मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण गर्दै आएको छ । बोर्डले शुक्रबार १३ औ वार्षिक उत्सव मनाउँदै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बोर्डबाट हाल हेटौडाको नगर क्षेत्र भित्रका १९ वटा वडाहरु मध्ये बडा नं १२ र १३ बाहेकका १७ वटा वडामा बसोबास गर्ने करिब १ लाख ७० हजार नगरवासिलाई सरदर दैनिक ८ देखि ९ घण्टा २९ हजार ७०९ वटा धाराहरु मार्फत दैनिक ३ करोड ७५ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको छ ।
बोर्डले खानेपानी सेवा प्रवाहसँगै संस्थागत सुशासन, आर्थिक पारदर्शिता र प्रविधिमैत्री व्यवस्थापनलाई समेत जोड दिएको बार्डका अध्यक्ष प्रताप विष्टले बताए । खानेपानी सेवाको प्रभावकारिता अभिवृद्धिका लागि डिजिटल बिलिङ प्रणाली, मिटर व्यवस्थापन गर्दै आइरहेकोमा उपभोक्ता गुनासो सुनुवाइ प्रणालीलाई क्रमशः आधुनिकिकरण गर्ने प्रकृयालाई अगाडी बढाइएको अध्यक्ष विष्टले बताए ।
साथै विपद् बाढीपहिरो तथा खानेपानी अभावका समयमा वैकल्पिक वितरण प्रणालीमार्फत नागरिकलाई सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आइरहेका विष्टले बताए । हाल बोर्डले पानीको स्रोत सतहगत मुहान १, डिप ट्यूवेल ४० बटा र समवेत १९ वटा सञ्चालनमा ल्याएको छ । मुख्य बजार क्षेत्रमा २४ सै घण्टा वितरण गर्दै आइरहेको छ ।
बोर्डमा हाल पानी भण्डारण क्षमता ८ हाजर ९५२ घनमिटर मुख्य तथा शाखा पाइप लाइन करिब ८०० किलो मिटर रहेको विष्टले बताए । बोर्डलाई प्रति युनिट पानी उत्पादन लागत १३ रुपैयाँ ७० पैसा रहेको र बोर्ड प्रति युनिट १९ रुपैया ६० पैसामा विक्री गर्ने गरेको छ ।
यस आर्थिक वर्षमा हेटौंडा १५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको पानी टंकी, वडा नं १६ मा सार्वजनिक शौचालय निर्माण, शाखा कार्यालयको स्तरोन्नती लगायत अन्य विभिन्न स्थानमा रहेको भवन तथा पर्खाल निर्माण तथा मर्मत कार्य बोलपत्रको माध्यमबाट सम्पन्न गरिएको विष्टले बताए ।
बोर्डको कार्यालय परिसर भित्र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना संगको सहकार्यमा अत्याधुनिक पानी परिक्षण प्रयोगशाला संचालनमा ल्याईको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र यस बोर्डको सहलगानीमा हेटौडा १६ शक्तिमा खानेपानीको पूर्वाधार निर्माण अन्तर्गत पानी संकलन टंकी ६ वटा ९०० घनमिटर क्षमताको, समवेल निर्माण र करिब साँढे ३ किमि पाइप लाइन विस्तार कार्य बोलपत्रको माध्यमबाट सम्पन्न गरिएको उनले बताए ।
यसैगरी यसै आर्थिक वर्षमा बागमती प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन नं १ र यस बोर्डको सहलगानिमा हेटौडा ११ थानाभऱ्याङ्ग सिमलटार क्षेत्रमा खानेपानीको पूर्वाधार निर्माण अन्तर्गत २ वटा समवेल र पाले घर तथा ४ लाख ५० हजार लिटर क्षमताको ओभर हेड पानी टंकी निर्माण कार्य वोलपत्रको माध्यमबाट सम्पन्न गरिएको छ भने हरिकुन्जपानी पोखरी जाने बाटोको स्तरीकरण गर्ने कार्य सम्पन्न गरिएको छ ।
