मकवानपुर । निर्वाचन आयोगले आम चुनाव २०७९ काे लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनकाे लागि आयाेगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हाे ।
निर्वाचन गराउन प्रत्येक जिल्लामा १ जना निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा १ जना निर्वाचन अधिकृत नियुक्त गर्ने कानुनी व्यवस्थाअनुसार असाेज ११ गतेदेखि लागू हुने गरी नियुक्ति गरिएकाे हाे । न्याय परिषद्को सिफारिसमा ७७ वटै जिल्लाका जिल्ला न्यायाधीशलाई त्यही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ । मुख्य निर्वाचन अधिकृतले आफ्नाे जिल्लाकाे निर्वाचन क्षेत्रकाे निर्वाचन अधिकृतकाे समेत कार्य गर्ने व्यवस्था रहेकाे छ । यस्तै न्याय सेवा आयोगको सिफारिसमा ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

