मकवानपुर । मकवानपुरको हेटौंडामा बृहत शैक्षिक महाेत्सव हुने भएको छ । हेटौंडा ४ नं. वडा कार्यालयकाे आयाेजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ काे व्यवस्थापनमा हुने शैक्षिक महाेत्सवमा चित्रकला र नृत्य प्रतियोगिता समेत हुनेछ ।
यसअघि जेठ १४ हुने भनिएकाे कार्यक्रम जेठ १३ गते बुधबार हुने गरि तय गरिएकोले महोत्सवको तयारी भइरहेको शैक्षिक गुणस्तर सुधार समिति संयाेजक श्रीराम दाहालले जानकारी दिनुभयाे ।
विगत ३ वर्ष लगातार वडास्तरीय महोत्सव आयोजना गरिएकोमा यो वर्ष चाैधाे पटक हुन लागेकाे महाेत्सव नगरस्तरीय हुने भएको छ । महोत्सव, चित्रकला र नृत्य प्रतियोगिताको लागि नगरभित्रका विद्यालयलाई पत्रचार गरिसकेकाे दाहालले बताउनु भयो ।विद्यालयहरूले महाेत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेकाे बताइएको छ ।
महाेत्सवमा विशेष कार्यक्रमकाे रूपमा राष्ट्रिय भाषा र सँस्कृति झल्कने नृत्य प्रतियाेगिता, विज्ञान विषयकाे प्रदर्शनी र चित्रकला प्रतियाेगीता हुने ४ नं. वडाध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । सिग्देलले चित्रकला प्रतियाेगिताकाे विषय “२० वर्षपछिकाे हेटौंडा” रहेकाे बताउँदै आजकाे विद्यार्थीले २० वर्षपछिकाे हेटौंडा शहर कस्ताे बनाउने परिकल्पनामा चित्रकला बनाउने छन् ।
विद्यालय र विद्यार्थीबीचकाे स्वस्थ प्रतिस्पर्धाबाट उनीहरूकाे लुकेर बसेकाे प्रतिभालाई प्रस्फुटन गर्ने र शैक्षिक ज्ञानमा सुधार ल्याई विद्यार्थीलाई सृजनात्मक बनाउने महाेत्सवकाे उदेश्य रहेकाे छ । वडा अध्यक्ष सिग्देलले महाेत्सवमा हेटौंडा नगरभित्रका विद्यालयलाई सहभागी हुन र विद्यार्थीलाई महाेत्सवमा अवलाेकन गराउन प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएकाे छ । महाेत्सवमा हजाराैं विद्यार्थी, अभिभावक र शिक्षकबाट अवलोकन गरिएकाे बताउँदै अध्यक्ष सिग्देलले यसपटक विद्यार्थी, अभिभावक र शिक्षक गरि १० हजार भन्दा बढीलाई महाेत्सवकाे अवलाेकन गराईने व्यवस्था मिलाईएकाे जानकारी दिनुभयो ।
महोत्सव अन्तरगत नृत्य प्रतियाेगितामा प्रथम हुने समुहले २० हजार, द्वितीय हुनेले १५ हजार, तृतीय हुनेले १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको वडा सचिव रामप्रसाद गुरागाईंले बताउनु भयो । यसैगरि विज्ञान विषयकाे प्रदर्शनीमा प्रथम हुने विद्यालयले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कार रहेको सचिव गुरागाईले जानकारी दिनु भयो । उनका अनुसार चित्रकला प्रतियाेगितामा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

