मकवानपुर । चौतर्फी बिरोधका बाबजुद बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गरेको छ ।
प्रदेश सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गरेको हो । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गरेका हुन् । गणतन्त्र दिवसका अवसरमा निर्णय भए अनुसार उनीहरुलाई सम्मान गरिएको हो ।
प्रदेश सरकारले सुरक्षातर्फ ‘शान्तिमाला’ पदक मार्फत नेपाल प्रहरीका ३ जनालाई, ‘प्रदेश रक्षक’ पदक मार्फत सशस्त्र प्रहरी बलका १ जनालाई, ‘शान्तिदीप’ पदक मार्फत नेपाली सेनाका १ जनालाई, शिक्षातर्फ ‘प्रदेश दीप’ पदक मार्फत ४ जनालाई, स्वास्थ्यतर्फ ‘मृत्युञ्जय’ पदक मार्फत २ जनालाई, खेलकूदतर्फ ‘प्रदेश शान’ पदक मार्फत दुईजनालाई सम्मान गरिएको छ ।
त्यस्तै सरकारले कृषितर्फ ‘कृषि किरण’ पदक मार्फत २ वटा कृषि फर्म, सहकारीतर्फ ‘सहकारी प्रवर्धन’ पदक मार्फत २ वटा सहकारीलाई सम्मान गरेको हो । प्रदेश सरकारले, उद्योगतर्फ ‘उद्यमशीलता’ पदक मार्फत ३ जनालाई, पर्यटनतर्फ ‘प्रदेश द्रष्टा’ पदक मार्फत एकजनालाई, वातावरणतर्फ ‘वातावरण संरक्षण’ पदक मार्फत १ जनालाई, पूर्वाधार विकासतर्फ ‘विकास सेवी’ पदक मार्फत एकजनालाई, सूचना तथा सञ्चारतर्फ ‘प्रदेश दूत’ पदक मार्फत तीनजनालाई, विज्ञानतर्फ ‘अन्वेषण’ पदक मार्फत १ जनालाई सम्मान गरिएको हो ।
यसैगरी प्रविधितर्फ ‘नव प्रवर्तन’ पदक मार्फत दुईजनालाई, भाषातर्फ ‘सुभाषिक’ पदक मार्फत एकजनालाई, कलातर्फ ‘कलाकिर्ति’ पदक मार्फत तीनजनालाई, संस्कृतितर्फ ‘संस्कृतिदीप’ पदक मार्फत एकजनालाई , साहित्यतर्फ ‘प्रदेश द्रष्टा’ पदक मार्फत एकजनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ ‘जनसेवा’ पदक मार्फत एकजनालाई, विपद् व्यवस्थापनतर्फ ‘विपदसेवी’ पदक मार्फत २ नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ ‘प्रदेश परोपकार’ पदक मार्फत छजनालाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख शर्मा, प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र सभामुख सानुकुमार श्रेष्ठले पदकबाट सम्मान गरिएको हो । प्रदेश सरकारले बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि आजै सम्मान गरिएको छ ।
मकवानपुर । बागमती प्रदेशमा बुधबार बसेको प्रदेश सभा बैठकमा श्रीलंकाको चर्चा र चासो राख्दै नेपाललाई सोही हविगत हुनबाट जोगाउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।
चरम आर्थिक मन्दीको कारण श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि त्यहाँ आर्थिक शंकटकाल घोषणा गरिएको छ । ७३ वर्षीय गोटाबय देश छाडेर सैन्य विमानबाट माल्दिभ्सको राजधानी माले पुगेका छन् । यता नेपालमा पछिल्लो समय बढेको मुल्यवृद्धिलाई नियन्त्रणमा लिन सरकारले कुनै कदम नचालेको प्रति प्रदेश सांसदहरुले ध्यानाकर्षण जनाएका हुन् । प्रदेश सभाको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाललाई आर्थिक शंकटबाट उठाउन समयमै संघीयता खारेजी गर्नु पर्ने माग गरेका हुन् ।
सांसद रिता माझीले नेपालीहरु जनताहरु श्रीलंकाली जनता हुने अवस्थामा पुगेको भन्दै आर्थिक दर्दरको अवस्थाबाट माथि उठ्ने योजना आवश्यक भएको बताइन् । “सबै राजनीतिक दलले ध्यान दिनु प¥यो संघीयताको नाममा प्रदेशलाई जोगाई राख्दा खरबौं बजेट सेवा सुविधाको लागि खर्च हुनुभन्दा स्थानीय तहमा विकास गर्न र संघीय सरकारलाई बलियो बनाउ” उनले भनिन् । नेपाली जनतालाई सुख, सुविधा र विकास दिनका लागि संघीयता खारेज गर्नुपर्ने उनले बताइन् । “स्थानीय सरकारलाई बलियो बनाएर, केन्द्रमा एउटा बलियो सरकार बनाएर यो संघीयता खारेज गरेर देशलाई आर्थिक शंकटबाट जोगाउन सबै राजनीतिक दल र पार्टीलाई अनुरोछ” उनले भनिन् ।
