भरतपुर । चितवनमा चियासँग कविताको ५० औँ शृङ्खलामा हेटौंडेली कवि शान्ति प्रियवन्दनाले कविता सुनाएकी छन् । शनिबार भरतपुरमा कवि शान्तिले समय शीर्षकको कविता सुनाएर कार्यक्रमको शुरुआत गरिन् ।
समयले आफूलाई धेरै कुरा सिकाएको र समय अनुसार आफू चल्न कोसिस गरेको भाव उनले कवितामा उतारेकी थिइन् । कार्यक्रममा शान्तिले १२ वटा कविता सुनाइन् । वोनस कविताको रूपमा उनले आफ्नो कवितासङ्ग्रह जिल खाइरहेको एक्काइसौं शताब्दीबाट एउटा कविता थप सुनाइन् । शान्तिका कवितामाथि ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल र नमूना शर्माले टिप्पणी गरेका थिए ।
चियासँग कविताको शृङ्खला २०७३ साल साउन १५ गते सुरुवात भएको हो। शनिबार स्वर्ण शृङ्खला आयोजना भएको छ । पहिलो शृङ्खलामा कवि गोविन्दराज विनोदीले कविता सुनाएका थिए । त्यसपछि नियमितरूपमा भइरहेको कार्यक्रम कोरोनाकालमा रोकिएको थियो । ‘अहिले अवस्था सहज भएकोले यो शृङ्खलालाई नियमित लैजाने भएका छौँ´, शृङ्खलाका सदस्य भूपिनले भने ।
चियासँग कविताको स्वर्ण शृङ्खलामा चितवनका स्रष्टा तथा साहित्यानुरागी र कवि शान्तिका पारिवारिक सदस्यलगायतको उपस्थिति थियो ।


