मकवानपुर । नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा माग्दै मकवानपुरमा मसाल जुलुस प्रदर्शन गरिएकाे छ । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ मकवानपुरले विहीबार गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै हेटौंडामा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।
हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै मसाल जुलुश प्रदर्शन गरिएकाे हो । मसाल जुलुसमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।
तरुण युवाहरुले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई गृहमन्त्री श्रेष्ठले फसाएको आरोप समेत लगाउँदै सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।
यसैबीच, नेपाली कांग्रेस मकवानपुरले कांग्रेस केन्द्रीय सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि सांघातिक आक्रमणकाे दाेषीमाथि कारबाहीको माग गरेको छ । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले उक्त घटनाका दोषी सहित घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।