आगामी दिनमा बोर्डले बोर्डको सेवा क्षेत्र भित्र विभिन्न स्थानहरुमा खानेपानीको पूर्वाधार निर्माण तथा मर्मत सम्भारको कार्य वोलपत्रको माध्यमबाट भई रहेको काम पुरा गर्ने, बोर्डको कार्यालयमा आवश्यक पर्ने विभिन्न साइजको एचडिपिई पाइप खरिदको लागि बोलपत्रको माध्यमबाट प्रकृया अगाडी बढाउने, सहलगानी खानेपानी आयोजना अन्तर्गत नेपाल सरकार संघीय खानेपानी तथा व्यवस्थापन आयोजना, हेटौडा उपमहानगरपालिका र हेटौडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानी खानेपानी आयोजना वोलपत्रको माध्यमबाट संचालन भई रहेकोमा पुरा गर्ने लक्ष्य लिएको छ ।
खानेपानी व्यवस्थापनको क्षेत्रमा बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकार संगको सहकार्यमा पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको दावि गरेको छ । विभिन्न वडामा नयाँ पाइपलाइन विस्तार, पुराना संरचनाको स्तरोन्नति, ट्यांकी निर्माण तथा मुहान संरक्षण कार्यक्रम मार्फत दीर्घकालीन सेवा सुनिश्चित गर्ने प्रयास जारी रहेको बोर्डका निमिक्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले बताए । बोर्डले नगरको तिव्र शहरीकरणसँगै बढ्दो पानीको मागलाई सम्बोधन गर्न दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको सापकोटाले बताए ।
हेटौडा खानेपानी व्यवस्थापन बोर्ड नेपालको स्थानीय तहमा समुदायमुखी खानेपानी व्यवस्थापनको सफल नमुनाका रूपमा स्थापित संस्थाको रुपमा रहेको छ। नेपाल खानेपानी संस्थानअन्तर्गत सञ्चालित हेटौडा शाखाको सम्पत्ति तथा दायित्व २०७० साल जेठ ८ गते औपचारिक रूपमा यस बोर्डमा हस्तान्तरण भएपछि नगर क्षेत्रको खानेपानी सेवा व्यवस्थापनको जिम्मेवारी बोर्डले सम्हाल्दै आएको छ। हस्तान्तरणसंगै स्थानीय आवश्यकता, दिगो व्यवस्थापन र सेवामुखी सोचलाई केन्द्रमा राखेर खानेपानी वितरण, मर्मत तथा विस्तार व्यवस्थापनका कार्यहरू प्रभावकारी रूपमा अघि बढाउदै आइरहेका नगरप्रमुख मिना कुमारी लामाले बताइन् ।
हेटौडा उपमहानगरपालिका क्षेत्रभित्र स्वच्छ र नियमित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित बोर्डले पाइपलाइन विस्तार, धारा जडान, मुहान संरक्षण तथा वितरण प्रणाली सुधारका कार्यलाई प्राथमिकतामा राखेको छ। यस अवधिमा हजारौ उपभोक्तालाई नियमित सेवा प्रदान गर्दै नगरवासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएले सेवाक्षेत्रमा शंवेदनशील भएकाे बाेर्डले जनाएको छ ।
बार्षिकोत्सवको अवसरमा बाेर्डले विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुलाई पोत्साहन स्वरुप नगरद सहित सम्मान गरेकाे कार्यलयका सूचना अधिकारी सञ्जयकुमार न्याैपानेले बताए ।
मकवानपुर । प्रतिनिधि सभामा विपक्षी दलहरूले बेल घेराउ गरेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएकाे प्रतिनिधि सभाकाे बिहीबारकाे बैठकमा विपक्षी दलहरुले पहिलो पटक बेल घेराउ गरेका हुन् ।
प्रतिपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले बेल घेराउ गरेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधि सभाका सांसदहरुकाे प्रश्नकाे जवाफ दिन उपस्थित नभएकाेले उनीहरुले बेल घेराउ गरेका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था छ । त्यही व्यवस्थालाई कार्यान्वयनमा नल्याइएको भन्दै तीन दलले बेल घेराउ गरेका हुन् ।
बेल घेराउलाई कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर समर्थन गरे । विपक्षी श्रम संस्कृति पार्टीका सांसदहरू भने सदनको बैठक छोडेर बाहिरिएका थिए । विपक्षीको बेल घेराउबिच सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदन सुचारु गरेका थिए । विपक्षीको नाराबाजीबिच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
