मकवानपुर । गोपालप्रसाद रिमालको जन्मजयन्तीको दिन जेठ २७ गते शनिबार मकवानपुरकाे हेटौडामा ३ जना स्रष्टा सम्मानीत भएका छन् । साहित्य संगम मकवानपुरले गोपालप्रसाद रिमालकाे जन्मजयन्तीमा मकवानपुरका ३ अग्रज स्रष्टालाई सम्मानीत गरेकाे हाे ।
संगमले गोपालप्रसाद रिमाल स्मृति राष्ट्रिय सम्मानबाट साम्व ढकाललाई २० हजार नगदसहित सम्मान गरेकाे हाे । यस्तै श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट केदारप्रसाद न्यौपानेलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ भने शान्तिदेवी वनस्खण्डी स्मृति सम्मानबाट तुलसी घिमिरेलाई १० हजार नगदसहित सम्मान गरिएकाे साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
कार्यक्रममा आरसी रिजालले शान्तिदेवी वनस्खण्डी स्मृति सम्मान र सम्मानका संस्थापक स्वर्गीय गणेश पौडेलको व्यक्तित्वका विषयमा चर्चा गर्दा कवी पुरुषोत्तम आचार्यले श्यामप्रसाद शर्माको योगदानका विषयमा चर्चा गरेका थिए । गोपालप्रसाद रिमालको सिर्जनाले समाजमा पारेको प्रभावका विषयमा कवि सुवास खनालले जानकारी गराएका थिए ।
कम्युनिष्ट राजनीतिमा सक्रिय भई जेल जीवन बिताउनु भएका केदार न्यौपानेले जनवादी गीतहरू रचना गरेका छन् भने तुल्सी घिमिरे गीत तथा कविता लेखनमा सक्रिय सर्जक हुन । यस्तै साम्ब ढकाल कविता लेखनमा सक्रिय मकवानपुरका सर्जक हुन।
संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता, हास्यव्यंग्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्य तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वका बारेमा साहित्य संगमका मनोज पोखरेलले जानकारी दिएका थिए ।

