मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहनगरपालिकाले वडाकाे सुझाव अनुसार योजना बनाउने भएकाे छ । स्थानीय तथा जनसरोकारवालाकाे सुझाव अनुसार उपमहानगरपालिकाले वडास्तरबाटै योजना बनाउने अभियान सुरु गरेको हाे ।
नगरको विकासलाई अघि बढाउने उद्देश्य अनुरुप आगामी आर्थिक बर्ष २०८१/०८२ मा हुने कामलाई नगरवासी बिच अपनत्व गराउँन आवश्यक रहेकोले उपमहानगर वडास्तरमा पुग्ने अभियान थालनी गरेकाे हाे ।उपमहानगरले बुधबार १ नम्बर वडाबाट आर्थिक बर्ष २०८१/०८२ को बार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन कार्यक्रम सुरु गरेको हो ।
योजना निर्माणमा सहभागीले विकास निर्माणका कामलाई समुचित ढंगबाट लैजानु पर्ने, विद्यालयको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, बिकट गाउँमा रहेको शहरी स्वास्थ्य चौकीमा आवश्यक पूर्वाधारको व्यवस्था मिलाउन जरुरी भएको बताएका थिए । स्थानीयले खानेपानी, स्वास्थ्य, शिक्षा र पुर्वाधार बिकासको काम गर्न आवश्यक रहेको बताएका थिए ।
वडाको नकौली, ध्याङसिंटार, भैरवडाँडासहितको माथिल्लो भेगमा खानेपानीको समस्या रहेको स्थानीय कुमारीमाया स्याङ्तानले बताइन् । दैनिक छाक टार्ने पानीको व्यवस्थापनका लागि २/३ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको स्याङतानले बताइन् । केन्द्र सरकारको ठुलो योजना निर्माण पछि पानीको समस्या समाधान हुन्छ भनिए पनि विगत ४/५ बर्षदेखि कुर्दापनि काम नभएको उनले गुनासो गरिन् । पानीको सुबिधाका लागि टंकी निर्माण, श्रोतको सुनिश्चितता हुँदा पनि समस्या नगरेको उनिहरुको भनाई थियो ।
यसैगरी कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीले भौगोलिक बिकटताका कारण माध्यमिक बिद्यालय थप गर्न जरुरी रहेको बताए । उनले वडा भरीमा एक मात्र माध्यमिक बिद्यालय भएका कारण ग्रामिण भेगमा रहेका बिद्यार्थीलाई समस्या भएको बताए । उनले बालमैत्री नगर घोषणाको क्रममा रहँदा शैक्षिक गुणस्तर र बिद्यालयको पुर्वाधार निमार्णमा ध्यान दिन जरुरी रहेको बताए ।
वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम हुने उपमहानगरपालिका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपालले बताउँछन् । पालिकाको बजेट निर्माण पूर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने नीति अनुसार उपमहानगर सबै वडाहरुमा पुग्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।
सूचना संकलन गर्दै श्रोतलाई सुनिश्चितता गर्ने उद्देश्य अनुसार काम अघि बढाएको हाे । अधिकार आफैमा राख्ने नेतृत्व कर्ताको सोच रहने अवस्थामा उपमहानगरले जनतालाई सुबिधा दिने सोच अनुसार योजनाको भुक्तानी र फरफारकको काम वडा बाटै गर्नुले नगरको काममा सहजता भएको महाशाखा प्रमुख नेपालले बताए ।
आउँदो बर्ष बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको उनले बताए ।
आगामि आर्थिक बर्षको योजना निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिका शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने तयारीमा लागेकाे छ । सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै शिक्षा र स्वास्थ्य केन्द्रीत बजेट आगामि आर्थिक बर्षमा आउने बताइएकाे छ ।
योजना तर्जुमामा नगरका उपप्रमुख राजेश बानियाँले जनताले दिएको म्याडेड अनुसार बिकासका कामलाई अघि बढाइने बताए । नगरका सबै भागको भावनालाई समेटेर अघि बढ्ने उद्देश्य अनुसार कार्यक्रमलाई वडाहरुमा ल्याएको उनले बताए । शिक्षा र स्वास्थ्यलाई नगरको बिकासको कडिका रुपमा लिएर अघि बढ्ने गरी कम गर्छौै उनले भने । ‘स्तरीय बाटो होइन स्तरीय शिक्षा र स्वास्थ्य भन्ने सोचमा हामी छौं त्यहि ढंगले अघि बढ्छौं’ उनले बताए ।
हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मिना कुमारी लामालगायत स्थानीय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।

