मकवानपुर । बागमती प्रदेश सरकारमा हाम्राे नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्यले मन्त्री पदकाे सपथ लिएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले हाम्रो नेपाली पार्टीका ससंदीय दलका नेतासमेत रहेका बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि मुख्यमन्त्री जमकट्टेल नेतृत्वको सरकारमा कांग्रेसका ६, एकीकृत माओवादीका ३ र एकीकृत समाजवादीका २ मन्त्री रहेका रहेका थिए।प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीलाई सहभागी गराउँदै प्रदेश सभा सदस्य बज्राचार्यलाई संस्कृति पर्यटन सहकारी मन्त्रीमा नियुक्ति गरिएको हाे । बिहीबार साँझ उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रदेश प्रमुखले नियुक्ति गरे संगै सपथ खुवाए ।
कूल १ सय १० जना प्रदेश सभासदस्य रहेको बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्। वर्तमान सत्ता गठबन्धनमा एमालेका २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसद रहेका थिए।
यो संगै बागमती प्रदेशको सत्ता गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्ने छ । प्रदेश सभामा बहुमत पुग्न ५६ सदस्यको समर्थन चाहिन्छ । गठबन्धनका एमाले, माओवादी र एकीकृत समाजवादीको सदस्य संख्या ५५ जना हुन्छ । २ सांसद रहेको हाम्रो नेपाली पार्टीले समर्थन गर्दा बहुमत पुग्छ। हानेपाका बज्राचार्यलाई मन्त्री नियुक्त गरेपछि जम्कट्टेलको वर्तमान सरकारले विश्वासकाे मत पाउने र निरन्तरता समेत पाउने भएको छ ।
केन्द्रीय सत्ता समीकरण बदलिए संगै बागमतीमा काग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै बाहिरिएको थियो । फागुन २३ गतेबाट अल्पमतमा परेको जम्कट्टेल सरकारले आजको मन्त्री परिषद बिस्तार संगै निरन्तरता समेत पाउने भएकाे हाे ।
यस अघि हानेपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । उस्ले प्रदेश प्रमुखलाई पत्र पठाउदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यता गठबन्धनलाई बहुमतका लागि एक सांसदको समर्थन नपुगेकै समयमा हाम्रो नेपाली पार्टी दलका नेता बज्राचार्य सककारमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । आफ्नै नेतृत्वमा सरकार गठन हुनु पर्ने बताउँदै आएकाे हानेपाले तत्काल सरकारमा सहभागी हुने नहुने विषयमा आधिकारिक धारणा भने सार्वजनिक गरेकाे छैन ।
यस्तै मन्त्रिपरिषद् विस्तार अघी सत्ता गठबन्धनका ३ दलले हानेपाका दलका नेता बज्राचार्यसँग ५ बुँदे सहमति गरेका थिए । बागमती प्रदेशमा वर्तमान सरकार टिकाउन सत्तारुढ गठबन्धनका ३ दलले हाम्रो नेपाली पार्टीसँग सहमति गरेको हाे । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच ५ बुँदे सहमति भएको हो। चारै दलले प्रदेश सभाको बाँकी पूरै कार्याकाल सहाकार्य गर्ने सरकारको नेतृत्व पनि आलोपालो गर्ने सहमति गरेका छन्।
मकवानपुर । बागमती प्रदेशमा वर्तमान सरकार टिकाउन सत्तारुढ गठबन्धनका ३ दलले हाम्रो नेपाली पार्टीसँग सहमति गरेको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच ५ बुँदे सहमति भएको हो।
चारै दलले प्रदेश सभाको बाँकी पूरै कार्याकाल सहाकार्य गर्ने सरकारको नेतृत्व पनि आलोपालो गर्ने सहमति गरेका छन्। पाँच बुँदे सहमतिको दोस्रो बुँदामा भनिएको छ, ‘केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय गरियो।’
