निर्वाचन आयोगले ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै ६ असोजदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको ‘अनुमति नलिई कुनै पनि कर्मचारी सरुवा नगर्न र नगराउन’ सरकारलाई निर्देशन दिएको हो । ‘जथाभावी कर्मचारी सरुवा गर्दा समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकूल प्रभाव पर्ने’ उसले जनाएको छ ।
विज्ञप्तिमा ‘५ असोजसम्म सरुवा भइसकेका कर्मचारीका हकमा भने तत्काल रमाना दिई ९ असोजसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिइएको छ ।
‘२०७९ मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज ६ गतेदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिन्छ ।’
आयोगले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत नेपाल सरकार, सातै प्रदेश सरकार र ७ सय ५३ वटै स्थानीय सरकारसहित सबै सार्वजनिक निकाय’लाई यस्तो निर्देशन दिएको हो । समाचार राजधानी दैनिकबाट
मकवानपुर । निर्वाचन आयोगले आम चुनाव २०७९ काे लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनकाे लागि आयाेगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हाे ।
निर्वाचन गराउन प्रत्येक जिल्लामा १ जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा १ जना निर्वाचन अधिकृत नियुक्त गर्ने कानुनी व्यवस्थाअनुसार असाेज ११ गतेदेखि लागू हुने गरी नियुक्ति गरिएकाे हाे । न्याय परिषद्को सिफारिसमा ७७ वटै जिल्लाका जिल्ला न्यायाधीशलाई त्यही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । मुख्य निर्वाचन अधिकृतले आफ्नाे जिल्लाकाे निर्वाचन क्षेत्रकाे निर्वाचन अधिकृतकाे समेत कार्य गर्ने व्यवस्था रहेकाे छ । यस्तै न्याय सेवा आयोगको सिफारिसमा ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
मकवानपुर । जनता समाजवादी (जसपा) नेपाल जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा सोम बहादुर घलान चयन भएका छन् । बुधबार हेटौंडामा भएको पार्टीको जिल्ला पुनर्गठन घोषणा कार्यक्रमले घलानकाे अध्यक्षतामा २१ २१ सदस्यीय जिल्ला समिति गठन समिति गठन गरेकाे हाे ।
समितिको उपाध्यक्षहरुमा योग बहादुर ब्लोन, दीपक सिन्तान, देव राज स्याङ्तन, सचिवमा सुबोध घलान, सह–सचिवहरुमा पर्वत स्याङ्बो, ग्रबे्रल च्योबाङ र कोषाध्यक्षमा रिता सार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा वीरेन्द्र गोले, सन्त लोप्चन, मान बहादुर माझी, सुजन तामाङ, हर्क प्रजा, जेम्स प्रजा, राजकुमार घिमिरे, जित मान सिं वाईबा, सीता तामाङ, रन्जु गोम्जा, राधिका सिन्तान र जुरे बहादुर घिसिङ चयन भएका छन् ।
मकवानपुर । हेटौडामा विहीबारबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने भएकाे छ । चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ असोज ६ गते विहीबारबाट हेटौंडामा सुरु हुने भएको हाे । आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हाे ।
असोज ९ गते शनिबारसम्म हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक मैदान) सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ९ वटा र पुरुषतर्फ १२ टिमले सहभागी हुने आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फको विजेता र उपविजेताले क्रमशः नगद ५० र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने टिमले पाँच/पाँच हजार रुपैयाF नगद प्राप्त गर्ने छन् ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वर्षेनी प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियाेगिता सञ्चालनकाे लागि उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको महासचिव सिटौलाले जानकारी दिए केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने छ ।
यस्तै प्रतिष्ठानले असोज १० गतेबाट दोस्रो संस्करणको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएकाे छ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने महासचिव सिटौलाले जानकारी दिंए ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको संयोजक ईन्द्रप्रसाद सञ्जेल रहेका छन् भने उपमेयर कप भलिबल प्रतियोगिताको संयोजकमा राजु घले रहेकाे प्रतिष्ठान अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

