मकवानपुर । बागमती प्रदेशकाे ३ जिल्लामा भदौ २२ गते (आज) सार्वजनिक विदा दिइएकाे छ । प्रदेश सरकारले चेपाङ समूदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को उपलक्ष्यमा भदौ २२ गते शुक्रबार मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिएकाे हाे ।
सिमान्तकृत चेपाङ समूदायको बाहुल्यता रहेकाे उक्त ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय बागमती प्रदेश सरकारकाे मन्त्रिपरिषद्काे भदौ १८ गतेकाे बैठकले निर्णय गरेको थियो । बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समूदायको बाहुल्यता रहेको जिल्ला भएकाेले विदा दिइएको बागमती प्रदेश सरकारले जनाएकाे छ ।
यस पर्वको अवसरमा राक्सिराङ गाउँपालिकाले भने आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।

मकवानपुर । नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा माग्दै मकवानपुरमा मसाल जुलुस प्रदर्शन गरिएकाे छ । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ मकवानपुरले विहीबार गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै हेटौंडामा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।
हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै मसाल जुलुश प्रदर्शन गरिएकाे हो । मसाल जुलुसमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
तरुण युवाहरुले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई गृहमन्त्री श्रेष्ठले फसाएको आरोप समेत लगाउँदै सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।
यसैबीच, नेपाली कांग्रेस मकवानपुरले कांग्रेस केन्द्रीय सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि सांघातिक आक्रमणकाे दाेषीमाथि कारबाहीको माग गरेको छ । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले उक्त घटनाका दोषी सहित घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।
मकवानपुर । यतिखेर बागमती प्रदेशको धादिङ जिल्ला गजुरी गाउँपालिका वडा न ५ च्याङली भन्ने गाउँमकाे चलहपल फेरिएको छ । २२ भदौकाे पूर्वसन्ध्यामा उनीहरु न्वागीकाे तयारीमा छन् । २२ भदौ अर्थात चेपाङ समुदायको खास पर्व न्वागी मनाउने दिन ।
हरेक वर्ष सामुहिक रुपमा न्वागी पर्व मनाउँदै आएका चेपाङ समुदायले यो वर्ष गजुरी ५ च्याङलीमा सामुहिक पर्व मनाउने तयारी थालेको छ । पर्व मनाउनको लागि सम्बन्धित गाउँपालिकाले व्यावस्थापनको जिम्मेवारी लिएको छ । चेपाङ केन्द्रीय समितिले आयोजनाको अन्य पाटो हेर्ने तयारी भएको छ । कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागी हुने छन् ।
पर्व मनाउनको लागि अहिले भोज र पूजा सामग्रीको जोहोमा लागेका छन् उनीहरु । सामुहिक भोजमा मासु भात खाइने छ । यसको लागि चामल, राँगो सुङगुरको तयारी भएको छ । पूजाको लािग फलफूलमा काँक्रो, अमिलो गाभा मकै आदि आदिको तयारी हुँदैछ ।
अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङका अनुसार पूजामा कम्तिमा ७ जना झाक्री (पाण्दे) पुरेतको पनि व्यावस्था हुँदै छ । सामुहिक पूजामा सहभागी प्राय सबैले ढ्याङग्रो ठोक्ने चेपाङ उनले बताए ।

उनका अनुसार पर्व मनाउनकै लागि ६ वटा जिल्लाबाट कम्तिमा एक हजार जना चेपाङको उपस्थिती रहने छ । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ ।
प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशका तीन जिल्ला मकवानपुर, चीतवन र धादिङ चेपाङ समुदायको वाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि विदा दिइएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए ।
चेपाङ समुदायमा मनाइने सबैभन्दा प्रमुख पर्व छोनाम न्वागि भदौ २२ गते मनाइदै छ । हरेक वर्ष भदौ २२ गते मनाइने न्वागि पर्व चेपाङहरुको विशेष पर्वको रुपमा लिइन्छ ।
