मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र २ प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल प्रजाले गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँ सहयोग गर्ने भएका छन् ।
उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका प्रजाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई सहयोग गर्ने भएका हुन । चेपाङ संघ बागमती प्रदेशको अध्यक्षसमेत रहेका प्रजाले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी निर्वाचनमा आफ्नो पूर्ण साथ समर्थन गठबन्धनका उम्मेदवार बानियाँलाई रहेको बताए ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता विरोध खतिवडा, माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान, नेता सर्केश घलानलगायतको उपस्थितिमा काँग्रेस बागमती प्रदेश कार्यालयमा प्रजाले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै आफ्नो उम्मेदवारीले नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरुमा गम्भीर क्षति पुग्ने, संविधान बिरोधिहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि घात हुने देखिएकोले गठबन्धनका उम्मेदवारलाई सघाउने निष्कर्षमा पुगेको बताए ।
निर्वाचन आयोगमार्फत् आफ्नो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भएपनि राजनीतिक रुपमा अब आफु उम्मेदवार नरहेको उनले बताए । ‘मेरो तर्फबाट इन्द्रबहादुर बानियाँज्यूलाई पूर्ण साथ समर्थन रहने हुनाले आम शुभचिन्तक र समर्थकहरुलाई पनि मेरो अभियानमा सहभागी भई गठबन्धनका साझा उम्मेदवार बानियाँको चुनाव चिन्ह रुखमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराइदिन हुन अनुरोध गर्दछु ।’ प्रजाले विज्ञप्ती मार्फत भनेका छन ।
गठबन्धनका उम्मेदवार बानियाँले आफूलाई सहयोग गर्न उम्मेदवारी फिर्ता लिने प्रजालाई धन्यवाद दिएका थिए । बानियाँले मुलुकको समग्र विकास र संविधान तथा व्यवस्थाको रक्षाका लागि गठबन्धनले जित्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

