मकवानपुर । बागमती प्रदेशमा सभामुखको निर्वाचनका लागि आज (२८ पुसमा) मनोनयन दर्ताको गरिदै छ । बिहान १०:३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २:३० देखि ३:३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ ।
प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ ।
भोली २९ पुस शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका रहेको छ । जसअनुसार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुनेछ सभामुखको निर्वाचन हुने छ ।
नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ्स भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरुले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्राबधान छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको गत १८ गते बसेको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको थियो ।
बागमती प्रदेशमा भएको सत्ता समिकरण अनुसार सभामुख राप्रपाको भागमा परेको छ । राप्रपा बाट दलका महसचिव भुवनबहादुर पाठकलाई सत्तापक्षले सभामुखमा उम्मेदवार बनाउने भएको छ ।
केन्द्रको सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले सभामुख बन्ने लगभग पक्का भएका छ ।
पाठकले आफूलाई पार्टी र गठबन्धनले विश्वास गरेर सभामुखको जिम्मेवारी दिएको बताउँदै पार्टी र गठबन्धनको विश्वासलाई कायम गर्ने बताए ।
सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले भने उपसभामुख को बनाउने अझै निर्णय गरेको छैन । एमालेले भने आज दलको बैठक बसेर उपसभामुखको उम्मेदवार चयन गर्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
यसैबीच आफूहरुले सभामुख पाएमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेपाली कांग्रेस तयार रहेको बताइएको छ । संघिय सांसदमा सत्तारुढ दललाई विश्वासको मत दिएको कांग्रेसले प्रदेशमा कम्तिमा सभामुख आफूहरुले पाएमा विपक्षी गठवन्धनको सरकारलाई विश्वासको मत दिने संकेत गरिएको हो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले बागमतीमा रहेको शालिकराम जम्कट्टेलको नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकिने तर त्यसमा सर्तहरु रहेको बताए । राजनीतिमा केहि पाउँदा केहि गुमाउनुपनि पर्ने भन्दै उनले सत्तारुढ दललाई सभामुख दिएको अवस्थामा विश्वासको मत दिने शंकेत गरे ।
लामाले भने ‘हामीलाई सत्तारुढ दलबाट अहिलेसम्म विश्वासको मतको लागि कुनैपनि प्रस्ताव आएको छैन, यदि आएको अवस्थामा हामीले हाम्रो सर्तहरु भन्नेछौँ, अहिलेलाई सभामुख र पछि अन्य विषयहरु पनि हुनेछन्, यदि त्यस्तो वातावरण मिलेको अवस्थामा विश्वासको मत दिन सकिन्छ ।’
कांग्रेसले सभामुख पाएमात्र विश्वासको मत दिने भनेपनि यहाँ रहेका १ सय १० सांसद मध्य ७० सांसदको समर्थन सरकारलाई रहेको कारण सरकारले विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सरकारले माग ३ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

पृथिवी एकता तिम्राे हरायाे आज के भयाे
दु:ख बिर्से कि लाै तिम्राे रमिता आज के भयाे ।
निर्माण देशकाे निम्ति साेचेकाे सब अस्त भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।१।।
विदेशी घुस्रिए सारा तिम्राे सन्मार्ग छाेडियाे
दिव्याेपदेशका नारा थाहै पाएर ताेडियाे ।
चार वर्ण थिए जात छत्तीस भाग-दाैड भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।२।।
ढुङ्गाकाे बीचकाे तिम्राे तरुल आज के भयाे
च्यापियाे च्यापियाे अझ्झै नजान्दा कि त याे भयाे ।
आफूआफूबीचै लड्ने फुट्नैमा सरगर्मी भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।३।।
जन्मे वाद विदेशीकाे स्वदेशी बिर्सँदै गयाे
आयातित बनेँ धर्म पन आफ्नै बिछाेडियाे ।
सदाचार भयाे छाडा विदेशीपन भित्रीगाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।४।।
धराे उत्पादन छैन विलासिता विदेशकाे
मुद्राकाे मूल्य नै छैन पाएसम्म विदेसियाे ।
“जाई कटक पाे गर्छन्” नचिनेसरि आज भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।५।।
चाडबाड मिली मान्थ्याैँ आएकाे सब एक भै
गाउँ सबै जुटी हिँड्थ्याैँ समाजै गाेलबद्ध भै ।
आफ्नै गाउँ पनि पस्न- साेध्ने ! आज उदेक भाे
भाइबन्धु भए टाढा आफ्नै गाउँ पराई भाे ।।६।।
गुरागाईको कविता संग्रह बास उठेका चराहरू, २०६४ बाट
मकवानपुर । मकवानपुर प्रहरीले ७ किलो गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक केदार विकको टोलीले पुष २० गते बिहान हेटौंडा ११ थानाभर्याङस्थित पूर्वपश्चिम राजमार्गमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना ८ ख ९५३ नम्बरको बस चेक जाच गर्दा उक्त परिणामको गाँजा सहित मानिस नियन्त्रणमा लिएको हो ।
प्रहरीले बसमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने वर्ष ६० का डिल बहादुर चेपाङको साथबाट ५ किलो ७ सय ग्राम तथा सोही ठाँउ बस्ने वर्ष १९ का प्रकाश चेपाङको साथबाट १ किलो ३ सय ग्राम लागू औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको हो ।
दुबैजनालाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भइ रहेको प्रहरी प्रबक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा हिजो नियुक्त भएका शालिकराम जम्कट्टेलले आज सपथ लिएका छन् ।
उनले मुख्यमन्त्रीको सपथ लिएसंगै ३ सदस्यीय मन्त्रीपरिषद समेत गठन गरेका छन् । अन्य दुइ मन्त्रीहरूले पनि सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट सपथग्रहण गरेका थिए ।
आजै सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पनि मन्त्रीको शपथ लिए । थपलियाले भौतिक पुर्वाधार मन्त्रालय पाएका छन् भने, थापाले बिनाबिभागिय मन्त्रीको सपथ लिएका हुन् ।
प्रदेशमा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/ २ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन्।
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी सहित ५ दलको ७० जना सांसदहरू समर्थनमा सरकार बनेको हो ।
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् । उनी आफूले सपथ लिएपछि अन्य केही मन्त्रीहरुलाई पनि आजै सपथ गराउने तयारी गरेको बुझिएको छ ।
उनले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने छन् । जसमा यसअघि मुख्यन्त्रीको चर्चामा रहेका जगन्नाथ थपलिया प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको छ । यसै गरी राप्रपाबाट उद्धब थापाले पनि आजै मन्त्रीको सपथ लिने बुझिएको छ । उनलाई कुन मन्त्रालय दिने भन्नेबारे भने टुङ्गो लागेको छैन । अन्य केही मन्त्रीको संख्या थपिन सक्ने संभावना रहेको संसदीय दलको कार्यालयले जनाएको छ ।
को हुन् बागमतीको चौथो मुख्यमन्त्री शालिकराम जम्कट्टेल ?