हाम्रो नेपाली पार्टीलाई पनि सरकारमा सहभागी गराउने सहमति बनेको छ। सहमतिमा भनिएको छ, ‘प्रदेश सरकार गठनका सन्दर्भमा सहभागी दलहरूको सहमतिको आधारमा मात्र मन्त्रिपरिषद्को संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय गरियो।’
१ सय १० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ। अहिले सत्तारुढ गठबन्धनमा रहेका एमालेका २७, माओवादी २१ र एकीकृत समाजवादीको ७ सांसद छन्। दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले समर्थन गर्दा बहुमत पुग्छ। त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ र नेपाल मजदूर किसान पार्टीका ३ सांसद छन्।
हाम्राे नेपाली पार्टीले बर्तमान सरकारलाई लिएकाे समर्थन फिर्ता लिएकाे थियाे । सत्ता गठबन्धनका दलहरुले नेमकिपा सरकारमा सहभागी गराउने कसरत थालेका थिए । यो सम्झौतासँगै बागमती प्रदेश सरकारले प्रदेश सभामा विश्वास पाउने देखिन्छ भने सरकारले निरन्तरता समेत पाउने छ । यद्यपी हानेपा अध्यक्ष घिमिरे सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे अवस्थामा तत्काल सरकारमा सहभागी हुने विषय पार्टीमा छलफल तथा निर्णय नभएकाे बताउँछन् ।
चार दलबीच भएको सहमति:

मकवानपुर । केन्द्रीय सत्ता समिकरण फेरिए पछि प्रदेश सरकार गठनमा समेत सकस भएको छ । केन्द्र एउटै भएकोले समिकरण बनेको भोली पल्टै सरकार गठनको सम्भावना रह्यो । बदलिएको सत्ता समिकरणमा नेपाली काग्रेसलाई बाहिर राखेर एमालेसहितको सरकार गठन भएसँगै ७ वटै प्रदेशमा सरकार गठनको लागि केन्द्रीय निर्णय कुरेर बसेका छन् । भागवण्डा मिलाउन सत्ता गठनवन्धनका दलहरुको दौडधुप जारी रहेको बेला बागमती प्रदेश सरकार गठनमा समेत अन्यौलता थपिएको छ ।
केन्द्रमा भागबण्डाको सहमती नबन्दा बागमती लगायतका ५ प्रदेशको सरकार गठनमा अन्योलता बढेको छ । मधेश प्रदेश जसपा र सुदुरपश्चिम प्रदेश नागरिक उमुक्ती पार्टीलाई दिने सहमतीमै उनीहरु सरकारमा सहभागी भएका छन् । बाँकी ५ प्रदेश मध्ये सत्ता साझेदार दल एमालेले ३ र माओवादीले २ प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी केन्द्रीय तहमा सहमती हुने राजनैतिक वृत्तमा चर्चा हुने गरेको छ ।
केन्द्रीय सत्ता गठबन्धन परिवर्तनपछि बागमतीको समीकरणमा समेत परिवर्तन आएको छ । अन्य प्रदेशमा झै बागमती सरकारको भविष्यबारे अन्योल कायम छ । यद्यपी केन्द्रीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री माओवादी पार्टी कै भएकाले समेत बागमती प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने गरी केन्द्रमा सहमती हुने वर्तमान सरकारको नेतृत्व गरिरहेकाहरुको बुझाइ रहेको देखिन्छ ।
१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा साना दलको सरकार गठनमा निर्णायक भूमिका रहने छ । गत फागुन २३ गते नेपाली काँग्रेसले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतको सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल सरकारको भविष्यलाई लिएर अन्योलता देखिएको हो । सरकार टिकाउन कसरत गरिरहेका उनी पर्ख र हेरको स्थितिमा केन्द्रको निर्णय कुरेर बसेको स्वीकार्छन् ।