यसैगरी सांसद रिना गुरुङले भनिन् “नेपाल श्रीलंकाकै बाटोमा छ, त्यहाँको शंकट नेपालमा आएमा नेपालको अभिभावकत्व कसले लिने ? संघीयताको नाममा देशलाई लुटीरहेने हो भने भोली शंकट आउन सक्छ, त्यसैले संघीयता खारेज गरौ ।” प्रदेश सभामा अर्का सांसद रमेश पौडेलले श्रीलंकाका राष्ट्रपतिले आफ्नो देश छाडेर माल्दिभ्स पुग्नु पेरको खबर नेपालीले पनि रुचिपूर्वक पढ्नु पर्ने बताए । मन्त्रीहरु कोभिडमा, लडाकु शिविरमा घोटला गर्छन, महङगीको उपहार दिएर आफ्नो दुनो सझ्याउँछन्, उद्योगधन्दालाई परिवारको हितमा प्रयोग गर्ने गर्छन, हामी नेपालीले पनि श्रीलंकाको दिन भोग्नुपर्ला महङ्गी नियन्त्रण गर्नप¥यो” पौडेलले भने ।
यसैगरी सांसद शान्तिप्रसाद पौडेलले पनि नेपालमा बढ्दो महड्डीको बारेमा प्रश्न उठाएका थिए । “किसानलाई मल, विद्यार्थीलाई किताबको व्यवस्थापन गर्न नसक्नुको कारण के हो ?” पौडेलले प्रश्न गरे । उनले आर्थिक वर्षको अन्त्यमा सरकारी बजेटमा कर्मचारीको बार्गेनिङ चलिरहेको बताए ।
बैठकको सुन्य सभामा बोल्दै सांसद प्रदीपकुमार कटुवाल र नरोत्तम बैद्यले किसानलाई मल र विद्यार्थीलाई पुस्तक नभएको बेलामा सरकार हतियार किन्न हतारिएको प्रति ध्यानाकर्षण जनाएका थिए । “बोरामा पैसा लिए जाँदा झोलामा आलु लिएर आउनु पर्ने अवस्था रहेको बेलामा सरकारले हतियार किन्नको लागि हतार किन गरेको” सांसद बैद्यले भने । सांसद कुटुवालले जनता महङ्गीको मारमा रहेको बेलामा सरकारले हातहतियार किन्ने योजना बनाएको प्रति प्रदेश सरकारमार्फत केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका थिए ।
यसैगरी सुन्य समयमा बोल्दौ सांसद जुनेलीमाया श्रेष्ठले असार १८ र १९ गते राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितमा सहभागी हुन हेटौंडा आएकी विद्यार्थी माथि वडा अध्यक्षले गरेको यौन दुर्व्यवहारबाट पीडितले न्याय पाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराइकी थिइन् । यसैगरी सांसद देबकी श्रेष्ठले सरकारलाई महङ्गीको भान नभएको तर जनतालाई थेग्नै समस्या भएको बताइन् ।
सांसद रमा आले मगरले काठमाडौ क्षेत्र १० को दक्षिणकाली नगरपालिका ७ को सुख्खा पहिरो गएकोले त्यस स्थानमा प्रदेश सरकारको व्यवस्थापनको लागि ध्यानाकर्षण गराएकी थिइन् । यसैगरी सांसद रामलाल महतोले मानव र वन्यजन्तु विचको द्वन्द्वको व्यवस्थापन गर्नको लागि एकै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रीत भएको प्रति सवाल गरेका थिए ।
विभिन्न अध्यादेश पारित
प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेशहरु सर्वसम्मतले पारित गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेश सभाबाट मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रस्तुत गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तहरुमा व्यवस्था गर्न बनेको अध्यादेश, र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पारित भएकाे छ ।
यसैगरी सभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रस्तुत गरेको विभुषण सिफारिस तथा सम्मान पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पारित भएकाे छ । स्वास्थ्य राज्य मन्त्री कल्पना नेपालीले प्रस्तुत गरेको मनद भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६७ लाई शंसोधन गर्न बनेको अध्यादेश, युवा तथा खेलकुद रत्नप्रसाद ढकालको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले प्रस्तुत गरेको प्रदेश युवा परिषद ऐन २०७६ लाई शंसोधन गर्न बनेको अध्यादेश सर्वसम्मतीले पारित भएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
आजकाे बैठकसँगै प्रदेश सभाको दशौँ अधिवेशनको बैठक अर्को सूचना जारी नभएसम्मको लागि सभामुख श्रेष्ठले स्थगित गरेका छन् ।
मकवानपुर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मकवानपुरमा समेत आज भानु बिशेष कार्यक्रम हुदैछ । मकवानपुरमा रहेका साहित्यिक संघ सस्थ र बिधालयले भानुको सम्झनामा कार्यक्रम गर्दैछन् ।