बागमती प्रदेश सरकारको दोस्रो कार्यकालको लागि बनेको सरकारमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएपछि आज पद तथा गोपनियताको सपथ लिंदैछन् । प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् ।
शालिन र सरल ब्यक्तित्व जम्कट्टेल आफ्ना पार्टीभित्र मात्रै हैन पार्टी बाहिरका व्यक्तिलाई पनि सहजै प्रभाव पर्ने सक्ने खुबी भएका ब्यक्तिको रुपमा चिनिन्छन् । उनी २०३० साल भदौमा धादिङ जिल्लाको साविक किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका हुन् । सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मेका उनी विद्यार्थी जीवनकालमै राजनीतिक सवालमाथि चिन्तन राख्थे ।
वि.स. २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरे । २०४८ सालबाट मजदुर संगठनमा लागेकापछि औद्योगिक मजदुरहरुको सवाललाई बलियो गरी उठाउने नेताको रुपमा चिनिन थाले । उनी सो संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षसम्म भए ।
२०५२ सालमा माओवादी युद्धमा होमिपछि उनको व्यक्तित्व अझै खारियो । त्यसयता माओवादीमा निरन्तर क्रियाशील उनी २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष भए । बी.ए., बी.एल.सम्मको अध्ययन गरेका जम्कट्टेल मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिक उचाइमा पुगेका हुन् । २०६३ सालमा उनी पुनःस्थापित संसद्को अन्तरिम विधायिका भए ।
राजनीतिसँगै सामाजिक यात्रा र विषयबस्तुलाई पनि गहन रुपमा लिने उनको अन्तिम गन्तब्य भने राजनीति नै थियो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नं. ३ बाट एमालेका तत्कालिन नेता राजेन्द्र पाण्डेलाई हराएर थप चर्चामा आए । तर, २०७० को भएको संविधानसभाको निर्वाचनमा भने उनै पाण्डेसँग नै पराजित हुन पुगे ।
जम्मकट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज हुन् । २०७४ मा बागमती प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री भए । नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिऐ । त्यसपछि लगत्तै राजेन्द्र पाण्डे नेतृत्वको गठबन्धन सरकारमा उनी प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्री नियुक्त भए । गत ४ मंसिरमा भएको निर्वाचनमा धादिङ जिल्ला क्षेत्र नं. १ को (२) बाट निर्वाचित भएका हुन् ।
यो पटक उनले प्रतिनिधिसभा सदस्य बन्ने इच्छा देखाएका थिए । गठबन्धनभित्रको भागबन्डा नमिलेपछि उनी प्रदेशसभातर्फ नै चुनावी मैदानमा होमिएर जित हासिल गरे र बागमती प्रदेश सरकारको इतिहासमा चौथो मुख्यमन्त्रीको रुपमा नाम लेखाउन सफल भए ।
प्रदेश संरचनाको बारेमा नकरात्मक टिकाटिप्पणी आइरहेको बेला, बनेको नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका जम्कट्टेललाई संघीयतामा प्रदेश तहको औचित्व पुष्टि हुनेगरी काम देखाउने अवसर र चुनौती छ । संघीयतामा चाहिदैन खारेज नै गर्नुपर्छ भन्ने मुद्धा बोकेर हिडेका दलसँगको साझेदारीमा सरकारको नेतृत्व गर्नु पनि चुनौतीपूर्ण रुपमा हेरिएको छ । उनको मन्त्री मण्डलको रुपमा राप्रपाबाट संसदीय दलको नेता उद्धब थापा पनि मन्त्री बन्ने लगभग पक्का भएको छ । राप्रपा कुनैपनि हालमा संघीयता खारेजी हुनुपर्ने एजेण्डा बोकेर संसद छिरेको पार्टी हो । संघीयता प्रति सकारातम्क र नकारात्मक दुबै बिचार राख्नेहरुलाई मिलाएर नेतृत्व गर्दै प्रदेश तहको सफलता देखाउन उनलाई फलामे च्युरा चपाउनु जत्तिकै हुने राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।