केन्द्रले भागबण्डा नटुंग्याउँदा प्रदेश सरकारमाथि संवैधानिक अड्चन आउन सक्ने समेत देखिन्छ । बागमतीमा काग्रेस पनि सरकार गठनमा बाटो ढुकिरहेको छ । नेमकिपाले गठबन्धनलाई साथ दिए नयाँ सरकार बनाउने कांग्रेसको रणनीतिमा भने धक्का पुग्ने निश्चित छ । १ सय १० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन चाहिन्छ । एमालेको समर्थनका बाबजुद मुख्यमन्त्रीलाई बहुमत जुटाउन भने सहज देखिदैन् । एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् । अहिलेको गठबन्धनलाई सरकार टिकाउन १ सांसद मात्रै अपुग हुन्छ ।
एमाले–माओवादीका नेताहरुले २ सांसद भएको हाम्रो नेपाली पार्टीको समर्थन खोजेका थिए तर हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । हानेपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बर्तमान गठबन्धनलाई नेमकिपाको साथ विना सरकार गठनमा अड्चन देखिन्छ । ३ सांसद रहेको नेमकिपाको रोलले अवको सरकार गठनमा निर्णायक भूमिका खेल्ने भएको छ । त्यसको लागि दलहरुले भेटघाट बाक्लो बनाउँदै लगेका छन् ।
३७ प्रदेश सांसदसहित सबभन्दा ठूलो दल रहेको कांग्रेस पनि एमाले–माओवादी गठबन्धनलाई बहुमत पु¥याउन नदिन प्रयासरत छ । हाम्रो नेपाली पार्टी गठबन्धनको पक्षमा नरहे पछि जम्कट्टेलले विश्वासको मत नपाउने र कांग्रेसको सबभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकार बनाउने रणनीतिमा रहेको अवस्था छ । १४ प्रदेश सांसद भएको राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई समर्थन नगर्ने भएको छ । ३ सांसद भएको नेपाल मजदुर किसान पार्टीले भने अहिलेसम्म सरकारलाई समर्थन गर्ने वा नगर्ने केही निर्णय गरेको छैन । उसले समेत वर्तमान गठबन्धनलाई समर्थन नगरे काँग्रेसले राप्रपा, नेमकिपा र हानेपालाई समेटेर सत्ताको नेतृत्व गर्ने सम्भावना समेत बागमती देखिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारलाई समर्थन नगर्ने संकेत दिएको छ । सरकार गठनको लागि कांग्रेसले आन्तरिक छलफल तीव्र पार्दै लगेको समेत बताइन्छ । कांग्रेसले जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मतमा विफल पार्ने र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको पहिलो दलको हैसियतमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने रणनीति लिँदै आएको छ । तर काग्रेसको उक्त रणनीतिलाई विफल पार्न अन्य दलले लविङ बढाउँदै लगेका छन् । बागमती काग्रेस सभापती इन्द्र बहादुर बानियाले समेत नेमकिपा सरकारमा सहभागी नहुने तर समर्थन गर्ने गरी तयारीमा रहेको खुलासा गरे । यसो भएमा बर्तमान मुख्यमन्त्री लेनै बागमती प्रदेशमा अर्को पटक विश्वासको मत लिने छन् ।
मुख्यमन्त्री जम्कट्टेलले आगामी चैत २२ गते भित्रै संसदबाट विश्वासको मत लिइसक्नुपर्छ । नेपालको संंविधानमा सरकारको समर्थन गरेको दल वा सांसदले समर्थन फिर्ता लिएको ३० दिन भित्र मुख्यमन्त्रीले पुनः संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । विश्वासको मतमा विफल तुल्याउन काग्रेसले गरेको प्रयास नेमकिपा निर्णायक नभएसम्म सम्भव छैन भने उसलाई राप्रपा हानेपाले पनि साथ दिनु पर्नेछ ।
त्यसो त सरकार गठनको लागि मुख्यमन्त्री जम्कट्टेलले गत शनिबार नेमकिपाका नेतासँग भेटवार्ता गरेका छन् । भेट बारे खुलासा गरे पनि नेमकिपाको धारणा जम्कट्टेलले सार्वजनिक गरेनन् भने नेमकिपाले समेत हालसम्म सरकारलाई समर्थन गर्ने नगर्ने कुनै औपचारिक निर्णय गरिसकेको छैन । यस्तै नेकपा एमालेका नेताहरुले पनि नेमकिपासँग छलफल अगाडि बढाएका छन् ।
