मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडा क्षेत्रमा आइतबार बाघ देखा परेकाे थियाे । आइतबार २ वटा डमरुसहित स्थानीयले बाघ देखेका थिए । आइतबार नै स्थानीयकाे २ वटा बाख्रा खाएको बाघ सोमबार पनि त्यस क्षेत्रमा देखिए पछी प्रहरीलाई खबर गरेका थिए ।
साेमबार समेत देखा परेको बाघको खोजी कार्य थालिएको छ । मंगलबारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला वन कार्यालयको संयुक्त टोलीले भैरव डाँडा क्षेत्रमा बाघको खोजी सुरु गरेको हो । यसैगरी भैरवडाँडाकाे वन क्षेत्रमा बाघ समात्न स्वचालित ट्रयापिङ क्यामेरा जडान गरिएको छ। बुधबार डिभिजन वन कार्यालय हेटौंडा र हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले भैरवडाँडास्थित वन क्षेत्रमा चारवटा ट्रयापिङ क्यामेरा जडान गरेको हो।
‘हामीले जडान गरेको क्यामेरा दुई दिनपश्चात् हेर्नेछौं। त्यसक्षेत्रमा बाघ भए क्यामेरामा देखिनेछ’ वडाअध्यक्ष सविन न्यौपानेले भने। क्यामेराले त्यसक्षेत्रको गतिविधि सूक्ष्म रूपमा कैद गर्ने र बाघको आक्रमणबाट स्थानीयलाई जोगाउन आवश्यक पहल गर्न सहज हुने न्यौपानेले बताए।
आइतबार बिहान साढे ११ बजे स्थानीयकाे एउटा बाख्रा र एउटा खसी खाएकाे बाघ सोमबार साँझ पनि भैरवडाँडा क्षेत्रमा देखिएकाले सोही स्थानमा क्यामेरा जडान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईले बताए।
मंगलबारबाट खाेजी कार्य गरेकाेमा हालसम्म बाघ फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । जंगल बाक्लो रहेकोले बाघ कहिँकतै गएर बसेको हुन सक्ने भएकोले खोजीकार्यलाई तिब्रता दिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सो क्षेत्रमा बाघ देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले थाहा फोटो प्रर्दशनी गर्ने भएको छ । पर्यटन प्रर्वद्धनका लागि थाहा नगरपालिकाले काठमाडौंको बसन्तपुरको कालभैरव डवलीमा थाहा ३ दिन फोटो प्रर्दशनी गर्ने भएकाे हाे । थाहा फाेटाे प्रदर्शनी कार्तिक १८, १९ र २० गते आयोजना गर्न लागिएको थाहा नगरपालिकाले जनाएकाे छ ।
पर्यटन प्रर्वद्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकको लागि प्रेरित गर्ने उद्देश्य सहित ३ दिने फोटो प्रर्दशन आयोजना गर्न लागिएको थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जिवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिने नगरप्रमुख बिष्टले बताए ।
फोटो प्रर्दशनी काठमाडौं उपत्यकाको विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर आयोजन गरिएको हो । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिने छ । यसैगरी तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिने भएकाे छ । कार्यक्रम स्थलमा सूचना केन्द्र समेत स्थापना गरिने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी प्रर्दशनीमा राखिएका विभिन्न फोटोहरुको बारेमा जानकारी दिन स्वयम्सेवकहरु समेत ब्यवस्था गरिने छ । प्रर्दशनी प्रत्येक दिन विहान १० बजेदेखि साँझ ४ बजेसम्म हुने बताइएकाे छ । कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले कार्तिक १८ गते विहान साँढे ११ बजे गर्ने भएका छन् ।
थाहा फाेटाे प्रदर्शनी,२०७९ का संयोजन इन्द्रबहादुर श्रेष्ठले कार्यक्रममा उपस्थितीको लागि सम्पूर्णमा आग्रह गरेका छन् ।
मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग तीन महिनापछि पुनः संचालनमा आएको छ । कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको उक्त उद्योग मंगलबारबाट पुनः संचालनमा आएको हो ।
उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । बोलपत्र आह्वान गरी उद्योगका लागि आवश्यक कोइला भारत, भुटान, इन्डोनेसियालगायतका देशबाट आपूर्ति गरी उत्पादन सुरु गरेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए ।
उद्योगका उपकरणको मर्मतसम्भारको लागि दुई हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो साताबाट सिमेन्ट उत्पादन कार्य बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । पाण्डेका अनुसार उद्योगमा दैनिक १ सय १० टन कोइला खपत हुने गरेको छ । उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगमा पर्याप्त चुनढुंगाको भण्डारण रहेको उद्योग ब्यबस्थापनले जनाएको छ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ ।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रयोग हुने दुईवटा फरकफरक मतपत्रका लागि दुईवटा फरकफरक मतपेटिकाको प्रयोग हुनेछ भने दुवै सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि प्रयोग हुने मतपत्रका लागि अलगअलग मतपेटिकामा मत खसाल्ने व्यवस्था हुनेछ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र मतपत्रमा हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न मतपत्रमा राखिएको छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसैअनुसार तय गरेको आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए ।
