यस धरतीमा अवतरित हुनु अघि नै
तिमीसंगको नाता प्रमाणित गर्न
कुनै सिफारिस चाहिदैन मलाई
पहिलो रुवाईसंगैको तिम्रो आगमनले
मेरो मुटु बेजोडले धड्किदा
नाथे त्यो जन्मदर्ताको खोस्टोले
मेरो खुसी कहाँ मापन गर्न सक्छ र ?
तिमी आयौं र म भरिए
तिमी हाँस्यौ र म अडिए
कुनै गन्तव्यमा पुगेर थकान मेटाउँदै
कोमल हातका औंलालाई खेलाउँदै
जब अनेकन आकृति हावामा नै बनाउँदछौ तिमी
ती तिम्रा कला पिकासोको झैँ अदभुत लाग्दछन्
भावभङ्गी सहित आँखाका परेली
चलाउदै खिसिक्क हाँसिदिदा
अरे वाह म त कायल हुन्छु ।
अनि खोज्न थाल्छु
ती मुजा परेका निधार अनी गालामा बाल संसार
पाठशाला या भनु विश्वबिद्यालय
मेरा लागि तिम्रो मुहार
बडेमान किताबका डङ्गुरले थिचिएर
मिचिएका मेरा कलिला बालापन
आज तिम्रो आगमनले पुनर्जन्म पाउँदैछ ।
युनिभर्सिटिका प्रोफेसरले गाइड गर्दै
थेसिसका शब्द छाँटकाँट गर्दै गर्दा
लाग्दथ्यो ती सब त्यागेर बनबास जाउँ, गै हालुँ
त्यो बखत सैद्धान्तिक ज्ञानको बोझले पिल्सिएको बिद्यार्थी म
आज मेरै आँगनीमा नयाँ मान्छेको प्रादुर्भावले
गृहस्थी बिद्यालयमा नयाँ भर्ना लिदैछु
अनि सिक्दै छु
ती अबोध हेराई
रिसर्च गर्दैछु ती तोते बोलीहरु
आफ्नी आमाको दूध चुस्दा
गाइका बाच्छाले झै निकाल्ने
मधुर च्वाप्प च्वाप्प आवाजहरु
किनकी,
म तिम्रो बिद्यार्थी
अनि तिमी मेरो दोश्रो पाठशाला
मकवानपुरगढी–५ आमभन्ज्याङ्ग
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा आर्थिक वर्ष २०७९/ ०८० मा ६६ वटा उजूरीहरु दर्ता भएका छन् । गत आर्थिक वर्षमा बक्यौता रहेका समेत ५९६ वटा उजूरी हाल कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ ।
कार्यालयको निमित्त प्रमुख रेवा रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा आयोगमा ६७ वटा उजूरीहरुमा अनुसन्धान कार्य सम्पन्न भई अन्तिम निर्णयको लागि आयोगको केन्द्रीय कार्यालयमा पठाइएको छ ।
प्राप्त उजूरीहरुको प्रकृति हेर्दा जीवनको अधिकार, न्याय प्रशासन, शान्तिपूर्ण रुपमा भेला हुन पाउने तथा सभा सम्मेलन गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, रोजगारी, महिला अधिकार, घरेलु हिंसा, बाल अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा जेष्ठ नागरिकको अधिकारलगायतका विषयसंग सम्बन्धित उजूरीहरु रहेका छन् ।
विगतमा यस कार्यालयमा सबैभन्दा बढी उजूरी बेपत्ता पार्ने व्यक्ति विरुद्धको अधिकार सम्बन्धी उजूरीहरु २१६ वटा, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी उजूरीहरु १२० वटा, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी ४४ वटा, यातना विरुद्धको अधिकार सम्बन्धमा ३३ वटा उजूरी परेका थिए ।
जीवन, समानता, स्वतन्त्रता र मर्यादालाई मानव अधिकारको परिभाषामा समेटेर कार्य गर्दै आएको राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चितता प्रदान गर्दै आएको छ ।
यस बाहेक स्वतन्त्रता र सभा सम्मेलनको अधिकार, विभेद विरुद्धको अधिकार, कैदीबन्दीको अधिकार र स्वच्छ वातावरणको अधिकार हननलगायतका विषयहरु रहेका थिए । यस बाहेक आयोगले मानव अधिकार हनन् भएका विभिन्न घटनाहरुमा परामर्श सेवा पनि प्रदान गर्दै आएको रेग्मीले बताइन् ।
