मकवानपुर । माटो जोगाऔं अभियानका अभियन्ताहरुलाई हेटौडामा स्वागत गरिएको छ । शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघले अभियानलाई स्वागत गरेको हो ।
माटो जाेगानउकाे लागि गरिएकाे अभियानमा ३५ सय किलोमिटर दौड सुरु गरिएकाे छ । काठमाडौंबाट जेठ ३० गतेदेखि सुरु भएको दाैडका धावक नविन पुन मगरलगायतको टोलीलाई हेटौंडामा संघ अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत गरेका हुन् । स्वागत तथा अभियान सम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष गुप्ताले माटो जीवनको लागि अत्यन्त महत्वपूर्ण भएकोले अहिलेको पुस्ताको आवश्यकता पूर्तिसँगसँगै भावी पुस्ताको लागि समेत माटो जोगाउन पर्ने बताए ।
यसैगरी माटो जोगाऔं अभियानका अभियन्ताहरुको टोलीलाई प्राज्ञिक विद्यार्थी नेपाल र ईशा फाउण्डेशन नेपालका प्रतिनिधिहरुले समेत हेटौडामा स्वागत गरेका छन् । हेटौंडाको बुद्धचोकमा विभिन्न नाराहरु उद्घोष गर्दै स्वागत एवम् अभिनन्दन गरेको ती संस्थाले जानकारी दिएको छ ।
यस्तै असार ४ गते शनिबार विहान ८ बजे मकवानपुर उद्योग वाणिज्य संघको हलमा माटो जोगाऔं अभियान अन्तर्गत कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रम अघी बिहान ७ बजे पैदल तथा साईकल ¥याली आयोजना हुने बताइएकाे छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडाकाे रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण, काठमाडाैंले सुख्खायाममा लाग्ने डढेलो नियन्त्रणमा सहयोगकाे लागि रानी वन समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको हो।
वन समूहलाई डढेलो नियन्त्रणका लागि जाँदा लगाउने पोशाक, कोदालो, बन्चरो, पानीका बोतल, जुता, मोजा, सावेल, हेलमेट, टचलाईट, औषधी, प्याक पम्प, फेस मास्क लगायतका करिव ३ लाखको सामाग्री प्रदान गरिएको हो। प्राधिकरणले रानी सामुदायिक वन लगायत गोरख बहादुर गण, सुपारेटार ब्यारेक, बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, तनहुँ र बृहत जलाधार व्यवस्थापन केन्द्र, कास्कीलाई पनि डढेलो नियन्त्रण सामग्री प्रदान गरेको प्राधिकरणका शाखा अधिकृत गंगा सुवेदी भट्टराईले बताइन्।
समूहले प्राप्त भएका सामाग्रीहरुलार्ई कसरी प्रयोग गर्ने विषयमा विज्ञहरुलाई बोलाएर तालिम प्रदान गरिने वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । वर्षेनी लाग्ने डढेलोले वनको नोक्सान हुदै गएको छ । यस्ता सामाग्रीले वनमा लाग्ने डढेलो नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने रानी वन समूहले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा द ल्याभेण्डर बुटिक स्टुडियोले विधिवत रुपमा सञ्चालनमा आएकाे छ । नेपाली चलचित्र क्षेत्रको एक समयकी चर्चित अभिनेत्री बिपना थापाले उक्त स्टुडियोको विहीबार उद्घाटन गरी शुभारम्भ गरेकी हुन् ।
विवाहपछि भारतमा रहदैं आएकी थापाले भारत बस्दा आफूले प्रयोग गर्दै आएको ड्रेसको डिजाइनर प्रियंका बलामीले सञ्चालनमा ल्याएको यस बुटिक स्टुडियोको उद्घाटन गर्न हेटाैडा आएकाे बताइन् । ‘आफुले प्रयोग भएका सबै ड्रेसहरु बलामीले बनाएको लगाइ रहेकाे छु’ थापाले भनिन् ‘हामी उता सँगै बसोबास गरेकोले पनि उनको व्यवसायमा थप उर्जा मिलोस भनी उनकाे बुटिक उद्घाटन गर्न हेटौंडा आएको हुँ ।’ थापाले एकचोटी दिदीबहिनीहरुले अवलोकन गरिदिन आग्रह समेत गरेकी छिन् ।
