मकवानपुर । गायक जीवन शर्माको गायन प्रस्तुति रहेकाे एकल साँझ कार्यक्रम आज बुधबार हेटौँडामा आयोजना हुने भएकाे छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा जनवादी गायक शर्माका गायन प्रस्तुति हेटौंडा–४ मा रहेको रोयल पार्टी प्यालेसमा हुने भएकाे हाे ।
चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति हो । २०३६ साल पश्चात नेपालका गाउँगाउँमा पुगेर गीतमार्फत् जनताहरूलाई सुसूचित र राजनीतिक रुपमा सचेत बनाउन अनवरत लागि परेका शर्माका हालसम्म २ हजारभन्दा बढी गीत रेकर्ड छन् । शर्माका ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको…’, ‘झरनाको चिसो पानी….’, ‘चाहिँदैन मलाई सिसाको महल…’ लगायत गीतहरू आमनागरिकको मनमा बस्न सफल भएका छन् ।
कार्यक्रममा प्रवेशका लागि एक सय (विद्यार्थीका लागि), तीन सय र पाँच सय दरका टिकटहरूको व्यवस्था गरिएको प्रगतिशील लेखक सङ्घ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए। कार्यक्रम अपरान्ह ४ बजे हुने बताइएकाे छ ।
शर्मा बासुदेव रिजाल स्मृति साहित्य सम्मानबाट सम्मानित हुदैं
जनवादी गायक शर्मा बासुदेव रिजाल स्मृति साहित्य सम्मानबाट सम्मानित हुने भएका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा बुधबार मकवानपुरगढी गाउँपालिकामा शर्मालाई नगद १५ हजार नगद सहित सम्मान गरिने भएको छ ।
बासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरका अध्यक्ष आरसी रिजालले प्रतिष्ठानको आयोजनामा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यामिक विद्यालयमा बिहान ११ बजे आयोजना हुने साहित्यिक कार्यक्रममा शर्मालाई सम्मान गर्न लागिएको जानकारी दिए ।
यसैगरी प्रतिष्ठानले बासुदेव भानु स्मृति साहित्य सम्मान छन्दकवि ठाकुर शर्मालाई प्रदान गर्ने भएको छ । शर्मालाई नगद १५ हजार रुपैयाँ सहित उक्त सम्मानबाट सम्मान गर्न लागिएकाे रिजालले बताए ।
साहित्यिक कार्यक्रमकाे अवसरमा गाउँपालिका स्तरिय मावि तहका विद्यार्थी बीच कविता प्रतियोगिता समेत आयोजना गरिने प्रतिष्ठानकी सदस्य अनिता न्यौपानेले जानकारी दिइन् । प्रतिष्ठानले विद्यालयमा आदिकविको प्रतिमा स्थापना गरेर हरेक वर्ष भानु जयन्तीमा साहित्यक कार्यक्रम आयोजना गर्दै आएको उनले बताईन् ।