नयाँ अन्नबाली,फलफूल पाकेपछि विशेष पूजा गर्दै यो पर्व मनाइन्छ । केही वर्षयता नेपाल चेपाङ संघको पहलमा भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यो दिन चेपाड्डहरुले घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।
आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि यो पर्वको विशेष महत्व दिने गरेको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए ।
गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् ।
२२ गते दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि भोलीपल्ट विहान ‘बारना’ गरेर चाड समापन गर्ने पूर्व सांसद चेपाङले बताए । मकवानपुर जिल्लामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा मात्रै चेपाङको बसोबास रहेको छ ।
नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा रहेका चेपाङहरुले आफूहरुको सम्मानमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएकोमा गतवर्षबाट यो दिन बिदा दिन थालिएको हो । चेपाङ संघ केन्द्रीय समितिले २०६३ मा २२ बुँदे माग राख्दै न्वागि पर्वमा सरकारले देशभर सार्वजनिक बिदाको दिनुपर्ने माग गरेको थियो ।
जातिगत हिसाबले जिल्लामा १३ औं स्थानमा चेपाङ जातिको बसोबास रहेको छ । अहिले नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६६ जना छ । यसैबीच यो पर्वको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकाले भने २१ गते पनि सार्वजनिक बिदा दिएको छ ।
तस्बिर साैजन्य: गाेबिन्दराम चेपाङ
मकवानपुर । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पाेखरेलले पत्रकार शुद्धिकरण अभियान निरन्तर जारी रहने बताएका छन् ।
पत्रकारिताकाे खाेलमा विभन्न गतिविधि बढ्न थालेकाेले महासंघले याे अभियान थालेकाे पाेखरेलले बताए । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रकाशन गरेको ‘फिचर सङ्गालो’ पुस्तक आज हेटौंडामा विमोचन गर्दै अध्यक्ष पाेखरेलले यस्ताे बताएका हुन् ।
महासंघ मकवानपुर शाखाको आयोजनामा पुस्तक बिमोचन तथा पत्रकार महासंघलाई मकवानपुरकाे मनहरी गाउँपालिकाद्वारा प्राप्त सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा बोल्दै महासंघका अध्यक्ष पोख्रेलले फिचर लेखन, खोज समाचार लेखन गर्नेहरुले काम गरेर पारिश्रमिक पाइन भन्ने समस्या नहुने बताए । उनले पत्रकार सदस्यता शुद्धिकरण कुनै कार्यक्रम नभई अभियान भएकाेले यसकाे अन्त्य नहुने बताएका हुन् ।
कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष शिव देवकाेटाले पत्रकारहरुलाई पत्रकारिता मात्रै गरेर जीवन निर्वाह गर्न सकिने बातावरण नहुदा समस्या भएकाे बताए ।
महासंघले वार्षिकरुपमा आयोजना गरेको फिचर समाचार लेखन प्रतियोगितामा प्राप्त समाचारलाई फिचर सङ्गालो पुस्तकका रुपमा प्रकाशन गरिएको हो ।
फिचर संगालोमा २०८० सालमा सर्वोकृष्ट र उत्कृष्ट हुन सफल फिचर समाचार र २०७९ सालमा प्रथम, द्वितीय र उत्कृष्ट हुन सफल फिचर समाचारलाई पुस्तकमा समेटिएको छ । फिचर सङ्गालोमा २२ वटा फिचर समाचारहरु रहेका छन् । खण्ड क र खण्ड ख गरी दुई भागमा विभाजन गरिएको फिचर संगालो २०० पृष्ठको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जजन कालाखेती, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एंव वडा १ का वडाध्यक्ष सविन न्यौपाने, वडा ४ का वडाध्यक्ष नवीन सिग्देल, महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु भानुभक्त आचार्य, राममणि दाहाल, हरि हुमागाईं सञ्चारिका समूह बागमती प्रदेशकाे संयाेजक सरिता दाहाललगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममै मकवानपुरको मनहरी गाउँपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखालाई प्रोजेक्टर र प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । फिचर सङ्गालो पुस्तक विमोचन तथा सामाग्री हस्तान्तरण कार्यक्रम महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको थियो ।
