मकवानपुर । बागमती प्रदेशमा सभामुखको निर्वाचनका लागि आज (२८ पुसमा) मनोनयन दर्ताको गरिदै छ । बिहान १०:३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २:३० देखि ३:३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ ।
प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ ।
भोली २९ पुस शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका रहेको छ । जसअनुसार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुनेछ सभामुखको निर्वाचन हुने छ ।
नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ्स भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरुले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्राबधान छ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको गत १८ गते बसेको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको थियो ।
बागमती प्रदेशमा भएको सत्ता समिकरण अनुसार सभामुख राप्रपाको भागमा परेको छ । राप्रपा बाट दलका महसचिव भुवनबहादुर पाठकलाई सत्तापक्षले सभामुखमा उम्मेदवार बनाउने भएको छ ।
केन्द्रको सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले सभामुख बन्ने लगभग पक्का भएका छ ।
पाठकले आफूलाई पार्टी र गठबन्धनले विश्वास गरेर सभामुखको जिम्मेवारी दिएको बताउँदै पार्टी र गठबन्धनको विश्वासलाई कायम गर्ने बताए ।
सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले भने उपसभामुख को बनाउने अझै निर्णय गरेको छैन । एमालेले भने आज दलको बैठक बसेर उपसभामुखको उम्मेदवार चयन गर्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
यसैबीच आफूहरुले सभामुख पाएमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेपाली कांग्रेस तयार रहेको बताइएको छ । संघिय सांसदमा सत्तारुढ दललाई विश्वासको मत दिएको कांग्रेसले प्रदेशमा कम्तिमा सभामुख आफूहरुले पाएमा विपक्षी गठवन्धनको सरकारलाई विश्वासको मत दिने संकेत गरिएको हो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले बागमतीमा रहेको शालिकराम जम्कट्टेलको नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकिने तर त्यसमा सर्तहरु रहेको बताए । राजनीतिमा केहि पाउँदा केहि गुमाउनुपनि पर्ने भन्दै उनले सत्तारुढ दललाई सभामुख दिएको अवस्थामा विश्वासको मत दिने शंकेत गरे ।
लामाले भने ‘हामीलाई सत्तारुढ दलबाट अहिलेसम्म विश्वासको मतको लागि कुनैपनि प्रस्ताव आएको छैन, यदि आएको अवस्थामा हामीले हाम्रो सर्तहरु भन्नेछौँ, अहिलेलाई सभामुख र पछि अन्य विषयहरु पनि हुनेछन्, यदि त्यस्तो वातावरण मिलेको अवस्थामा विश्वासको मत दिन सकिन्छ ।’
कांग्रेसले सभामुख पाएमात्र विश्वासको मत दिने भनेपनि यहाँ रहेका १ सय १० सांसद मध्य ७० सांसदको समर्थन सरकारलाई रहेको कारण सरकारले विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सरकारले माग ३ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

