मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले एड्स रोग रोकथामको लागि जनचेतना सबैभन्दा महत्वपूर्ण भएकाे बताएका छन् । विहीबार डिसेम्बर १ तारिख अर्थात विश्व एड्स दिवस २०२२ मा भएकाे प्रभातफेरी पछिकाे काेणसभामा बाेल्दै मन्त्री लामाले भने ‘जनचेतनाको अभावमा यस्ताखाले संक्रमण हुने भएकाेले सरकारले जनचेतनालाई प्राथमिकतामा राखेको छ ।’
दिवसकाे अवसरमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा “ एड्स अन्त्यका लागि समानताको सुनिश्चितता” भन्ने नाराका साथ हेटौँडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । हेटौँडा अस्पतालबाट सुरु भएकाे प्रभातफेरी हेटौँडा १० बसपार्कमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, बागमती प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एड्सबारे जनचेतना फैल्याईरहेका विभिन्न संघसस्थाका प्रतिनिधि, प्रहरी तथा आम सर्वसाधरणको सहभागिता रहेको थियो ।

यसैगरी ३५ औं विश्व एड्स दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले जनचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । प्रतिष्ठानले जनचेतनाको लागि र्याली, फल्यास मुभ र एड्स भएकाहरुको अनुभव साटासाट गरेको हो ।
जनचेतनामुलक र्यालीलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले एड्स नियन्त्रणमा रहेपनि नसकिएकाले जनचेतनामुलक कार्यक्रमले अझैं चेतना फैलाउन मदत गर्ने बिश्वास व्यक्त गरे । उनले एड्स बारे आम जन समुदायले सही जानकारी पाउनुपर्नेमा जोड समेत दिए ।
हेटौंडा १० टिसिएनमा रहेको प्रतिष्ठानको कार्यालय अगाडिबाट सुरु भएको र्याली बसपार्क, जिल्ला प्रहरी कार्यालय परिसर, राप्ती रोड, बुद्ध चोक, सिमाचोक हुँदै सितलमहल चोक हुँदै हुप्रा चौरमा पुगेर कोणसभामा परिणात भएको र्याली एड्स संक्रमितले अनुभव साटा साट गरे पश्चात समापन भएको हो ।
र्यालीमा सहभागि प्रतिष्ठानमा अध्ययनरत बिद्यार्थीहरुले जनचेतनामूलक प्ले कार्डको प्रर्दशन गर्नुका साथै एड्सबाट बच्न र बचाउन आग्रह गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, प्राध्यापक, बिद्यार्थी, कर्मचारी लगायतकाको सक्रिय सहभागिता रहेको प्रतिष्ठानका सुबोध आचार्यले जानकारी दिए ।


