यस धरतीमा अवतरित हुनु अघि नै
तिमीसंगको नाता प्रमाणित गर्न
कुनै सिफारिस चाहिदैन मलाई
पहिलो रुवाईसंगैको तिम्रो आगमनले
मेरो मुटु बेजोडले धड्किदा
नाथे त्यो जन्मदर्ताको खोस्टोले
मेरो खुसी कहाँ मापन गर्न सक्छ र ?
तिमी आयौं र म भरिए
तिमी हाँस्यौ र म अडिए
कुनै गन्तव्यमा पुगेर थकान मेटाउँदै
कोमल हातका औंलालाई खेलाउँदै
जब अनेकन आकृति हावामा नै बनाउँदछौ तिमी
ती तिम्रा कला पिकासोको झैँ अदभुत लाग्दछन्
भावभङ्गी सहित आँखाका परेली
चलाउदै खिसिक्क हाँसिदिदा
अरे वाह म त कायल हुन्छु ।
अनि खोज्न थाल्छु
ती मुजा परेका निधार अनी गालामा बाल संसार
पाठशाला या भनु विश्वबिद्यालय
मेरा लागि तिम्रो मुहार
बडेमान किताबका डङ्गुरले थिचिएर
मिचिएका मेरा कलिला बालापन
आज तिम्रो आगमनले पुनर्जन्म पाउँदैछ ।
युनिभर्सिटिका प्रोफेसरले गाइड गर्दै
थेसिसका शब्द छाँटकाँट गर्दै गर्दा
लाग्दथ्यो ती सब त्यागेर बनबास जाउँ, गै हालुँ
त्यो बखत सैद्धान्तिक ज्ञानको बोझले पिल्सिएको बिद्यार्थी म
आज मेरै आँगनीमा नयाँ मान्छेको प्रादुर्भावले
गृहस्थी बिद्यालयमा नयाँ भर्ना लिदैछु
अनि सिक्दै छु
ती अबोध हेराई
रिसर्च गर्दैछु ती तोते बोलीहरु
आफ्नी आमाको दूध चुस्दा
गाइका बाच्छाले झै निकाल्ने
मधुर च्वाप्प च्वाप्प आवाजहरु
किनकी,
म तिम्रो बिद्यार्थी
अनि तिमी मेरो दोश्रो पाठशाला
मकवानपुरगढी–५ आमभन्ज्याङ्ग

