अर्घाखाँचीको प्रख्यात सुपा देउराली देवी मन्दिर । सुपा देउराली मन्दिर अर्घाखाँचीकाे शितगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका ७ को सिमाना देउरालीमा पर्दछ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुकाे गोरुसिङ्गेबाट उत्तरतर्फ ४९.२ किलोमिटरको दुरीमा दाहिनेतर्फ सुपा खोलाको उच्च भागमा रहेको मन्दिरको दुवैतर्फ अग्ला अग्ला सुन्दर महाभारत पहाड रहेका छन्।
समुन्द्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा अवस्थित यस मन्दिरको निर्माण वि.स. १६०० सालमा खाँचीका राजा विश्व पाल शाहले छोरी सुवर्ण कुमारीको नाममा निर्माण गर्न लगाई देवी भगवतीलाई स्थापना गरिएको हाे । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो । त्यति बेला शिलालाई सुपा देउराली देवी मानी विशेष गरी त्यस भेगका लाहुरेहरू आवतजावत गर्दा उक्त देवीलाई दक्षिणा मात्र चढाइने गरिन्थ्यो र यस देवीमा त्यति बेला कुनै पनि किसिमको विशेष पूजा अर्चना गर्ने चलन थिएन।
प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ। यस मन्दिरमा सुपा देउराली देवी लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन्। सुपा देउरालीलाई अर्घाखाँचीकाे मुख्य देवीको रूपमा मानिएको छ। यस मन्दिरमा दैनिक नित्य पूजा हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्नाले आफ्नो मनले चिताएको कुराहरू पुरा हुने जनविश्वास समेत रहेको छ । मन्दिरमा बलि दिने प्रथा समेत रहेको छ। औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढाइँदैन।
तस्विरः आरपी गुरागाईं/सहीखबर

