मकवानपुर । आज विहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुदैछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदै छन् ।
कूल परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जनाएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय एसइईका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलको एउटा परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ ।
यसैगरी परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १ सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
मकवानपुरबाट २६ केन्द्रमा ६ हजारले एसइई दिदै
मकवानपुर जिल्लामा यस बर्ष २६ वटा केन्द्रबाट ६ हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी हुदैछन्।
जिल्लामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेड तर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिक तर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुदै छन् ।
गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको इकाइले जनाएको छ ।

