मकवानपुर । मकवानपुरका किसान रासायनिक मल नपाउँदा आन्दाेलित भएका छन् । मकवानपुरकाे उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरु आन्दोलनमा उत्रेका छन् । आलु लगाउने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहा नगरपालिकाको किसान आन्दोलनमा उत्रिएका हुन् ।
थाहा नगरपालिकाका किसान आन्दोलन संघर्ष समितिले मलको सहज आपूर्ति गर्न विहीबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । राज्य किसानप्रति जवाफदेही नहुँदा सरकारबाट निश्चित मुल्य निर्धारण गरिएका युरिया, डीएपी जस्ता मलहरू तेब्बर मुल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको ध्यानाकर्षण पत्रमा भनिएको छ । “मकवानपुरको उत्तरी क्षेत्रमा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुपर्ने सिजन प्रारम्भ हुन्छ । आलुको लागि प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्छ । समानुपातिक मल वितरणको नियमले प्रतिकिसान १० किलो मल मात्रै प्राप्त हुन्छ । जुन आलु बालीको लागि प्रयाप्त होइन ।” ध्यानाकर्षणमा उल्लेख छ ।
नेपाल कृषि प्रधान देश भएपनि विगत केही बर्षदेखि मलको अभाव हुने गरेको छ । आधुनिक कृषि प्रणाली र व्यवसायीक रुपमा किसान आत्मनिर्भर हुनुपर्ने अवस्थामा उन्नत जातको बीउ, मल र बजार व्यवस्थापन जस्ता सामान्य कुरामा समेत राज्य संवेदनशील हुन नसक्दा मुलुक भरका किसान मर्कामा परेको समेत ध्यानाकर्षण गराइएकाे छ ।
मल आएपछि त्यसको बाडफाँड आवश्यकता र ओैचित्यको आधारमा गर्नुपर्ने उनीहरुको माग छ । किसानको समस्यालाई मध्यनजर गरी थाहा नगरपालिकाले आम किसानको हकहितको निमित्त काम गरोस् भन्दै थाहा नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताइएकाे छ ।
यता, कृषि सामग्री कम्पनी लिमिटेड हेटौंडाको गोदाममा रासायनिक मल थुप्रिएर बसेकाे र किसानले नपाएकाे गुनासाे बढेपछी निर्वाचनमा विजयी भएकाे प्रमाणपत्र लिने वित्तिकै मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार वर्तौला कम्पनीकाे हेटौंडाको गोदामनै निरिक्षण गरेर यो मल तत्काल वितरण गर्नका लागि निर्देशन दिएका थिए । स्थानीय तहका कर्मचारी र सहकारी संस्थाहरुका कारण समयमानै मल वितरण गर्न थप समस्या भएको कृषि सामाग्री कम्पनी लिमिटेड हेटौडा प्रमुख प्रकाश ज्ञवालीले सांसद बर्तौला समक्ष जानकारी गराएका थिए ।
मकवानपुर जिल्लाका दश वटा स्थानीय तहका लागि वितरणका लागि ल्याइएको मल विरतरणकाे विषयमा कार्तिकको अन्तिम साता पत्राचार गरिएको र अहिलेसम्म हेटौंडा उपमहानगरपालिका भन्दा बाहेकका क्षेत्रका स्थानीय स्थानीय तहले समयमानै समन्वय नगर्दा मल वितरणमा समस्या भएको ज्ञवाली बताउँछन् । आवस्यक मल अभाबका कारण खेतबारीमा किसानले बढी मुल्य तिरेर मल खरिद गर्नुपर्ने अर्को बाध्यता पनि रहेको छ । मलकाे समस्या तत्काल समाधान गरी किसानले सहज रुपमा मल पाउने वातावरण बनाउन बर्ताैलाले निर्देशन समेत दिए थिए ।
गोदाम भरी रासयनिक मल भएरपनि अभाव भइरहँदा व्यापारीहरूले मनोमानी मूल्यमा बिक्री गर्दै कालोबजारी गरिरहेको किसानहरुले आरोपसमेत लगाएका छन् । मुलकभर सरकारी अनुुदानको मल कृषि सामग्री र साल्ट ट्रेडिङले खरिद–बिक्री गर्दै आइरहेका छन् । कोटाका आधारमा कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयात गर्छन् । जसका लागि दुवै कम्पनीले ग्लोबल टेन्डर आह्वान गर्छन् । यसपटक कृषि सामग्रीले समयमै मल आयात गरेको दाबी गरे पनि सिजनकै बेला किसानले भने मल पाइरहेका छैनन् ।

