मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा अन्तरगत दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गते अर्थात् आज बिहीबार मतदान हुदैछ । निर्वाचन आयोगको मङ्सिर ११ गते बसेको बैठकले दाेलखा जिल्लाका १० मतदान केन्द्रमा मंसिर ४ गते मतदान हुन नसकेकाेले आज विहीबारलाई मतदानकाे मिति तय गरेकाे थियाे ।
आयाेगले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
आयाेगले उक्त मतदान केन्द्रमा मंसिर ४ गते भएकाे मतदान रद्द गरिएकाे ती मतदान केन्द्रहरुकाे मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज हुने निर्वाचनका लागि तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार मतदान हुने मतदान केन्द्रमा करिब आठ हजार मतदाता रहेका छन् ।

