मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले पत्रकार उज्वल अधिकारी र निशा गुरुङलाई सम्मान गरेको छ ।
चौतारीकाे शनिबार भएकाे वार्षिक साधारणसभामा गुरुङलाई सिर्जनशील पत्रकारिता पुरस्कार तथा चौतारीका पूर्वकेन्द्रीय सदस्य अधिकारीलाई प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता पुरस्कारबाट नगर सहित सम्मान गरिएकाे हाे ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले गुरुङ र अधिकारीलाई पुरस्कार सहित सम्मान गरेका थिए ।
यसैगरी, चौतारी मकवानपुरले रिक्त रहेको उपाध्यक्ष पद (महिला)मा सुनिता विष्ट, सहसचिव (समावेशी) मा मनिता राना, सदस्यहरुमा अशोक बजगार्ई, स्मिता अर्याल, भुवन थापा र अम्बिका बस्नेतलाई मनोनीत गरेको छ ।
साधारणसभाको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नराम्रा कामहरुको पत्रकारहरुले भण्डाफोर गर्नुपर्ने बताए । यसैगरी प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले पत्रकार महासंघले सुद्धीकरणका नाममा क्रियाशील पत्रकारलाई हटाएमा आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने बताए ।
चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा चौतारीका केन्द्रीय महासचिव लामा, सचिव विष्णु तारुके, बागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, केन्द्रीय सदस्य हरि हुमागाईं, प्रदेश महासचिव प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो ।

