मकवानपुर । मकवानपुरका किसान रासायनिक मल नपाउँदा आन्दाेलित भएका छन् । मकवानपुरकाे उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरु आन्दोलनमा उत्रेका छन् । आलु लगाउने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहा नगरपालिकाको किसान आन्दोलनमा उत्रिएका हुन् ।
थाहा नगरपालिकाका किसान आन्दोलन संघर्ष समितिले मलको सहज आपूर्ति गर्न विहीबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । राज्य किसानप्रति जवाफदेही नहुँदा सरकारबाट निश्चित मुल्य निर्धारण गरिएका युरिया, डीएपी जस्ता मलहरू तेब्बर मुल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको ध्यानाकर्षण पत्रमा भनिएको छ । “मकवानपुरको उत्तरी क्षेत्रमा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुपर्ने सिजन प्रारम्भ हुन्छ । आलुको लागि प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्छ । समानुपातिक मल वितरणको नियमले प्रतिकिसान १० किलो मल मात्रै प्राप्त हुन्छ । जुन आलु बालीको लागि प्रयाप्त होइन ।” ध्यानाकर्षणमा उल्लेख छ ।
नेपाल कृषि प्रधान देश भएपनि विगत केही बर्षदेखि मलको अभाव हुने गरेको छ । आधुनिक कृषि प्रणाली र व्यवसायीक रुपमा किसान आत्मनिर्भर हुनुपर्ने अवस्थामा उन्नत जातको बीउ, मल र बजार व्यवस्थापन जस्ता सामान्य कुरामा समेत राज्य संवेदनशील हुन नसक्दा मुलुक भरका किसान मर्कामा परेको समेत ध्यानाकर्षण गराइएकाे छ ।
मल आएपछि त्यसको बाडफाँड आवश्यकता र ओैचित्यको आधारमा गर्नुपर्ने उनीहरुको माग छ । किसानको समस्यालाई मध्यनजर गरी थाहा नगरपालिकाले आम किसानको हकहितको निमित्त काम गरोस् भन्दै थाहा नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताइएकाे छ ।
यता, कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाको गोदाममा रासायनिक मल थुप्रिएर बसेकाे र किसानले नपाएकाे गुनासाे बढेपछी निर्वाचनमा विजयी भएकाे प्रमाणपत्र लिने वित्तिकै मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार वर्तौला कम्पनीकाे हेटौंडाको गोदामनै निरिक्षण गरेर यो मल तत्काल वितरण गर्नका लागि निर्देशन दिएका थिए । स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमानै मल वितरण गर्न थप समस्या भएको कृषि सामाग्री कम्पनी लिमिटेड हेटौडा प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष जानकारी गराएका थिए ।
मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल विरतरणकाे विषयमा कार्तिकको अन्तिम साता पत्राचार गरिएको र अहिलेसम्म हेटौंडा उपमहानगरपालिका भन्दा बाहेकका क्षेत्रका स्थानीय स्थानीय तहले समयमानै समन्वय नगर्दा मल वितरणमा समस्या भएको ज्ञवाली बताउँछन् । आवस्यक मल अभाबका कारण खेतबारीमा किसानले बढी मुल्य तिरेर मल खरिद गर्नुपर्ने अर्को बाध्यता पनि रहेको छ । मलकाे समस्या तत्काल समाधान गरी किसानले सहज रुपमा मल पाउने वातावरण बनाउन बर्ताैलाले निर्देशन समेत दिए थिए ।
गोदाम भरी रासयनिक मल भएरपनि अभाव भइरहँदा व्यापारीहरूले मनोमानी मूल्यमा बिक्री गर्दै कालोबजारी गरिरहेको किसानहरुले आरोपसमेत लगाएका छन् । मुलकभर सरकारी अनुुदानको मल कृषि सामग्री र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आइरहेका छन् । कोटाका आधारमा कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयात गर्छन् । जसका लागि दुवै कम्पनीले ग्लोबल टेन्डर आह्वान गर्छन् । यसपटक कृषि सामग्रीले समयमै मल आयात गरेको दाबी गरे पनि सिजनकै बेला किसानले भने मल पाइरहेका छैनन् ।
मकवानपुर । दोलखा जिल्लाकाे १० मतदान केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तरगत पुनः मतदान भएकाे छ । विहीबार भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दाेलखाले जनाएकाे छ ।
जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियो । पुनः मतदान शान्तिपूर्ण रुपमा सम्मन्न भएकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेकाे बताइएकाे छ ।
पुनः मतदान भएकाे केन्द्रमा मङ्सिर ४ मा मतदान हुँदा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।
