मकवानपुर । चौतर्फी बिरोधका बाबजुद बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पदक वितरण गरेको छ ।
प्रदेश सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गरेको हो । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गरेका हुन् । गणतन्त्र दिवसका अवसरमा निर्णय भए अनुसार उनीहरुलाई सम्मान गरिएको हो ।
प्रदेश सरकारले सुरक्षातर्फ ‘शान्तिमाला’ पदक मार्फत नेपाल प्रहरीका ३ जनालाई, ‘प्रदेश रक्षक’ पदक मार्फत सशस्त्र प्रहरी बलका १ जनालाई, ‘शान्तिदीप’ पदक मार्फत नेपाली सेनाका १ जनालाई, शिक्षातर्फ ‘प्रदेश दीप’ पदक मार्फत ४ जनालाई, स्वास्थ्यतर्फ ‘मृत्युञ्जय’ पदक मार्फत २ जनालाई, खेलकूदतर्फ ‘प्रदेश शान’ पदक मार्फत दुईजनालाई सम्मान गरिएको छ ।
त्यस्तै सरकारले कृषितर्फ ‘कृषि किरण’ पदक मार्फत २ वटा कृषि फर्म, सहकारीतर्फ ‘सहकारी प्रवर्धन’ पदक मार्फत २ वटा सहकारीलाई सम्मान गरेको हो । प्रदेश सरकारले, उद्योगतर्फ ‘उद्यमशीलता’ पदक मार्फत ३ जनालाई, पर्यटनतर्फ ‘प्रदेश द्रष्टा’ पदक मार्फत एकजनालाई, वातावरणतर्फ ‘वातावरण संरक्षण’ पदक मार्फत १ जनालाई, पूर्वाधार विकासतर्फ ‘विकास सेवी’ पदक मार्फत एकजनालाई, सूचना तथा सञ्चारतर्फ ‘प्रदेश दूत’ पदक मार्फत तीनजनालाई, विज्ञानतर्फ ‘अन्वेषण’ पदक मार्फत १ जनालाई सम्मान गरिएको हो ।
यसैगरी प्रविधितर्फ ‘नव प्रवर्तन’ पदक मार्फत दुईजनालाई, भाषातर्फ ‘सुभाषिक’ पदक मार्फत एकजनालाई, कलातर्फ ‘कलाकिर्ति’ पदक मार्फत तीनजनालाई, संस्कृतितर्फ ‘संस्कृतिदीप’ पदक मार्फत एकजनालाई , साहित्यतर्फ ‘प्रदेश द्रष्टा’ पदक मार्फत एकजनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ ‘जनसेवा’ पदक मार्फत एकजनालाई, विपद् व्यवस्थापनतर्फ ‘विपदसेवी’ पदक मार्फत २ नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ ‘प्रदेश परोपकार’ पदक मार्फत छजनालाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख शर्मा, प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र सभामुख सानुकुमार श्रेष्ठले पदकबाट सम्मान गरिएको हो । प्रदेश सरकारले बिभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पनि आजै सम्मान गरिएको छ ।

