिका बाहेक सबै स्थानीय तहले बुधबारबाट खोप लगाउने कार्यक्रम सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनका अनुसार ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका हेटौंडा उपमहानगरपालिका भित्रका ९ सय २३ जनाले खोप लगाएका छन् । बकैया गाँउपालिका बाहेक अरू ८ स्थानीय तहका ५ सय २४ जनाले समेत गरी १ हजार ४ सय ४७ जनाले चिनबाट प्राप्त भेराेसेल खाेपकाे पहिलो डोज लगाएका हुन् । बकैया गाउँपालिकाले भने आजबाट खोप लगाउने तयारी गरेको निरीक्षक घिमिरेले बताए ।
कुन स्थानीय तहलाई कति भेरोसेल खोप ?
जिल्लामा आएको ६ हजार ५ सय डोज मध्ये हेटौंडा उपमहानगरपालिको लागि २७ सय डोज पठाईएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
त्यसैगरी थाहा नगरपालिकालाई ६ सय ८५,मनहरी गाउँपालिकालाई ५ सय ३९, बकैया गाउँपालिकालाई ४ सय ८६, बामगती गाउँपालिकालाई ४ सय ३४,मकवानपुगढी गाउँपालिकालाई ३ सय ९३, भीमफेदी गाउँपालिकालाई ३ सय ९३, कैलाश गाउँपालिकालाई ३ सय ७८, राक्सिराङ गाउँपालिकालाई २ सय, इन्द्रसरोबर गाउँपालिकालाई १ सय ९२ डाेज खोप पठाईएको कार्यलयले जनाएको छ ।
यसअघि जिल्लामा भारतबाट आएको कोभि शिल्ड २१ हजार ४ सय ३ जनाले पहिलो डोज र ६ हजार २ सय ४१ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