हेटौंडामा नै पहिलो पटक यस्ताे बुटिक स्टुडियो सञ्चालनमा आएको बुटिक संचालक बलामीले बताइन् । ७ वर्ष भारतमा ड्रेस डिजाइनर काम गर्दै आएकी हेटौंडाकी बलामीले हेटौंडा ४ हुप्राचौर खेलकुद विकास समिति अगाडी उक्त बुटिक संचालनमा ल्याएकी हुन् । बुटिकमा अर्डर अनुसार साडी, कर्ता, लेहेङ्गा, गाउन, वाइडल ड्रेस, इम्बोड्रिइ ड्रेस, व्याग, जुत्ता गहना लगायतका सामाग्रीहरु पाइने सञ्चालक बलामीले बताइन् ।
सिकेको सीपलाई आफ्नै ठाउँमा दिदीबहिनीलाई सहज र नयाँ ड्रेस डिजाइन प्रयोग गर्न पाउनेछ भन्ने लागेर २५ लाख लगानीमा बुटिक स्टुडियो सञ्चालनमा ल्याएको उनले बताइन् । शुभारम्भदेखी एक महिना सम्म सामान खरिदमा १५ प्रतिशत छुटको व्यवस्था समेत रहेको बताइएकाे छ । अर्डर अनुसार लेडिज तथा जेन्सका कपडा विक्री गरिने उनले बताइन् ।
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुर प्रमुखमा ललित बहादुर घलान निर्वाचित भएका छन् । मकवानपुरका १० पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष २० जना मतदाता रहेकाेमा घलानले १७ मत प्राप्त गरी निर्विवाचित भएका हुन् ।
जिसस उपप्रमुखमा उम्मेदवारको मनाेनयन दर्ता गर्ने दिनमा नेपाली कांग्रेसका सानुकाजी लुईटेलकाे मात्र मनाेनयन परेकाेले उनी निर्विरोध निर्वाचित भएका थिए । पाँच दलीय गठबन्धनको बहुमत भएता पनि निर्वाचन प्रक्रियाबाट जिल्ला समन्वय समितिका पदाधिकारी निर्वाचित भएका हुन ।
जिसस प्रमुखमा निर्वाचित घलान गठबन्धन दलबाट उम्मेदवार थिए । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका घलान स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हेटौडा उपमहानगरपालिका वडा नं. १२ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।यसैगरी नेकपा एमालेबाट जिसस प्रमुखमा उम्मेदवारी दिएका इन्द्रसराेबर गाउँपालिकाका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन् ।
९ सदस्यीय जिससमा दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । उनी निर्विराेध निर्वाचित भएकी हुन् ।
जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, सदस्य तर्फमा खड्ग बहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।
मकवानपुर । विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीयको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएसँगै फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै देशको टुङ्गो लागेको छ ।
कतार विश्वकप २०२२ आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।
फिफाले विश्वकप समूह विभाजन ‘ड्र’ यस अघि नै सार्वजनिक गरिसकेको छ । फिफाले सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ‘ड्र’ गरेको हो ।
समूह ‘ए’ मा कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर, समूह ‘बी’ मा इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स रहेका छन् ।
यस्तै समूह ‘सी’मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेयिबा, समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया, समूह ‘ई’ स्पेन, जर्मनी, जापान, कोस्टारिकाकाले विश्वकपमा सहभागिता जनाउँने छन् ।
यसैगरी समूह ‘एफ’ बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा, समूह ‘जी’ ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन र समूह ‘एच’ मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना रहेका छन् ।
