मकवानपुर । मकवानपुरका हास्यव्यंग्यकार आरसी रिजाल हेटौडामा सम्मानीत भएका छन् । सिस्नुपानी नेपाल मकवानपुरले शनिबार गणेश कुमार पौडेल स्मृति सम्मान, २०८० बाट रिजाललाई २५ हजार १ रुपैयाँसहित सम्मान गरेकाे हाे ।
हास्यव्यंग्यकार रिजालले आफूले सम्मानस्वरुप प्राप्त रकममा त्यत्तिनै रकम थप गरेर सिस्नुपानी नेपाल मकवानपुरलाई नै फिर्ता गरेका छन् । रिजालले सिस्नुपानी नेपाल मकवानपुरकी कोषाध्यक्ष शुभद्रा हुमागाईलाई सम्मानसहित प्राप्त रकम र आफूले थप गरेकाे समेत रकम गरी ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
यस्तै सिस्नुपानी नेपाल मकवानपुरले स्वर्गीय गणेश कुमार पौडलको स्मृति ग्रन्थ पनि लोकार्पण गरेको छ । स्मृति ग्रन्थ्रमा स्वर्गीय पौडेलका समकक्षी, साहित्यकारले उनीसँगकाे सामिप्यता, व्यक्तित्व र योगदानका सन्दर्भमा लेखिएका लेख, रचना प्रकाशित गरिएको छ ।
यसैगरी सिस्नुपानी मकवानपुरले साहित्यिक गतिविधिमा संलग्नता सहित तस्विर तथा दृश्य खिचेर सहयोग गर्दै आएका महेन्द्र ओझालाई समेत प्रसंशापत्रले सम्मान गरेको छ । स्वर्गीय पौडेलका छोरा गौरव पौडेलले बुबाप्रति साहित्य र सामाजिक क्षेत्रबाट प्राप्त माया र सद्भावप्रति आभार व्यक्त गर्दै भने ‘बुबाले त्यत्ति ठूलो काम गर्नुभयो जस्तो नलागे पनि साहित्य र सामाजिक क्षेत्रबाट उहाँप्रति देखाउनु भएको सम्मानले हामी आभारी भएका छौं ।’
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्ष, वरिष्ठ हास्यव्यंग्यकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्य तथा हेटौडा ४ का वडा अध्यक्ष नवीन सिग्देलकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
मकवानपुर । प्रदेश युबा परिषदको आयोजनामा ‘युवा र नवप्रवर्तन’ शीर्षकमा प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् ।
प्रतियोगितामा मेलिशा ढुङ्गेल दोस्रो भइन । विबिना लामीछाने प्रतियोगितामा तेस्रो हुँदै क्रमशः ५० – हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । परिषदको बार्षिक स्वीकृत युबा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १३ जिल्लामा आयोजित कार्यक्रममा प्रथम हुन सफल प्रतिस्पर्धीहरू बीच कार्यक्रम आयोजन गरिएको थियो।
परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले अध्यक्षता गरेको कार्यक्रममा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।मकवानपुर क्यामपसका प्राध्यापक घनश्याम शर्मा , निरा शर्मा र दीपक मिश्र निर्णायकको भुमिकामा रहेका थिए।
समाज परिवर्तन र राज्यको स्वरुप रुपान्तरणमा युवाको भुमिका जरुरी रहेको मन्त्री मोक्तानले बताइन् । अब युबालाई नबप्रबर्तनसंग जोड़ने सके मात्र मुलूकले सम्बृदिको यात्रा तय गर्ने मोक्तानले बताउनु भयो ।
प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष चौलागाईले अबको युवाले बोल्ने कलामात्र हैन, व्यवहारमा पनि दखाउने युवाको खाँचो रहेको बताए । समाजको बिग्रेको अवस्था सुधार्ने भनेकै युवा हो भन्दै क्षमता भएका युवालाई देशमै केही गरेर खाने वातावरण रहेको भन्दै युवा अब टाठो हुनुपर्ने उनले बताए ।
मकवानपुर । गोपालप्रसाद रिमालको जन्मजयन्तीको दिन जेठ २७ गते शनिबार मकवानपुरकाे हेटौडामा ३ जना स्रष्टा सम्मानीत भएका छन् । साहित्य संगम मकवानपुरले गोपालप्रसाद रिमालकाे जन्मजयन्तीमा मकवानपुरका ३ अग्रज स्रष्टालाई सम्मानीत गरेकाे हाे ।
संगमले गोपालप्रसाद रिमाल स्मृति राष्ट्रिय सम्मानबाट साम्व ढकाललाई २० हजार नगदसहित सम्मान गरेकाे हाे । यस्तै श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट केदारप्रसाद न्यौपानेलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ भने शान्तिदेवी वनस्खण्डी स्मृति सम्मानबाट तुलसी घिमिरेलाई १० हजार नगदसहित सम्मान गरिएकाे साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