बागमतीका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले बागमतीमा सत्तागठबन्धन सरकारको समर्थन माग गर्दै नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग आइतबार भेटवार्ता गरे । यसले समेत प्रदेश सभामा प्रतिनिधित्व गर्ने साना दललाई आआफ्नो पक्षमा लिन सत्ता पक्षले जोडबल लगाएको देखिन्छ । केन्द्रमा जस्तो प्रदेशमा सरकार गठन त्यती सजिलो छैन । कुनै प्रदेशमा सत्ता गठवन्धन दलहरुको प्रतिनिधित्व नै छैन । कही सरकार गठन गर्न पुग्ने बहुमत छैन । केन्द्रमा सरकारलाई समर्थन नगरेका दलहरुले प्रदेशमा समर्थन गर्न सक्ने सम्भावना समेत न्यून छ ।
बर्तमान गठबन्धन सरकारलाई माओवादी एमाले र समाजवादी बाहेक अर्को दलले समर्थन गर्नै पर्ने हुन्छ सरकार गठन गर्न । नेपाली काग्रेसलाई सरकार गठन गर्न अहिलको मुख्यमन्त्रीलाई विश्वासको मत दिने समय विफल बनाउने तथा गठबन्धन बाहिरका दलहरु राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीको समर्थन जुटाउनु पर्ने हुन्छ । सत्ता गठबन्धन दललाई १ सांसद मात्रै भए बहुमत पुग्ने देखिन्छ । काग्रेसले नेतृत्व लिने हो भने अरु ३ दलले इमान्दारिताका साथ सहयोग गर्नु पर्ने हुन्छ ।
तर अहिलेसम्मको अवस्थामा राप्रपा र हानेपाले गठबन्धनलाई समर्थन नगर्ने पक्का भएको छ । ती २ दलले काँग्रेसलाई समर्थन गर्न सक्ने छन् भने माग समेतसँगै पेश हुनेछ । तर केन्द्रमा गठबन्धन सरकारलाई समर्थन नगरेको नेमकिपाले बागमतीमा न त वर्तमान सरकारलाई समर्थन गर्ने भनेको छ न काग्रेसलाई साथ दिने । त्यसैले बागमतीमा नेमकिपाको समर्थनले नै गठबन्धन भितर वा इतरको सरकार गठनको टुंगो लाग्ने देखिन्छ ।
मकवानपुर । आज विहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुदैछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदै छन् ।
कूल परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जनाएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय एसइईका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलको एउटा परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ ।
यसैगरी परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १ सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
मकवानपुरबाट २६ केन्द्रमा ६ हजारले एसइई दिदै
मकवानपुर जिल्लामा यस बर्ष २६ वटा केन्द्रबाट ६ हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी हुदैछन्।
जिल्लामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेड तर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिक तर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुदै छन् ।
गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको इकाइले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहनगरपालिकाले वडाकाे सुझाव अनुसार योजना बनाउने भएकाे छ । स्थानीय तथा जनसरोकारवालाकाे सुझाव अनुसार उपमहानगरपालिकाले वडास्तरबाटै योजना बनाउने अभियान सुरु गरेको हाे ।
नगरको विकासलाई अघि बढाउने उद्देश्य अनुरुप आगामी आर्थिक बर्ष २०८१/०८२ मा हुने कामलाई नगरवासी बिच अपनत्व गराउँन आवश्यक रहेकोले उपमहानगर वडास्तरमा पुग्ने अभियान थालनी गरेकाे हाे ।उपमहानगरले बुधबार १ नम्बर वडाबाट आर्थिक बर्ष २०८१/०८२ को बार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन कार्यक्रम सुरु गरेको हो ।