– प्रत्यक्षमा दल वा उम्मेदवारको मात्रै चिह्न
– समानुपातिकमा प्रतिनिधिसभातर्फ ४७ चिह्न, प्रदेशमा संख्या फरकफरक
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन निवेदन दिएकामध्ये नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन् । त्यस्तै, नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रूपमा एउटै चुनाव चिह्न लिएका छन् ।
यसैगरी, सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिह्न लिएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सिट रहने व्यवस्था छ । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिह्नको संख्या फरकफरक हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूले समानुपातिकतर्फको अन्तिम बन्दसूची बुझाएपछि मात्र मतपत्र छपाइ भएकाले ती दुई प्रदेशमा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिह्न रहनेछ ।
तर प्रदेश १, मधेस प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको समानुपातिकतर्फको मतपत्र बन्दसूची पेस गर्नुअघि नै छपाइ भइसकेको कारण निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिह्नसमेत रहनेछ ।
आयोगका अनुसार प्रदेश १ मा ५५ वटा निर्वाचन चिह्न भएको मतपत्र हुनेछ । त्यस्तै, मधेस प्रदेशमा ५९, बाग्मतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ । कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ ।
प्रदेश १ मा बन्दसूची बुझाउने दल भने ३६ छन् । त्यस्तै, मधेस प्रदेशमा ३६, बाग्मती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ३१ र लुम्बिनी प्रदेशमा ३२ वटा दलले मात्र बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा निर्वाचनमा सहभागिताका लागि निवेदन दिने दलको संख्या ४९ थियो । त्यस्तै, सुदूरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए ।
प्रदेशसभामा प्रदेश १ बाट ३७ जना, मधेस प्रदेशमा ४३, बाग्मतीमा ४४, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् । राजधानी दैनिकबाट
मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र २ प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल प्रजाले गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँ सहयोग गर्ने भएका छन् ।
उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका प्रजाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई सहयोग गर्ने भएका हुन । चेपाङ संघ बागमती प्रदेशको अध्यक्षसमेत रहेका प्रजाले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी निर्वाचनमा आफ्नो पूर्ण साथ समर्थन गठबन्धनका उम्मेदवार बानियाँलाई रहेको बताए ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता विरोध खतिवडा, माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान, नेता सर्केश घलानलगायतको उपस्थितिमा काँग्रेस बागमती प्रदेश कार्यालयमा प्रजाले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आफ्नो उम्मेदवारीले नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरुमा गम्भीर क्षति पुग्ने, संविधान बिरोधिहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि घात हुने देखिएकोले गठबन्धनका उम्मेदवारलाई सघाउने निष्कर्षमा पुगेको बताए ।
निर्वाचन आयोगमार्फत् आफ्नो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भएपनि राजनीतिक रुपमा अब आफु उम्मेदवार नरहेको उनले बताए । ‘मेरो तर्फबाट इन्द्रबहादुर बानियाँज्यूलाई पूर्ण साथ समर्थन रहने हुनाले आम शुभचिन्तक र समर्थकहरुलाई पनि मेरो अभियानमा सहभागी भई गठबन्धनका साझा उम्मेदवार बानियाँको चुनाव चिन्ह रुखमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराइदिन हुन अनुरोध गर्दछु ।’ प्रजाले विज्ञप्ती मार्फत भनेका छन ।
गठबन्धनका उम्मेदवार बानियाँले आफूलाई सहयोग गर्न उम्मेदवारी फिर्ता लिने प्रजालाई धन्यवाद दिएका थिए । बानियाँले मुलुकको समग्र विकास र संविधान तथा व्यवस्थाको रक्षाका लागि गठबन्धनले जित्नुपर्ने आवश्यकता रहेको समेत बताए ।