कूल एक लाख ६१ हजार ४ सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलंघनको ३३ वटा उजुरी परेको छ । साेही अवधीमा देशभरमा १ सय १ वटा उजुरी परेकाेमा बागमती प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशले जनाएकाे छ ।
प्रदेश कार्यालय हेटौंडाले विहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गत आर्थिक वर्ष २०७८/०७९ को मानवअधिकारको अवस्थाबारेको रिर्पोट सार्वजनिक गर्दै १३ जिल्लाको अवस्थाबारे जानकारी दिइएको थियो । प्रदेशको १३ जिल्ला मध्ये मानव अधिकार उलंघनका सबैभन्दा बढी काठमाडौं जिल्लाकाे उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए ।
प्रदेशकाे मकवानपुर सहित रसुवा, सिन्धुली र भक्तपुर जिल्लाबाट भने कुनै पनि उजुरी नपरेको अधिकारीले जानकारी दिए । काठमाडौं जिल्लाबाट ८ वटा उजुरी दर्ता हुँदा ललितपुरको ७ वटा, चितवनको ४ वटा, नुवाकोटको ४ वटा उजुरी परेको उनले बताए । अधिकारीका अनुसार सिन्धुपाल्चोकको ३ वटा, धादिङ,काभ्रे र दोलखाको २/२ वटा,रामेछापको १ वटा उजुरी दर्ता भएकाे छ ।
आयोगमा उजुरी दर्ता भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा न्यायको अनुभव कम हुने गरेको अधिकारीले गुनासाे गरेका छन् उनले उजुरीको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिइएको बताए । नेपालमा आयोगमा परेका उजुरी मध्ये १०.५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याईएको समेत उनले जानकारी दिए ।
प्रदेशमा नागरिक तथा राजनितिक अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार, यातना विरुद्धको अधिकार, महिला तथा बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार, आप्रवासी कामदार, जेष्ठनागरिकको अधिकार, मानव वेचविखन, वातावरणको अधिकार सम्बन्धी उजुरी पर्ने गरेको अधिकारीले बताए ।
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ हुप्राचौरमा रहेको राजा विरेन्द्रको शालिक सुरक्षाको माग गरिएको छ । राजा विरेन्द्रको शालिक सुरक्षित नभएको भन्दै राप्रपा मकवानपुरका नेताहरुको समूहले सुरक्षाको माग गरेका हुन ।
विहीबार राप्रपाको तर्फबाट मंसिर ४ गतेको निर्वाचनमा मकवानपुर क्षेत्र १ को प्रदेशसभा २ का उम्मेदवार गुञ्जनबहादुर न्यौपानेसहितको टोलीले शालिक सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरमा ध्यानाकर्षण बुझाइएको छ । हुप्राचौर क्षेत्र निरन्तर अतिक्रमण हुँदा त्यस क्षेत्रमा रहेको शालिक सुरक्षित नभएको भन्दै न्यौपाने लगायतका राप्रपा निकट समूहले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाइएको हो ।
शाहको शालिक ऐतिहासिक तथा चुना, सुर्किले बनेको हुदा पुरातात्त्विक महत्वको समेत भएको हुदा तत्काल सुचिकृत गरि संरक्षण गर्न माग गर्दै ध्यानाकर्षण बुझाईएको न्यौपानेले बताए । हुप्राचौरमा रहेको बिरेन्द्रको शालिक भत्काउने गरी हेटौंडा उपमहानगरपालिकाले भवन बनाउनको लागि टेण्डर आव्हान गरेको भन्दै ध्यानाकर्षण पत्रमा भनिएको छ ऎतिहासिक महत्त्वको शालिक संरक्षण गरि पुरात्वात्तिक सम्पदामा सुचीकृत गर्न र हेटौंडा उपमहानगरपालिकालाई शालिक नभत्काउन तत्काल पत्राचार गर्न अनुरोध गर्दछौ ।
राप्रपाका सन्दिप कुमार सापकोटा , आशिष चौलागाईं , सरस्वती थिङ्ग , विशाल दंगाल लगायतको उपस्थितिमा ध्यानाकर्षण बुझाइएको हो ।

मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा अन्तरगत दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गते अर्थात् आज बिहीबार मतदान हुदैछ । निर्वाचन आयोगको मङ्सिर ११ गते बसेको बैठकले दाेलखा जिल्लाका १० मतदान केन्द्रमा मंसिर ४ गते मतदान हुन नसकेकाेले आज विहीबारलाई मतदानकाे मिति तय गरेकाे थियाे ।
आयाेगले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
आयाेगले उक्त मतदान केन्द्रमा मंसिर ४ गते भएकाे मतदान रद्द गरिएकाे ती मतदान केन्द्रहरुकाे मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज हुने निर्वाचनका लागि तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार मतदान हुने मतदान केन्द्रमा करिब आठ हजार मतदाता रहेका छन् ।
