मकवानपुर । दोलखा जिल्लाकाे १० मतदान केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तरगत पुनः मतदान भएकाे छ । विहीबार भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दाेलखाले जनाएकाे छ ।
जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियो । पुनः मतदान शान्तिपूर्ण रुपमा सम्मन्न भएकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेकाे बताइएकाे छ ।
पुनः मतदान भएकाे केन्द्रमा मङ्सिर ४ मा मतदान हुँदा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।
कूल एक लाख ६१ हजार ४ सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

