मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुखकाे अर्धकदको प्रतिमा अनावरण गरिएको छ । क्याम्पस संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा विहीबार अनावरण गरिएको छ ।
क्याम्पस आल्मुनाई एसोसिएसनको अग्रसरतामा संस्थापक प्रमुख श्रेष्ठको अर्धकद प्रतिमा मकवानपुरका मूर्तिकार लक्ष्मण भुजेलले तयार गरेका हुन् । बिहीबार बिहान श्रेष्ठको प्रतिमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्तरुपमा अनावरण गरेका हुन् । श्रेष्ठकाे समयमा क्याम्पसकाे लागि उल्लेखनीय योगदान गर्नुभएका श्रेष्ठ सरको सम्मानमा प्रतिमा निर्माण गरिएको मकवानपुर क्याम्पस एल्मुनाईका उपाध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
२०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएको मकवानपुर बहुमुखी क्याम्पसले २०३८ सालदेखि पठनपाठन सुरु गरेको हो । क्याम्पस सञ्चालन गर्ने तयारी भए पनि दक्ष जनशक्तिको अभाव रहेकाे समयमा मुकुन्द दास श्रेष्ठ त्रिचन्द्र क्याम्पसबाट काजमा मकवानपुर क्याम्पसमा आएका थिए । श्रेष्ठले स्थापना कालदेखि २०४५ माघ १० गतेसम्म क्याम्पस प्रमुखकाे जिम्मेवारीमा रहेका थिए ।
“क्याम्पस स्थापना भए पछि जनशक्तिको अभावमा हुँदा त्रिचन्द्र क्याम्पसमा स्थायी जागिरे रहेका श्रेष्ठ हेटौंडा काजमा आउनुभयाे”, मकवानपुर क्याम्पसको स्थापना कालदेखि कार्यरत सत्यनारायण सिलवाल भने, “उहाँ मकवानपुर क्याम्पसको जग बसालेर फर्कनु भयो ।’
२०७२ सालको भूकम्पमा परी निधन भएका श्रेष्ठको ४ छोरी र १ छोरा छन् । मकवानपुर क्याम्पसका पूर्व विद्यार्थीहरुको संगठनले संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको प्रतिमा बनाउन अग्रसरता लिएको हो । श्रेष्ठको प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोेग गरेको छ भने क्याम्पसले ५५ हजार रुपैयाँ, मकवानपुर बहुमुखी एल्मुनाईका अध्यक्ष केशवलाल श्रेष्ठले ५४ हजार रुपैयाँ, क्याम्पसका प्राध्यापकहरुले ३५ हजार रुपैयाँ सहयोग गरेकाे बताइएकाे छ ।