दफावार छलफलपछि अर्थमन्त्री वाग्लेले विधेयक पारित गरियोस् भन्दै पेस गरेपछि सत्ता पक्षका सांसदको बहुमतले पारित भएको हो । विधेयकमा दफावार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् ।
मकवानपुर । मकवानपुरको हेटौंडामा बृहत शैक्षिक महाेत्सव हुने भएको छ । हेटौंडा ४ नं. वडा कार्यालयकाे आयाेजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ काे व्यवस्थापनमा हुने शैक्षिक महाेत्सवमा चित्रकला र नृत्य प्रतियोगिता समेत हुनेछ ।
यसअघि जेठ १४ हुने भनिएकाे कार्यक्रम जेठ १३ गते बुधबार हुने गरि तय गरिएकोले महोत्सवको तयारी भइरहेको शैक्षिक गुणस्तर सुधार समिति संयाेजक श्रीराम दाहालले जानकारी दिनुभयाे ।
विगत ३ वर्ष लगातार वडास्तरीय महोत्सव आयोजना गरिएकोमा यो वर्ष चाैधाे पटक हुन लागेकाे महाेत्सव नगरस्तरीय हुने भएको छ । महोत्सव, चित्रकला र नृत्य प्रतियोगिताको लागि नगरभित्रका विद्यालयलाई पत्रचार गरिसकेकाे दाहालले बताउनु भयो ।विद्यालयहरूले महाेत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेकाे बताइएको छ ।
महाेत्सवमा विशेष कार्यक्रमकाे रूपमा राष्ट्रिय भाषा र सँस्कृति झल्कने नृत्य प्रतियाेगिता, विज्ञान विषयकाे प्रदर्शनी र चित्रकला प्रतियाेगीता हुने ४ नं. वडाध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । सिग्देलले चित्रकला प्रतियाेगिताकाे विषय “२० वर्षपछिकाे हेटौंडा” रहेकाे बताउँदै आजकाे विद्यार्थीले २० वर्षपछिकाे हेटौंडा शहर कस्ताे बनाउने परिकल्पनामा चित्रकला बनाउने छन् ।
विद्यालय र विद्यार्थीबीचकाे स्वस्थ प्रतिस्पर्धाबाट उनीहरूकाे लुकेर बसेकाे प्रतिभालाई प्रस्फुटन गर्ने र शैक्षिक ज्ञानमा सुधार ल्याई विद्यार्थीलाई सृजनात्मक बनाउने महाेत्सवकाे उदेश्य रहेकाे छ । वडा अध्यक्ष सिग्देलले महाेत्सवमा हेटौंडा नगरभित्रका विद्यालयलाई सहभागी हुन र विद्यार्थीलाई महाेत्सवमा अवलाेकन गराउन प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएकाे छ । महाेत्सवमा हजाराैं विद्यार्थी, अभिभावक र शिक्षकबाट अवलोकन गरिएकाे बताउँदै अध्यक्ष सिग्देलले यसपटक विद्यार्थी, अभिभावक र शिक्षक गरि १० हजार भन्दा बढीलाई महाेत्सवकाे अवलाेकन गराईने व्यवस्था मिलाईएकाे जानकारी दिनुभयो ।
महोत्सव अन्तरगत नृत्य प्रतियाेगितामा प्रथम हुने समुहले २० हजार, द्वितीय हुनेले १५ हजार, तृतीय हुनेले १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको वडा सचिव रामप्रसाद गुरागाईंले बताउनु भयो । यसैगरि विज्ञान विषयकाे प्रदर्शनीमा प्रथम हुने विद्यालयले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कार रहेको सचिव गुरागाईले जानकारी दिनु भयो । उनका अनुसार चित्रकला प्रतियाेगितामा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँचीकाे शितगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका ७ को सिमाना देउरालीमा पर्दछ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुकाे गोरुसिङ्गेबाट उत्तरतर्फ ४९.२ किलोमिटरको दुरीमा दाहिनेतर्फ सुपा खोलाको उच्च भागमा रहेको मन्दिरको दुवैतर्फ अग्ला अग्ला सुन्दर महाभारत पहाड रहेका छन्।
