मकवानपुर । हेटौडामा विहीबारबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने भएकाे छ । चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ असोज ६ गते विहीबारबाट हेटौंडामा सुरु हुने भएको हाे । आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हाे ।
असोज ९ गते शनिबारसम्म हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक मैदान) सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ९ वटा र पुरुषतर्फ १२ टिमले सहभागी हुने आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फको विजेता र उपविजेताले क्रमशः नगद ५० र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने टिमले पाँच/पाँच हजार रुपैयाF नगद प्राप्त गर्ने छन् ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वर्षेनी प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियाेगिता सञ्चालनकाे लागि उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको महासचिव सिटौलाले जानकारी दिए केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने छ ।
यस्तै प्रतिष्ठानले असोज १० गतेबाट दोस्रो संस्करणको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएकाे छ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने महासचिव सिटौलाले जानकारी दिंए ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको संयोजक ईन्द्रप्रसाद सञ्जेल रहेका छन् भने उपमेयर कप भलिबल प्रतियोगिताको संयोजकमा राजु घले रहेकाे प्रतिष्ठान अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

