मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडाकाे रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण, काठमाडाैंले सुख्खायाममा लाग्ने डढेलो नियन्त्रणमा सहयोगकाे लागि रानी वन समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको हो।
वन समूहलाई डढेलो नियन्त्रणका लागि जाँदा लगाउने पोशाक, कोदालो, बन्चरो, पानीका बोतल, जुता, मोजा, सावेल, हेलमेट, टचलाईट, औषधी, प्याक पम्प, फेस मास्क लगायतका करिव ३ लाखको सामाग्री प्रदान गरिएको हो। प्राधिकरणले रानी सामुदायिक वन लगायत गोरख बहादुर गण, सुपारेटार ब्यारेक, बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, तनहुँ र बृहत जलाधार व्यवस्थापन केन्द्र, कास्कीलाई पनि डढेलो नियन्त्रण सामग्री प्रदान गरेको प्राधिकरणका शाखा अधिकृत गंगा सुवेदी भट्टराईले बताइन्।
समूहले प्राप्त भएका सामाग्रीहरुलार्ई कसरी प्रयोग गर्ने विषयमा विज्ञहरुलाई बोलाएर तालिम प्रदान गरिने वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । वर्षेनी लाग्ने डढेलोले वनको नोक्सान हुदै गएको छ । यस्ता सामाग्रीले वनमा लाग्ने डढेलो नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने रानी वन समूहले जनाएको छ ।

