मकवानपुर । मतदाता नामावली अनलाइन प्रविधिबाटै दर्ता गराउन सकिने भएको छ । निर्वाचन आयोगले बुधबारबाट अनलाइनबाट फाराम भरी मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले दर्ता गर्न सक्ने जनाएकाे छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले वेवमा आधारित मतदाता नामावली दर्ता गर्ने प्रणालीको विकास गरेर अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ । हाललाई याे सेवाकाे सुविधा नमुनाको रुपमा काठमाडाैं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट लिन सकिने पौडेलले बताए ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगराएका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भर्न सकिने छ । सो पश्चात् अनलाइन फाराममा उल्लिखित सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगले जनाएको छ ।


