मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा भएकाे तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधीमा ११ नम्बर वडाले कब्जा जनाएको छ । शनिबार भएको फाइनल खेलमा १५ नम्बर वडालाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले हराउदै ११ ले उपाधी जितेको हो ।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको तेस्रो मेयर कप अन्तरगत शनिबार हेटौंडा–५ पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेल निर्धारित समय गाेल रहित बरावरी भए पछि टाइब्रेकरमा धकेलिएकाे थियाे ।
प्रतियोगिताको विजेता ११ नम्बर वडाको टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । यस्तै उपविजेता १५ नम्बर वडाकाे टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । सेमिफाइनलमा प्रवेश पाइ पराजित १३ र १४ नम्बर वडाको टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गरेकाे आयाेजकले जनाएकाे छ।
जेठ १६ गतेबाट सुरु प्रतियाेगितामा हेटाैडा उपमहानगरपालिकाका १९ वटै वडाले सहभागिता जनाएका थिए । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणकाे उपाधी हेटाैडा उपमहानगरपालिकाकाे १० नम्बर वडाले जितेको थियो ।

