मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलंघनको ३३ वटा उजुरी परेको छ । साेही अवधीमा देशभरमा १ सय १ वटा उजुरी परेकाेमा बागमती प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशले जनाएकाे छ ।
प्रदेश कार्यालय हेटौंडाले विहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गत आर्थिक वर्ष २०७८/०७९ को मानवअधिकारको अवस्थाबारेको रिर्पोट सार्वजनिक गर्दै १३ जिल्लाको अवस्थाबारे जानकारी दिइएको थियो । प्रदेशको १३ जिल्ला मध्ये मानव अधिकार उलंघनका सबैभन्दा बढी काठमाडौं जिल्लाकाे उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए ।
प्रदेशकाे मकवानपुर सहित रसुवा, सिन्धुली र भक्तपुर जिल्लाबाट भने कुनै पनि उजुरी नपरेको अधिकारीले जानकारी दिए । काठमाडौं जिल्लाबाट ८ वटा उजुरी दर्ता हुँदा ललितपुरको ७ वटा, चितवनको ४ वटा, नुवाकोटको ४ वटा उजुरी परेको उनले बताए । अधिकारीका अनुसार सिन्धुपाल्चोकको ३ वटा, धादिङ,काभ्रे र दोलखाको २/२ वटा,रामेछापको १ वटा उजुरी दर्ता भएकाे छ ।
आयोगमा उजुरी दर्ता भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा न्यायको अनुभव कम हुने गरेको अधिकारीले गुनासाे गरेका छन् उनले उजुरीको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिइएको बताए । नेपालमा आयोगमा परेका उजुरी मध्ये १०.५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याईएको समेत उनले जानकारी दिए ।
प्रदेशमा नागरिक तथा राजनितिक अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार, यातना विरुद्धको अधिकार, महिला तथा बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार, आप्रवासी कामदार, जेष्ठनागरिकको अधिकार, मानव वेचविखन, वातावरणको अधिकार सम्बन्धी उजुरी पर्ने गरेको अधिकारीले बताए ।