कार्यक्रममा आरसी रिजालले शान्तिदेवी वनस्खण्डी स्मृति सम्मान र सम्मानका संस्थापक स्वर्गीय गणेश पौडेलको व्यक्तित्वका विषयमा चर्चा गर्दा कवी पुरुषोत्तम आचार्यले श्यामप्रसाद शर्माको योगदानका विषयमा चर्चा गरेका थिए । गोपालप्रसाद रिमालको सिर्जनाले समाजमा पारेको प्रभावका विषयमा कवि सुवास खनालले जानकारी गराएका थिए ।
कम्युनिष्ट राजनीतिमा सक्रिय भई जेल जीवन बिताउनु भएका केदार न्यौपानेले जनवादी गीतहरू रचना गरेका छन् भने तुल्सी घिमिरे गीत तथा कविता लेखनमा सक्रिय सर्जक हुन । यस्तै साम्ब ढकाल कविता लेखनमा सक्रिय मकवानपुरका सर्जक हुन।
संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता, हास्यव्यंग्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्य तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वका बारेमा साहित्य संगमका मनोज पोखरेलले जानकारी दिएका थिए ।
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले पत्रकार उज्वल अधिकारी र निशा गुरुङलाई सम्मान गरेको छ ।
चौतारीकाे शनिबार भएकाे वार्षिक साधारणसभामा गुरुङलाई सिर्जनशील पत्रकारिता पुरस्कार तथा चौतारीका पूर्वकेन्द्रीय सदस्य अधिकारीलाई प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता पुरस्कारबाट नगर सहित सम्मान गरिएकाे हाे ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले गुरुङ र अधिकारीलाई पुरस्कार सहित सम्मान गरेका थिए ।
यसैगरी, चौतारी मकवानपुरले रिक्त रहेको उपाध्यक्ष पद (महिला)मा सुनिता विष्ट, सहसचिव (समावेशी) मा मनिता राना, सदस्यहरुमा अशोक बजगार्ई, स्मिता अर्याल, भुवन थापा र अम्बिका बस्नेतलाई मनोनीत गरेको छ ।
साधारणसभाको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नराम्रा कामहरुको पत्रकारहरुले भण्डाफोर गर्नुपर्ने बताए । यसैगरी प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले पत्रकार महासंघले सुद्धीकरणका नाममा क्रियाशील पत्रकारलाई हटाएमा आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने बताए ।
चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा चौतारीका केन्द्रीय महासचिव लामा, सचिव विष्णु तारुके, बागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, केन्द्रीय सदस्य हरि हुमागाईं, प्रदेश महासचिव प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा भएकाे तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधीमा ११ नम्बर वडाले कब्जा जनाएको छ । शनिबार भएको फाइनल खेलमा १५ नम्बर वडालाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले हराउदै ११ ले उपाधी जितेको हो ।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो मेयर कप अन्तरगत शनिबार हेटौंडा–५ पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेल निर्धारित समय गाेल रहित बरावरी भए पछि टाइब्रेकरमा धकेलिएकाे थियाे ।
प्रतियोगिताको विजेता ११ नम्बर वडाको टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । यस्तै उपविजेता १५ नम्बर वडाकाे टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । सेमिफाइनलमा प्रवेश पाइ पराजित १३ र १४ नम्बर वडाको टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गरेकाे आयाेजकले जनाएकाे छ।
जेठ १६ गतेबाट सुरु प्रतियाेगितामा हेटाैडा उपमहानगरपालिकाका १९ वटै वडाले सहभागिता जनाएका थिए । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणकाे उपाधी हेटाैडा उपमहानगरपालिकाकाे १० नम्बर वडाले जितेको थियो ।