समुन्द्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा अवस्थित यस मन्दिरको निर्माण वि.स. १६०० सालमा खाँचीका राजा विश्व पाल शाहले छोरी सुवर्ण कुमारीको नाममा निर्माण गर्न लगाई देवी भगवतीलाई स्थापना गरिएको हाे । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो । त्यति बेला शिलालाई सुपा देउराली देवी मानी विशेष गरी त्यस भेगका लाहुरेहरू आवतजावत गर्दा उक्त देवीलाई दक्षिणा मात्र चढाइने गरिन्थ्यो र यस देवीमा त्यति बेला कुनै पनि किसिमको विशेष पूजा अर्चना गर्ने चलन थिएन।
प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ। यस मन्दिरमा सुपा देउराली देवी लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन्। सुपा देउरालीलाई अर्घाखाँचीकाे मुख्य देवीको रूपमा मानिएको छ। यस मन्दिरमा दैनिक नित्य पूजा हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्नाले आफ्नो मनले चिताएको कुराहरू पुरा हुने जनविश्वास समेत रहेको छ । मन्दिरमा बलि दिने प्रथा समेत रहेको छ। औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढाइँदैन।
तस्विरः आरपी गुरागाईं/सहीखबर
अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँचीकाे शितगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका ७ को सिमाना देउरालीमा पर्दछ । यो मन्दिर पूर्व पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको गोरुसिङ्गेबाट उत्तरतर्फ ४९.२ किलोमिटरको दुरीमा दाहिनेतर्फ सुपा खोलाको उच्च भागमा रहेको छ। मन्दिरको दुवैतर्फ अग्ला अग्ला सुन्दर महाभारत पहाड रहेका छन्। गोरुसिङ्गे सन्धिखर्क सडक खण्डमा यो मन्दिर रहेको र पक्की सडक भएकाले आवतजावत गर्न सजिलो छ ।
समुन्द्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा अवस्थित यस मन्दिरको निर्माण वि.स. १६०० सालमा खाँचीका राजा विश्व पाल शाहले छोरी सुवर्ण कुमारीको नाममा निर्माण गर्न लगाई देवी भगवतीलाई स्थापना गरिएको हाे । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो । त्यति बेला शिलालाई सुपा देउराली देवी मानी विशेष गरी त्यस भेगका लाहुरेहरू आवतजावत गर्दा उक्त देवीलाई दक्षिणा मात्र चढाइने गरिन्थ्यो र यस देवीमा त्यति बेला कुनै पनि किसिमको विशेष पूजा अर्चना गर्ने चलन थिएन।
प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ। यस मन्दिरमा सुपा देउराली देवी लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन्। सुपा देउरालीलाई अर्घाखाँचीकाे मुख्य देवीको रूपमा मानिएको छ। यस मन्दिरमा दैनिक नित्य पूजा हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्नाले आफ्नो मनले चिताएको कुराहरू पुरा हुने जनविश्वास समेत रहेको छ । मन्दिरमा बलि दिने प्रथा समेत रहेको छ। औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढाइँदैन।
मन्दिरमा शनिवार लगायत विभिन्न पर्व र विजयादशमीमा भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्न नेपालका विभिन्न स्थल लगायत छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन्। मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ ।
२०४२ सालमा मन्दिर निर्माण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ ।