आयोगले आफ्नो क्षेत्राअधिकारभित्र नपर्ने उजूरीहरु उपर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाउने गरेको छ । यस आवमा यस कार्यालयले ११० वटा परामर्श सेवा उपलब्ध गराएको छ । यस आवमा यस कार्यालयबाट ३१ पटक मानव अधिकार अवस्था सम्बन्धमा अनुगमन गरिएको उनले बताइन् ।
आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आयोगले आफ्नो प्रगती प्रतिवेद बुझाएको छ । नेपालको संविधान,२०७२ को धारा २९४ (३) बमोजिम राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको वार्षिक प्रतिवेदन पेश गरेको हो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा भएकाे ‘स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय गोल्डकप’ काे उपाधी शसस्त्र प्रहरीकाे एपीएफ क्लबले हात पारेकाे छ । सडेन डेथमा २–१ गाेलले न्युराेड टिम (एनआरटी) लाई पाखा लगाउदै एपीएफले उपाधी हात पारेकाे हाे ।
उपाधीसँगै एपीएफले १५ लाख हात पारेकाे छ । उपविजेतामा चित्त बुझाएकाे एनआरटीलाई १० लाख नगद हात पार्याे । हेटौडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा शनिबार भएकाे छैटौं संस्करणकाे फाइनल खेलकाे निर्धारित समय गोलरहित बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे । ट्राइबेकरमा एनआरटीको लागि जय गुरुङ, प्रिसो, बिबेक गुरुङले गाेल गरेका थिए । यस्तै एपीएफकाे लागि एमसेट, कुलदिप कार्की र सुमन श्रेष्ठले गाेल गरे । एनआरटीका सरोज तामाङ र अभिषेक लिम्बुकाे प्रहार बाहिरिएकाे थियाे । यस्तै एपीएफका दिपेश धिमालकाे प्रहार क्रसबार लाग्दा, बुद्धिमान राईकाे प्रहार एनआरटीका गाेलरक्षक प्रिसाेले बचाएका थिए ।
ट्राइबेकरमा समेत ३–३ काे बराबरी भएपछि खेल सडनडेथमा पुगेकाे हाे । सडनडेथमा एनआरटीका मोहित गुरुङले गाेल गरे भने रणदिप कार्कीकाे प्रहार एपीएफका गाेलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए । यस्तै एपीएफका मणि लामा र फोडे फोफनाले गाेल गरे । फाइनल खेलको म्यान अफ द म्याज एपीएफका गाेल रक्षक एन्जल श्रेष्ठ घोषित हुदै नगद १० हजार र ट्रफि हात पारे ।
खेलकाे उत्कृष्ट गाेलरक्षक एपीएफका एन्जल श्रेष्ठ,उत्कृष्ठ डिफेन्डर एपीएफकै कुलदिप कार्की भए । यस्तै उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ भए भने उत्कृष्ठ फरवार्डकाे उपाधी एनआरटी कै जाेन ग्लाेरीले हात पारे । प्रतियाेगिताकाे उत्कृष्ट प्रशिक्षककाे एपीएफका सुमन श्रेष्ठ घाेषित भए । विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित हुँदै एपीएफका अनिष महर्जनले १ थान बुलेट मोटरसाइकल प्राप्त गरे । यस प्रतियाेगितकाे बुलेट वाइइकाे प्रायाेजन स्व परशुराम स्मृति प्रतिष्ठानले प्रायाेजन गरेकाे हाे । प्रतियाेगिताकाे तेस्राे संस्करणबाट सर्वोत्कृष्ट खेलाडीलाई बुलेट माेटरसाइकल प्रदान गर्न थालिएकाे हाे । तेस्राे संस्करणमा पहिलो बुलेट मोटरसाइकल अमिर श्रेष्ठले प्राप्त गरेका थिए । चौथो संस्करणमा दोस्रो बुलेट मोटरसाइकल अशोक बरालले प्राप्त गरेका थिए । यस्तै पाचौ संस्करणमा तेस्रो बुलेट मोटरसाइकल दिप कार्कीले प्राप्त गरेका थिए ।
प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको थियाे । आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी जनाएकाे हाे । यसैगरी प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी थियाे । आयोजककाे तर्फबाट रिगल हेटौंडा रिसोर्टले सहभागी जनाएकाे थियाे । गत माघ १६ गते शहीद दिवसबाट सुरु प्रतियोगिता नकआउट चरणमा खेलाइएकाे हाे । साविक विजेता मनाङ मर्याङ्दी क्लब भने यो प्रतियाेगितामा सहभागी भएन ।
जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा मकवानपुर फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । यस अघि विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिता २०७७ सालबाट स्थानीय तहबाट सहयोग प्राप्त भए पछि ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरी सञ्चालन हुँदै आएकाे छ। छैटौ संस्करणबाट बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालयले समेत प्रतियाेगितामा सहयाेग गरेकाे छ । २०६/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।
प्रतियाेगिताकाे पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले हात पारेकाे थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ काे तेस्राे र २०७८ को चौथाे संकस्करणकाे उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो। २०७९ को पाँचौं संस्करणको उपाधि भने मनाङ मर्याङ्दीले जितेको हाे। फाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो । प्रतियोगिताको पाचौं संस्करण हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिएको थियो ।
भरतपुर । चितवनमा चियासँग कविताको ५० औँ शृङ्खलामा हेटौंडेली कवि शान्ति प्रियवन्दनाले कविता सुनाएकी छन् । शनिबार भरतपुरमा कवि शान्तिले समय शीर्षकको कविता सुनाएर कार्यक्रमको शुरुआत गरिन् ।
समयले आफूलाई धेरै कुरा सिकाएको र समय अनुसार आफू चल्न कोसिस गरेको भाव उनले कवितामा उतारेकी थिइन् । कार्यक्रममा शान्तिले १२ वटा कविता सुनाइन् । वोनस कविताको रूपमा उनले आफ्नो कवितासङ्ग्रह जिल खाइरहेको एक्काइसौं शताब्दीबाट एउटा कविता थप सुनाइन् । शान्तिका कवितामाथि ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल र नमूना शर्माले टिप्पणी गरेका थिए ।
चियासँग कविताको शृङ्खला २०७३ साल साउन १५ गते सुरुवात भएको हो। शनिबार स्वर्ण शृङ्खला आयोजना भएको छ । पहिलो शृङ्खलामा कवि गोविन्दराज विनोदीले कविता सुनाएका थिए । त्यसपछि नियमितरूपमा भइरहेको कार्यक्रम कोरोनाकालमा रोकिएको थियो । ‘अहिले अवस्था सहज भएकोले यो शृङ्खलालाई नियमित लैजाने भएका छौँ´, शृङ्खलाका सदस्य भूपिनले भने ।
चियासँग कविताको स्वर्ण शृङ्खलामा चितवनका स्रष्टा तथा साहित्यानुरागी र कवि शान्तिका पारिवारिक सदस्यलगायतको उपस्थिति थियो ।

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्न सकोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) मनाउदै गरेकोले उक्त पर्वले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।
तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै प्रमुख शर्माले हाम्रा सबै मौलिक पर्वहरु राष्ट्रिय चाड भएको बताए ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा तामाङ समुदाय पनि एक महत्वपूर्ण अङ्ग भएको प्रमुख शर्माको भनाई छ । ‘तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रिती-रिवाज तथा परम्पराको सम्बर्धन एवम् संरक्षण गर्न महत्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा उल्लेख छ ।