मकवानपुर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै अध्यक्ष पदबाट राजीनामा दिएका हुन ।
मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन् ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।
यस्तो छ मिश्रको वक्तव्यको पूर्णपाठ
विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा
स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।
हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु। तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु।
विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ।
मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।
पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निसङ्काेच क्षमा याचना गर्दछु। पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु। सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ।
नेपालको जय होस्!
रवीन्द्र मिश्र
विवेकशील साझा पार्टी
११ जेठ २०७९
विराेधकाे फरक शैलीः सरकारले हप्तैपिच्छे पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि पछि हेटौंडामा विरोध प्रदर्शन गरिदै । मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा फरक शैलीमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ , मुस्लिम ईत्तेहाद संघ लगायतका संगठनहरुले सडकको बीच भागमा मूल्यवृद्धि विरुद्ध दाउराकाे आगाेमा चिया बनाएर विरोध प्रदर्शन गरेका हुन् । तस्विरहरुः सहीखबर
मकवानपुर । सरकारले आर्थिक वर्ष २०७९।०८० काे लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सरकारले बजेटमार्फत स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने नीति तथा कार्यक्रमामा उल्लेख गरिएकाे छ । राष्ट्रपति भण्डारीले विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलाउन गरिने बताइन् । त्यस्तै सरकारले हाल सामुदायिक विद्यालयमा कक्षा ५ सम्म दिइदै आएको विद्यार्थी दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम परेका छन् । कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रमको प्राथमिकतामा छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधन प्रति टेबुल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सम्बोधनको सो प्रति टेबुल गरेका हुन् ।
यसै गरी बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको, ‘सम्माननीय राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०७९ साल जेठ १० गते मङ्गलवारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ’, भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
हेर्नुहाेस सरकारका नीति तथा कार्यक्रमकाे पूर्णपाठ
मकवानपुर । पछिल्लो समय सरकारले छोटो छोटो समय अवधिमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रदेश राजधानी हेटौंडामा दिनहु मुल्य वृद्धिको बिरोध प्रदर्शन भइरहेको छ ।
आज हेटौंडा बजारको मुख्य चोकमा विरोध कार्यक्रम गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघ, नेपाल मुस्लिम ईतेहाद संगठनको सयुक्त आयोजनामा हेटौंडामा विरोध प्रदशन गरिएको हो ।
विरोध प्रदर्शनीमा मुल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मुल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनी गरिएको थियो । प्रदर्शनका क्रममा सडकमै आगो बालेर ग्यांस खरिद गर्न नसकेको संकेत गराईएको थियो भने मोटरसाइकल डोर्याएर बिरोध जनाईएको थियो ।
सर्व साधारणको पहुँच नै पुग्न नसक्ने गरी भएको मुल्य वृद्धिको तिव्र विरोध आइरहेको छ । आजै मकवानपुरको भिमफेदीमा पनि विद्यार्थीहरुले मुल्य वृद्धिको विरोधनमा प्रदर्शन गरेका छन् ।



मकवानपुर । पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेको भन्दै हेटौंडा-९ मा बिरोध प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटीले सोमबार बिरोध प्रदर्शन गरेको हो । सोमबार साँझ हेटौंडा ९ स्थित गुम्बा चोकमा युवा तथा महिलाहरुको उपस्थितिमा विभिन्न नारासहितको पम्प्लेट सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा ग्यास, पेट्रोल, डिजेल, खानेतेल लगायतका बस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने, हरप्रकारले असफल रहेको परमादेशी सरकारले तुरुन्त राजिनामा दिनुपर्ने, जनताको ढाड सेक्ने काम बन्द गर्नुपर्ने तथा लिपुलेक, लिम्पियाधुरासहितको चुच्छे नक्सा जारी गर्नुपर्ने लगायतका माग गरिएको थियो ।
हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य नरेन्द्र भण्डारीले आग्रह गरे ।
राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटी अध्यक्ष बिबेक दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस्तै मूल्यवृद्धिको विरुद्धमा मंगलबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि राष्ट्रिय रुपमा एकसाथ बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