लाहुरे टाँसेकाे भिर
सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ । प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा ती युवकको मृत्यु भएछ। देवीले भाकल गर्नेलाई भिरमा टाँसिदिएको किम्बदन्ती रहेको छ। अहिले पनि उक्त भिर यथावत् रहेको छ। जुन लाहुरे टाँसिएको भिरको नामले निकै नै प्रसिद्ध रहेको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अर्घाखाँची एउटा सुन्दर पहाडी जिल्ला हो । अर्घा र खाँची दुई पुराना चौबीसे राज्य थिए । दुबैलाई मिलाएर अर्घाखाँची नामाकरण गरिएको हो । प्राकृतिक दृष्टिले सुन्दर छ यो जिल्ला । पर्यटकीय स्थलहरू पनि धेरैछन् । सुपा देउराली मन्दिरको महिमा निकै फैलिएको छ । सुपा देउराली अर्घाखाँचीमा मात्र नभई पश्चिम नेपालको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास र विस्तार भईरहेको छ । स्वदेशका विभिन्न भाग र छिमेकी देश भारतका विभिन्न भागबाट समेत मानिसहरू पूजा अर्चना गर्न सुपा देउराली पुग्ने गर्दछन् ।
यसको महिमा गुल्मी र अर्घाखाँची जिल्लामा निकै फैलिएको छ । गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा सुपादेउराली मन्दिरका शाखा मन्दिरहरू स्थापना गरिएका छन् । कपिलबस्तु जिल्लाको पिपरामा समेत शाखा मन्दिर स्थापना गरिएको छ । यही सुपादेउराली मन्दिरको फैलिदोँ महिमाका कारण खाँचीकोट र नरपानी डाँडामा सानोतिनो बजार नै विकास भएको छ । पर्यटकीय पूर्वाधार सडक, होटल तथा रेष्टुरेन्ट एवं रिसोर्टहरू स्थापना गर्ने क्रम दिन प्रतिदिन बढ्दो छ । नरपानी डाँडामा राम्रैसँग पर्यटकीय पूर्वाधारहरू विकास भएका छन् । शितल हावापानी पाइने नरपानी आफैमा एउटा सुन्दर डाँडा हो । यहाँबाट डाँडाकाँडा र प्राकृतिक दृश्यहरू अवलोकन गर्न पाइन्छ । शितल हावापानी भएकोले सुपादेउराली देवीको दर्शन गरी शितलताको आनन्द लिन नेपालको तराईका विभिन्न भाग र भारतबाट समेत गर्मी मौसममा ठूलो सङ्ख्यामा पर्यटकहरू पुग्ने गर्दछन् ।
किम्बदन्ती
सुपादेउराली मन्दिरकाे ऐतिहासिक प्रमाण र किम्बदन्ती छन् । किम्बदन्ती अनुसार वि.सं. १६०० मा खाँचीको राजकुलमा सुपादेउराली देवीले जन्म लिएकी थिइन् । १६१९ मा भारतको बलरामपुरको राजकुलमा उनको बिहे भयो । यो बिवाह उनको मन्जुरी विनाको थियो । डोलीमा बोकेर भारततर्फ लैजाने क्रममा देवी स्वरूपा दुलहीले आत्महत्या गरिन् । हालको मन्दिर रहेको स्थानमा पुग्दा डोलीबाट रगत चुहेको देखियो । त्यसै क्षेत्रमा उनको दाहसंस्कार गरी सबै आ–आफ्नो घरतर्फ लागे । यो घटनापछि खाँची राजकुलमा ठूलो हलचल भयो । गाउँमा रोग व्याधी पनि फैलियो । धेरै धामी झाँक्रीहरू डाकेर सोधियो । एक जना खनाल थरका धामीले राजकुमारीको इच्छा विपरित विवाह गरीदिइएकाले यस्तो घटना भएको बताउँदै रगत चुहेको स्थानमा कालो पाठी अर्पण गरेमा राजकुमारीको आत्माले शान्ति पाउने भनेपछि सोही अनुसार गरियो । त्यसपछि गाउँमा रोग व्याधी पनि हरायो । देवी शिलाको रूपमा प्रकट भईन । त्यसपछि त्यहाँ देवीको पुजाद्वारा अर्चना गर्न शुरु गरियो ।