सरल नेपाली भाषामा लेखिएको भावानुवादसहितको ‘रामायण’बाट भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको अयोध्याका राजा रामको जीवनी रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेको बताइन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए । उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ भानुभक्तको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानुभक्त भन्दाअघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँयुग निर्माण गरेको छ । उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।
गुरु पूर्णिमा मनाइदै
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ-
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
आजै व्यास जयन्ती पनि
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ –
अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।
सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ ।
आगामी ४ मंसिरमा निर्वाचन तयारी
‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नु भएको छ, ज्योतिषलाई हेराएरै मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले राजधानीसँग भन्यो ।
यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगामी २ मंसिरको मिति प्रस्ताव गरेको छ ।
आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले कानुनी व्यवस्थाअनुसार नै सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको जानकारी दिए । ‘आयोगले कानुनी व्यवस्थाअनुसार नै सरकारसमक्ष प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति प्रस्ताव गरेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने, ‘एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी आयोगका तर्फबाट मिति प्रस्ताव गरिएको छ, मिति सरकारकातर्फबाट तय हुने विषय हो ।’
प्रमुख आयुक्त थपलियाले आयोगलाई निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्नेतर्फसमेत प्रधानमन्त्रीलाई आयोगका तर्फबाट ध्यानाकर्षण गराइसकिएको जानकारी दिए ।
आयोगले निर्वाचनको मिति प्रस्ताव गरेसँगै मन्त्रिपरिषद्बाट मिति तोक्न सरकारलाई बाटो खुलिसकेको छ । आयोगले यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणाम आउन ७४ दिन लागेको भन्दै यसपटक ५८ दिनभित्रैमा सबै परिणाम दिनेसमेत बताएको छ । आयोगले सरकारसमक्ष गरेको प्रस्तावमा २ मंसिरमा निर्वाचन भए पुस मसान्तभित्रै सबै परिमाण आउने भनेको छ ।
आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी जम्मा ७ अर्व ८० करोड खर्च भएको थियो ।
हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धि, मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदानकेन्द्रहरूको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रास्फीतिसमेतका कारणबाट खर्च बढ्ने आयोगले जनाएको छ । राजधानी दैनिकबाट
मकवानपुर । मतदाता नामावली अनलाइन प्रविधिबाटै दर्ता गराउन सकिने भएको छ । निर्वाचन आयोगले बुधबारबाट अनलाइनबाट फाराम भरी मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले दर्ता गर्न सक्ने जनाएकाे छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता नामावली दर्ता गर्ने प्रणालीको विकास गरेर अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ । हाललाई याे सेवाकाे सुविधा नमुनाको रुपमा काठमाडाैं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट लिन सकिने पौडेलले बताए ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगराएका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भर्न सकिने छ । सो पश्चात् अनलाइन फाराममा उल्लिखित सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगले जनाएको छ ।