योजना निर्माणमा सहभागीले विकास निर्माणका कामलाई समुचित ढंगबाट लैजानु पर्ने, विद्यालयको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, बिकट गाउँमा रहेको शहरी स्वास्थ्य चौकीमा आवश्यक पूर्वाधारको व्यवस्था मिलाउन जरुरी भएको बताएका थिए । स्थानीयले खानेपानी, स्वास्थ्य, शिक्षा र पुर्वाधार बिकासको काम गर्न आवश्यक रहेको बताएका थिए ।
वडाको नकौली, ध्याङसिंटार, भैरवडाँडासहितको माथिल्लो भेगमा खानेपानीको समस्या रहेको स्थानीय कुमारीमाया स्याङ्तानले बताइन् । दैनिक छाक टार्ने पानीको व्यवस्थापनका लागि २/३ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको स्याङतानले बताइन् । केन्द्र सरकारको ठुलो योजना निर्माण पछि पानीको समस्या समाधान हुन्छ भनिए पनि विगत ४/५ बर्षदेखि कुर्दापनि काम नभएको उनले गुनासो गरिन् । पानीको सुबिधाका लागि टंकी निर्माण, श्रोतको सुनिश्चितता हुँदा पनि समस्या नगरेको उनिहरुको भनाई थियो ।
यसैगरी कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीले भौगोलिक बिकटताका कारण माध्यमिक बिद्यालय थप गर्न जरुरी रहेको बताए । उनले वडा भरीमा एक मात्र माध्यमिक बिद्यालय भएका कारण ग्रामिण भेगमा रहेका बिद्यार्थीलाई समस्या भएको बताए । उनले बालमैत्री नगर घोषणाको क्रममा रहँदा शैक्षिक गुणस्तर र बिद्यालयको पुर्वाधार निमार्णमा ध्यान दिन जरुरी रहेको बताए ।
वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम हुने उपमहानगरपालिका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपालले बताउँछन् । पालिकाको बजेट निर्माण पूर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने नीति अनुसार उपमहानगर सबै वडाहरुमा पुग्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।
सूचना संकलन गर्दै श्रोतलाई सुनिश्चितता गर्ने उद्देश्य अनुसार काम अघि बढाएको हाे । अधिकार आफैमा राख्ने नेतृत्व कर्ताको सोच रहने अवस्थामा उपमहानगरले जनतालाई सुबिधा दिने सोच अनुसार योजनाको भुक्तानी र फरफारकको काम वडा बाटै गर्नुले नगरको काममा सहजता भएको महाशाखा प्रमुख नेपालले बताए ।
आउँदो बर्ष बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको उनले बताए ।
आगामि आर्थिक बर्षको योजना निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिका शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने तयारीमा लागेकाे छ । सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रीत बजेट आगामि आर्थिक बर्षमा आउने बताइएकाे छ ।
योजना तर्जुमामा नगरका उपप्रमुख राजेश बानियाँले जनताले दिएको म्याडेड अनुसार बिकासका कामलाई अघि बढाइने बताए । नगरका सबै भागको भावनालाई समेटेर अघि बढ्ने उद्देश्य अनुसार कार्यक्रमलाई वडाहरुमा ल्याएको उनले बताए । शिक्षा र स्वास्थ्यलाई नगरको बिकासको कडिका रुपमा लिएर अघि बढ्ने गरी कम गर्छौै उनले भने । ‘स्तरीय बाटो होइन स्तरीय शिक्षा र स्वास्थ्य भन्ने सोचमा हामी छौं त्यहि ढंगले अघि बढ्छौं’ उनले बताए ।
हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामालगायत स्थानीय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।