सँस्कृतिविद राजेन्द्र आचार्यका अनुसार ऐतिहासिक प्रमाण अनुसार खाँचीका राजा ध्वजन शाहको छोरी लिलावतीका रूपमा उनको जन्म भएको थियो । खाँचीका राजबंशको बंशावली टिप्पन अनुसार वि.सं. १६२७ देखि १६६९ सम्म ध्वजन शाहले खाँचीमा राजकाज सञ्चालन गरेका थिए । लिलावती सानैदेखि एकान्तप्रिय र बैरागी जस्ती एवं देवी देवताको पूजा प्रार्थना गर्ने स्वभावकी थिइन । उनको विवाह हालको गण्डकी प्रदेश अन्तर्गतको गोर्खाका राजा राम शाहसँग भयो । उनको यो विवाह इच्छा विपरित गरिदिइएको थियो ।
उनले अभिभावकसँग मेरो विवाह नगरीदिनुहोस् सिद्ध भएर बस्छु भनेकी थिइन । उनी गोर्खामा विवाह भएर रानी बनेपनि राजकाजमा भन्दा देवी देवताको पूजा प्रार्थनाप्रति इच्छा गर्ने सिद्धिका रानीको रूपमा प्रख्यात भईन । देहावशानपछि उनी मनकामना देवीको रूपमा प्रकट भईन । गृह देश गोर्खामा मनकामना देवीका रूपमा र माइती देश खाँचीमा सुपादेउराली देवीका रूपमा प्रकट भईन । पछि यसले किम्बदन्तीको रूप लियो । यिनलाई जगदम्बा देवीको रूपमा मानिन्छ ।
ऐतिहासिक प्रमाण र किम्बदन्ती अनुसार सुपादेउराली मन्दिर १७ औं शताब्दीदेखि प्रचलनमा आएको मानिन्छ । यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सीताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युगदेखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । गोर्खाको मनकामना मन्दिर मनोकामना सिद्ध गरिदिने देवीका रूपमा लोकमा पुज्य छ । त्यस्तै अर्घाखाँचीको सुपादेउराली मन्दिर पनि मनोकामना सिद्ध गरिदिने देवीका रूपमा पुजिदै आएको छ ।

सुपा देउराली मन्दिरमा असोजदेखि मङ्सिर महिनासम्म पूजाका लागि निकै भिड लाग्छ । यो मौसममा दैनिक ७ हजार जनासम्म भक्तजन आउँछन् । सुपादउराली मन्दिरले सनातन धर्म संस्कृतिको प्रबद्र्धनमा टेवा त पु¥याएको छ नै, सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएको बताउँछन् शितगंगा २ लाहुरेका हाेटल संचालक विष्णु प्रसाद घिमिरे । सुपा देउराली मन्दिर पश्चिम नेपालमा एक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रबद्र्धन हुँदै गइरहेको छ । यसले धार्मिक र सामाजिक दुबै क्षेत्रमा योगदान दिईरहेको छ ।
यस स्थल पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण समेत रहेको छ। पर्यटकहरूले दृश्यावलोकन गर्नको लागि पहाडको उच्च भागमा सस पेन्सन ब्रिज डिभिजन कार्यालयले २०७८ सालमा २७२.८५ मिटर लामो झोलुगें पुलको समेत निर्माण गरिएकाे छ । सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अहिले पनि छ।
दैनिक गोरुसिङ्गे पत्थरकोट गर्ने पचासौँ सवारी साधनका यात्रुहरू सुपा देउरालीमा दान, भेटी चढाएर यात्रा गन्तव्य गर्नु नैसर्गिक धर्म ठान्दछन्। परापूर्वकालदेखि बटुवा, लाहुरे विद्यार्थीको चाहना पूरा गर्दै आएकी देवीको मन्दिरमा खस्ने धारोको पानी अचाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवी शक्ति रहेको मानिन्छ। मन्दिर प्राङ्गणका विश्रामस्थल देवी देउरालीका भगिनी शृङ्गार रहेका छन्।
मन्दिरकै आयस्रोतको आधारमा नित्य साँझ-बिहान पाठ-पूजा गर्न ब्राह्मणको व्यवस्थासमेत गरिएको सुपा देउराली मन्दिर एक मात्र जिल्लाको सदावहार मन्दिर हो। पिउने पानी, यात्रु आश्रयको लागि विश्रामको व्यवस्था भएको सुपा देउराली मन्दिर अर्घाखाँचीको सम्पदा धरोहर धार्मिक शृङ्गार हो। चाहनाअनुसार प्रत्येक यात्रुहरूको इच्छाशक्ति पूरा गराइदिने दैवी शक्तिको केन्द्र पनि हो सुपाको देवी देउराली मन्दिर।