मकवानपुर । मकवानपुरका हास्यव्यंग्यकार आरसी रिजाल हेटौडामा सम्मानीत भएका छन् । सिस्नुपानी नेपाल मकवानपुरले शनिबार गणेश कुमार पौडेल स्मृति सम्मान, २०८० बाट रिजाललाई २५ हजार १ रुपैयाँसहित सम्मान गरेकाे हाे ।
हास्यव्यंग्यकार रिजालले आफूले सम्मानस्वरुप प्राप्त रकममा त्यत्तिनै रकम थप गरेर सिस्नुपानी नेपाल मकवानपुरलाई नै फिर्ता गरेका छन् । रिजालले सिस्नुपानी नेपाल मकवानपुरकी कोषाध्यक्ष शुभद्रा हुमागाईलाई सम्मानसहित प्राप्त रकम र आफूले थप गरेकाे समेत रकम गरी ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
यस्तै सिस्नुपानी नेपाल मकवानपुरले स्वर्गीय गणेश कुमार पौडलको स्मृति ग्रन्थ पनि लोकार्पण गरेको छ । स्मृति ग्रन्थ्रमा स्वर्गीय पौडेलका समकक्षी, साहित्यकारले उनीसँगकाे सामिप्यता, व्यक्तित्व र योगदानका सन्दर्भमा लेखिएका लेख, रचना प्रकाशित गरिएको छ ।
यसैगरी सिस्नुपानी मकवानपुरले साहित्यिक गतिविधिमा संलग्नता सहित तस्विर तथा दृश्य खिचेर सहयोग गर्दै आएका महेन्द्र ओझालाई समेत प्रसंशापत्रले सम्मान गरेको छ । स्वर्गीय पौडेलका छोरा गौरव पौडेलले बुबाप्रति साहित्य र सामाजिक क्षेत्रबाट प्राप्त माया र सद्भावप्रति आभार व्यक्त गर्दै भने ‘बुबाले त्यत्ति ठूलो काम गर्नुभयो जस्तो नलागे पनि साहित्य र सामाजिक क्षेत्रबाट उहाँप्रति देखाउनु भएको सम्मानले हामी आभारी भएका छौं ।’
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्ष, वरिष्ठ हास्यव्यंग्यकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्य तथा हेटौडा ४ का वडा अध्यक्ष नवीन सिग्देलकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

